भारतीय नागरिकको हत्या अभियोगमा रुपन्देहीका एक युवा पक्राउ, यस्तो छ भित्री कारण – Nepal Press

भारतीय नागरिकको हत्या अभियोगमा रुपन्देहीका एक युवा पक्राउ, यस्तो छ भित्री कारण

रुपन्देही । भारतीय नागरिकको हत्या गरेको आरोपमा रुपन्देहीमा एक युवा पक्राउ परेका छन् । रुपन्देही प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

भारत नयाँदिल्लीका मोहम्मद अज्जर खानलाई हत्या गरेको आरोपमा प्रहरीले स्याङजा गल्याङ नगरपालिका घर भई रुपन्देहीको तिलोत्तमा वडा नं १६ मधवलिया बस्ने आशिष भण्डारीलाई रुपन्देही प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो ।

गत भदौ ३१ गते रुपन्देहीको तिलोत्तमा वडा नं १३ मोडहामा रहेको एक किसानको धानखेतमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलाभित्र शव भेटिएको थियो। उक्त शव पहिचान गर्दा भारत नयाँदिल्लीका खानको भएको खुलेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रजिंत सिंह राठोरले खानलाई हत्या गरेको आरोपमा भण्डारीलाई उनकै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र घटनाको प्रारम्भिक अनुसन्धानबाट भण्डारीले हत्या गरेको देखिएकोले उनलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

भण्डारी र मृतक खानबीच यसअघि राम्रो सम्बन्ध भएको र भण्डारीको घरमै आएको अवस्थामा आपसमा विवाद हुँदा भण्डारीले खानको हत्या गरी शवलाई धान खेतमा लगेर फ्याकेको प्रारम्धिक अनुसन्धानबाट खुलेको बताए।

भण्डारी र खानबीच भारतमा ८ महिनादेखि फोटोग्राफीको कामको शिलशिलामा चिनजान भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । भारतमा सँगै फोटो स्टुडियोमा काम गरेका भण्डारी केही महिनाअघि मात्र रुपन्देहीमा आएका थिए । उनको हत्या गरेर जेब्रा झोलामा फालिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रुपन्देही एसपी राठौरका अनुसार गत भदौ ३१ गते तिलोत्तमा–१३ मोडहास्थित धान खेतको बीचमा जेब्रा झोलाभित्र सडेगलेको अवस्थामा नाम, थर र वतन नखुलेको अन्दाजी २५/३० वर्षीय युवकको शव फेला परेको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो ।

उक्त शवलाई पोष्टमार्टमको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर शव पहिचानको लागि स्थानीय सञ्चार माध्यम र जिल्ला प्रहरी कार्यालयको फेसबुकमार्फत हुलिया सम्प्रेषण गरिएको थियो । ‘असोज १७ गते मृतक युवकको दाइ हैदर अली खानले अस्पतालमा गइ उक्त शव आफ्नो भाइ मोहम्मद अज्जर खानको रहेको भनी सनाखत गर्नुभयो, ’उनले भने ।

प्रहरीका अनुसार मृतक र अभियुक्तबीच विगत ८ महिनादेखि भारतको दिल्लीमा फोटोग्राफीको सिलसिलमा चिनजान भएको थियो । दुवैजनाले एउटै एजेन्टमार्फत काम गर्दै आएको र अभियुक्त भण्डारी २ महिनाअघि दिल्लीबाट नेपाल फर्केका थिए । खान भदौ २४ गते भारतको गोरखपुरमा रहेको कुरा घरपरिवारलाई जानकारी भएपश्चात सम्पर्कबिहीन रहेको प्रहरीले जनाएको छ ।

‘मृतक अज्जु भन्ने मोहम्मद अज्जर खान भदौ २५ गते अभियुक्त भण्डारीको घरमा आएको अनुसन्धानबाट खुलेको छ । सोही दिन मृतक खान र अभियुक्त भण्डारीबीच वादविवाद हुँदा अभियुक्तले धारिलो हतियार प्रहार गरी मृत शवलाई तन्नाले बेरी बोराभित्र पोका पारेर उक्त पोकालाई जेब्रा झोलाभित्र राखी रातको समयमा आफ्नो घरदेखि ३ सय मिटर पश्चिम धान खेतमा लगेर फालेका थिए, ’एसपी राठौरले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर