काठमाडौंमा एशियाली जनसंख्या सम्मेलनको तयारी- जनसांख्यिक समस्या पहिचान र समाधानबारे मन्थन हुने (भिडिओ) – Nepal Press

काठमाडौंमा एशियाली जनसंख्या सम्मेलनको तयारी- जनसांख्यिक समस्या पहिचान र समाधानबारे मन्थन हुने (भिडिओ)

काठमाडौं । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।

त्रिभुवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले आउँदो मंसिर १२-१५ सम्म गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका कम्तीमा ५ सय प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन सम्पन्न गर्न ५ करोड खर्चको अनुमान गरिएको छ ।

शुक्रबार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा छैटौं सम्मेलनको तयारी र यसका उद्देश्यबारे जानकारी दिइएको छ । यो सम्मेलनमा विभिन्न देशका जनसंख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने छन् ।

विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतीमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिवि, जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपालजस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ । यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताए ।

जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको कार्यक्रममा जानकारी दिइयो । नेपालको विकासका एजेण्डालाई थप प्रवर्द्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा पनि आयोजकको छ ।

सम्मेलनको सचिवालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागमा रहने प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार व्यवस्थित रूपमा सम्मेलन सम्पन्न गर्न सघाउ पुर्‍याउने उद्देश्यले प्रचारप्रसारसहित विभिन्न ६ उपसमिति गठन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर