नख्खुका बाढीप्रभावितलाई स्थानीयको ढाडस, दैनिक तीन सयलाई खाना खुवाउँछन् (भिडिओ) – Nepal Press

नख्खुका बाढीप्रभावितलाई स्थानीयको ढाडस, दैनिक तीन सयलाई खाना खुवाउँछन् (भिडिओ)

ललितपुर ।  असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको/डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ ।

काठमाडौं उपत्यकामा वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ । नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरु अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन् । गाँसवासको टुंगो नहुँदा स्थानीहरु मिलेर उनीहरुलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् ।

गत आइतवारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरुलाई स्थानीहरु मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्री बतउँछन्।

उनले सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरुलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए । उनले २५ नम्बर वडामा २५० जनाको गाँसबास बाढीका कारण खोसिएको बताए। उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने विश्वास व्यक्त गरे । बाढीले घरहरु बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरु सिर्जना भइरहेको बताए।

उनले भने, ‘यो हप्ताको आइतबारदेखि आज ६ दिनभयो, बिहान बेलुका अविरल वर्षाबाट पीडितलाई खाना खुवाइरहेका छौँ । सहयोगी दाताहरुले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ । यो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ । २ जनाको मृत्यु भयो, यो वडाबाट ।’

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरु मिलेर पीडितलाई खाना खुवाइरहेको बताइन् । उनले दैनिक तीन सय जति मानिसहरुलाई खाना खुवाएको बताइन् । पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरुले सहयोग गरेको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताइन् ।

उनले भने, ‘वडाको तर्फबाट भन्दा पनि आईतवारदेखि आफैँ मिलेर खाना खुवाइरहेका छौँ । तीन सय जति मानिसलाई खाना खुवाइरहेका छौँ । विभिन्न संस्थाले सहयोग गर्नुभएको छ । सरकारी भवन, बालकुमारी मन्दिरहरुमा बस्नुभएको छ । कतिपय साथीहरुकोमा गएर बस्नुभएको छ ।’

नेपाली काँग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २५ का सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितको राहत र उद्धारमा राम्रो काम गरिरहेको बताए । उनले अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था स्थानीय मिलेर गरेको बताए।
उनले भने ‘महानगरपालिकाले राम्रो उद्धार र राहत गरिरहेको छ । अहिले पनि बिस्थापितहरुलाई बस्न र खानको व्यवस्था गरेको छ ।’

गत असोज १२ र १३ गतेको अविरल वर्षाका कारण देशभर नै ठूलो जनधनको क्षति भएको छ । हजारौँ मानिसहरु बिस्थापित भएका छन् । अझै पनि मनसुन सफा भइसकेको छैन । त्यसैले विज्ञहरुले शतर्कता अपनाउन सुझाव दिइरहेका छन् ।

साथै चिकित्सकहरुले विपद्पछि स्वास्थ्यमा पनि ठूलो समस्या आउनसक्ने भन्दै पानी सफा खान र तताएर मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । सरकारले पनि आवश्यक सावधानी अपनाएर यात्रा गर्न, स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर