मोदीलाई केजरिवालको ‘चेक’ – Nepal Press

मोदीलाई केजरिवालको ‘चेक’

मोदी भर्सेस केजरिवाल: कास्टिङदेखि क्लाइमेक्ससम्म

गत सेप्टेम्बर १७ तदनुसार असोज १ गते दिल्ली उत्सवमय थियो । यसका चार कारण थिए । एक कारण सांस्कृतिक थियो भने बाँकी तीन राजनीतिक । सम्पूर्ण दिल्ली विश्वकर्मा पूजाको सांस्कृतिक उल्लासमा रमाइरहेको बेला राजनीति सम्बद्ध तीन प्रसंगले त्यहाँको वातावरणलाई थप रोमाञ्चक बनाइदिए ।

पहिलो प्रसंग- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको मुख्यमन्त्री पदबाट राजीनामा । दोस्रो प्रसंग- केजरिवालको स्थानापन्न मुख्यमन्त्रीको रूपमा आतिशी मार्लेनाको चयन र तेस्रो प्रसंग- प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन ।

यी तीन वटामध्ये तेस्रो प्रसंग अर्थात प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन राजनीतिक विषय थिएन, तर प्रधानमन्त्री मोदीको जन्मदिनमै उनका चरम राजनीतिक प्रतिद्वन्द्वी केजरिवालले उनलाई सबैभन्दा ‘ठूलो गिफ्ट’ दिए । त्यो गिफ्ट थियो- राजधानी शहर दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा । केजरिवालले राजीनामा दिएपछि मोदीको जन्मदिन पनि राजनीतिक गसिपको सीमाभित्र आउनु अस्वाभाविक रहेन ।

केजरिवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएको चार दिनपछि संसदीय दलको बैठकमार्फत आफ्नै क्याबिनेट मन्त्री रहेकी आतिशी मार्लेनालाई आफ्नो उत्तराधिकारीको रूपमा अघि सारे । आफ्ना पुराना विश्वास पात्र एवम् घनिष्ठ मित्रसमेत रहेका उपमुख्यमन्त्री मनिष सिसोदिया, प्रखर नेता सञ्जय सिंहलगायतका पुराना र जुझारु मानिने अन्य नेताहरूलाई छाडेर तुलनात्मक रूपमा कनिष्ठ मानिएकी आतिशीलाई मुख्यमन्त्री बनाए । त्यसमार्फत विपक्षी प्रधानमन्त्री मोदीलाई केजरिवालले चेस खेलको भाषामा भन्ने हो भने सानदार ‘चेक’ दिएका छन् ।

यस आलेखमा नरेन्द्र मोदी र अरविन्द केजरिवालको उदयको ‘टाइम लाइन’को तुलनात्मक प्रस्तुति, अनपेक्षित रूपमा दिल्लीको ‘राजनीतिक डन’ को रूपमा उदाएका केजरिवालको मार्गमा अवरोधकको रूपमा नरेन्द्र मोदीको आगमन र भारतको केन्द्रीय राजनीतिमा बितेको दशकबाट देखापरेका यी दुई हेभीवेट नेताबीच चलेको ‘सह-माथ’ को क्रमलाई पर्गेल्ने प्रयास गरिएको छ ।

०००

नरेन्द्र मोदी र अरविन्द केजरिवालबीच धेरै प्रसंगहरुमा समानता पाइन्छन् । दुवै भारतको स्वतन्त्रतापश्चात् जन्मेका हुन् । मोदी सन् १९५० सेप्टेम्बर १७ मा जन्मेका थिए भने १८ वर्षपछि सन् १९६८ अगस्त १६ मा केजरिवाल जन्मिए । यी दुवै गैरराजनीतिक परिवारबाट माथि उठेका स्व-निर्मित नेता हुन् । दुबै आन्दोलनबाट उभार पाएका प्रभावशाली राजनीतिज्ञ पनि, तर उनीहरु आवद्ध आन्दोलनको स्वभाव, स्वरुप र प्रयुक्त संसाधनमा आकाश-जमीनको असमानता छ । उनीहरूका बीच अन्य पक्षमा पनि अनेकौं असमानता छन्, तर ती असमानताहरुका बीचमा पनि यी दुवैका अनेकौं तुलनायोग्य विषयहरु छन् ।

बाल्यावस्था-विद्यार्थीकाल

नरेन्द्र मोदी एक अत्यन्तै गरिब र सामाजिक रूपमा पिछडिएको जातीय पृष्ठभूमि र धेरै सदस्य भएको परिवारमा गुजरात राज्यको बडनगरमा जन्मेका थिए । केजरिवाल एक उच्च मध्यम वर्गीय, शिक्षित र सानो मारवाडी परिवारमा हरियाणाको हिसारमा जन्मिए । अध्ययनमा दुवै अब्बल भए पनि मोदीको प्रारम्भिक पढाइ हिन्दू मन्दिरहरुले भरिएको ग्रामीण परिवेशयुक्त बडनगरमा भयो । केजरिवालले विद्यालयस्तरको पढाइ क्रिश्चियन मिसिनरी स्कुल सोनिपत हरियाणामा पूरा गरे ।

गुजरात एक गुणवान राज्यको रूपमाचर्चित त भयो नै केन्द्रीय सरकारको गणनामा समेत गुजरात भारतभरिकै उत्कृष्ट राज्यभित्र पर्न थाल्यो । मोदीका कटु आलोचक र मिडियाहरुसमेत उनले गुजरातमा ल्याएका सर्वपक्षीय सुधारहरुबाट अवाक थिए ।

मोदी आठ वर्षकै उमेरमा हिन्दूवादी संगठनको रूपमा परिचित राष्ट्रिय स्वयंसेवक संघमा आवद्ध भैसकेका थिए र समाज सेवाजन्य गतिविधिमा संलग्न हुन थालिसकेका थिए । नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्नेलगायतका सिर्जनात्मकतामा मग्न रहनु मोदीका प्रियकार्य थिए । यता इलेक्ट्रिकल इन्जिनियर पिताका मेधावी पुत्र केजरीवाल गणित विषयको गहन ज्ञान आर्जनमा समर्पित थिए ।

किशोरावस्था

नरेन्द्र मोदीको किशोरावस्था प्रवेशसँगै वैवाहिक जीवनमा पनि पदार्पण भयो । १४ वर्षको नाबालिग उमेरमै पारिवारिक बाध्यताले जसोदा बेनसँग दाम्पत्य जीवनमा बाँधिएका थिए मोदी । नाबालक छँदा अज्ञानतामै आफ्नी भार्या बनेकी जसोदा बेनसँग वैवाहिक जीवनको निम्ति आफ्नो कुनै रुचि नभएको भन्दै किशोर वयका मोदी भारत दर्शनमा निस्के जोगी बन्ने चाहनासाथ ।

यता अध्ययनमा कुशाग्र किशोर केजरिवाल स्कुले शिक्षापश्चात जसरी पनि विश्व प्रतिष्ठित इञ्जिनियरिङ अध्ययन संस्थान इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)बाट इञ्जिनियरिङ उत्तीर्ण गर्ने अडानमा थिए । ‘ब्याकअप’ को लागि हरियाणाको कुरुक्षेत्रमा रहेको एक इञ्जिनियरिङ कलेजमा पिता गोविन्दनाथले आवेदन फर्म भरिदिएकोमा त्यहाँ प्रवेश परीक्षासमेत दिन नगएर आईआईटीबाटै इञ्जिनियर बन्ने दृढतालाई जीवित राखेका केजरिवालले अन्ततः आफ्नो लक्ष्य हासिल गरे । उनले आईआईटीबाटै इञ्जिनियरिङ उत्तीर्ण गरे ।

युवावय

जोगी बन्ने यत्नसाथ भारतका विभिन्न जंगल, पर्वत, आश्रम, मठ, मन्दिरहरुमा भौतारिएका मोदी एक सन्न्यासीको सल्लाहमा घर फर्के, तर घर बसेनन् । सानै छँदा रस पसिसकेको राष्ट्रिय स्वयंसेवक संघको पूर्णकालीन कार्यकर्ता बने ।

केजरिवालले सन् १९८९ मा इन्जिनियरिङ उत्तीर्ण गरेपश्चात् आमभारतीय घरेलु युवा झैं रोजगारीको उद्देश्यले टाटा स्टील कम्पनीमा जुनियर इन्जिनियरको पदमा रही कार्य गरे । निजी कम्पनीको नोकरीले निराशा दिएपछि तीन वर्षमै उनले जागीर त्यागे । भारत सरकारको उच्च प्रहरी अधिकृत बन्ने उद्देश्यबाट उनले लोकसेवा आयोगको तयारी गरे । त्यो तयारीले उनलाई उद्देश्यअनुरुपको गन्तव्य त दिएन, तर कनिष्ठ राजस्व कमिश्नरको पदसम्म भने पुर्‍याइदियो ।

सोही तहको निम्ति तालिमरत रहँदा भोपालमा भेट भएकी सहपाठी सुनितासँग मसुरीमा मन साटे । सन् १९९५ मा दिल्ली कार्यालयमा जागिरमा जोडिए, अनि जोडे जोइपोइको नाता ।

राजनीतिक उदय आधार : सामाजिक संस्था

अरविन्द केजरीवाल र नरेन्द्र मोदी दुबैले आफ्नो जीवनको राजनीतिक उडानमा सामाजिक संस्थालाई आधार बनाएको देखिन्छ । नरेन्द्र मोदी किशोरवयमै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आवद्ध भैसकेका थिए । आफ्नै गृहनगरका आरएसएस प्रमुख, पेशाले वकिल एक व्यक्तिले मोदीलाई आरएसएसको कार्यालयमा पिउनको जागिर दिलाए । उनले त्यहाँ कार्यालयको सरसफाइ र आगन्तुकहरुलाई चियाखाजा पकाएर खुवाउने काम पाए । आफ्नो जिम्माको काम साथै आरएसएसको एक अनुशासित कार्यकर्ताको रूपमा मोदीले आफूलाई अघि बढाए । विस्तारै भारतभरि नै उनको सक्रियता बढ्दै गयो ।

अरविन्द केजरीवालले जागिरे अनि वैवाहिक जीवनको नयाँ इनिङ सुरु गर्दैगर्दा उता नरेन्द्र मोदीले आफ्नो नाममा इतिहास लेखिसकेका थिए । राष्ट्रिय स्वयंसेवक संघको एक कर्तव्यनिष्ठ कार्यकर्ताको कदलाई भारतीय जनता पार्टीको केन्द्रीय अधिकारीको पदमा उचालिसकेका थिए ।

अरविन्द केजरिवालले सन् २०१२ नोभेम्बर २६ मा आफ्नो संयोजकत्वमा अन्ना आन्दोलनका अन्य अभियन्ताहरुसँग मिलेर राजनीतिक दल खोले । दलको नाम राखियो- आम आदमी पार्टी (आप) ।

यता दिल्लीको सरकारी जागिरे केजरिवाल राजस्व कमिश्नर भएर काम गर्दागर्दै सरकार नियन्त्रित कार्यालयहरुमा हुने गरेका बेथिति र भ्रष्टाचारविरुद्धमा विद्रोही भावना बढाउँदै थिए । भ्रष्टाचारविरुद्धको भावनालाई संगठित रूपमा अघि बढाउन आफ्ना टीभी पत्रकार साथी मनिष सिसोदियासमेतको सक्रियतामा सन् २००० जनवरीमा ‘परिवर्तन’ नामक एनजीओको गठन गरे र केही वर्षपछि दुबै मिलेर ‘कविर’ नामक एनजीओ खोले । यी दुबै एनजीओमार्फत सरकारी कामकाजमा पारदर्शिताको लागि कडा संघर्ष शुरु गरे । अरविन्द केजरिवाल दिल्लीका झुग्गी झोपडीमा गएर जमिनीजनतालाई भ्रष्टाचारका विरुद्धमा संगठित गर्न थाले । उनीहरूलाई भ्रष्टाचारको बारेमा, त्यसका तरिका, स्वरूप, प्रकार अनि प्रक्रियाका बारेमा बताउनमा तल्लीन भए । भ्रष्टाचारविरुद्ध अघि बढ्ने प्रक्रिया र पद्धति सम्बन्धमा प्रशिक्षित गर्दै जनजागरणको अभियान चलाए । त्यसमा उनी अहोरात्र संलग्न भए । समय अभाव अनुभव गरेपछि कार्यालयबाट अध्ययन बिदाको स्वीकृति लिएर आफ्नो अभियानमा अहर्निश आवद्ध भए ।

त्यो आवद्धताको असर यति ठूलो भयो कि ‘गरिब र तल्लो वर्गका मानिसहरूलाई भ्रष्टाचारविरुद्धमा संघर्ष गर्न सक्षम बनाएको प्रशंसास्वरूप उनलाई सन् २००६ को रोमन म्यागासेसे पुरस्कार प्रदान गरियो । एसियाली नोबेल पुरस्कार मानिने सो पुरस्कार प्राप्तिपछि ‘मिडिया डार्लिङ’ मा परिणत भए केजरिवाल । २००६ मै जागिरलाई बाईबाई गरेर अघि बढेका उनलाई विश्वास गर्दै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने मन र हातहरुको संख्या अगणितीय रूपमा बढ्दै गयो । सादा जीवनशैली बोकेर समर्पित भावले जनसेवामा जुटेका केजरिवाल आमदिल्लीवासीको ‘मनबासी’ बन्न सफल भए ।

उता भाजपाले संगठन सुदृढीकरणको निम्ति आयोजना गरेको न्याय यात्रा, लोकशक्ति यात्रा, एकता यात्रा जस्ता जनतासँग जोडिने उद्देश्यले गरेका राजनीतिक अभियानहरुको प्रबन्धन प्रमुखको जिम्मेवारी पाए मोदीले । त्यसक्रममा १९९२ जनवरी २६ मा भारतीय गणतन्त्र दिवसको अवसर पारेर कश्मीरको प्रसिद्ध लालचौकमा कश्मिरी पृथकतावादीहरुको चेतावनीलाई चित पार्दै सार्वजनिक आह्वान गरेरै भारतको राष्ट्रिय ध्वजा फहराए । कश्मिरी पृथकतावादीहरुको आतंकलाई उक्त ऐतिहासि कध्वजारोहणमार्फत उनले आफ्नो चुनौतीमात्रै पेश गरेनन्, अपितु देश देशान्तरमा रहेका समग्र भारतीयहरुबीच आफ्नो अलग्गै ‘प्याट्रिओट्रिक’ पहिचान पनि स्थापित गरे ।

राजनीतिक छलाङ

अनुशासित क्रियाशिलताका कारण आरएसएसबाट भाजपामा प्रोमोसन पाएका मोदी भाजपाका राष्ट्रिय सचिव भए । त्यसरी भारतभरिकै भाजपा कार्यकर्ताहरुका नेता बन्दै थिए उनी । त्यही हैसियतमा गृहराज्य गुजरातमा गएगुज्रेको भाजपा संगठनलाई सुदृढ बनाउन केही हदसम्म सफल भैसकेका थिए ।

सन् २००१ जनवरी २६ मा गुजरातकै भुजशहरमा आएको शक्तिशाली भूकम्प पीडितको उद्धार र सहयोगमा मोदीले ठूलो सक्रियता देखाए । सोहीवर्ष अनपेक्षित अवस्थामा एकाएक नरेन्द्र मोदीले तत्कालीनप्रधानमन्त्री अटल बिहारी बाजपेयी र पार्टी प्रमुख लालकृष्ण आडवाणीको विशेष आग्रहमा गुजरातको मुख्यमन्त्रीको पद सम्हाल्नपुगे । विधानसभाका सदस्यमात्रै होइन, कुनै पनि चुनाव ‘फेस’ नगरिकनै मोदी २००१ अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री बने ।

भारतीय संविधानको बाध्यात्मक नियमअनुसार उनले त्यहाँको विधानसभामा निर्वाचित हुनुपर्ने थियो । त्यसैअनुरुप सन् २००२ फेब्रुअरी २४ मा विधायक पदमा निर्वाचित भए । त्यसको तेस्रो दिन अर्थात फेब्रुअरी २७ मा कुख्यात हिन्दू-स्लिम दङ्गा सुरु भयो । त्यस काण्डमा मिडिया र विपक्षी पार्टीहरुले मोदीलाई नै दोषीको रूपमा प्रस्तुत गरे । अमेरिकाले त मोदीलाई भिसा नदिने घोषणा नै गर्‍यो भने बेलायतले पनि त्यही नीति लियो ।पश्चिमी देशहरू ‘एन्टी मोदी’को रूपमा प्रस्तुत भए । भारतीय कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धीले मोदीलाई ‘मृत्युका सौदागर’ को संज्ञा दिइन् ।

ती आरोपहरुबाट अविचलित रहँदै अनेकौं नयाँ-नयाँ उपागमको उपयोगमार्फत नरेन्द्र मोदीले गुजरातलाई गुलजार बनाउन सफलता पाउँदै गए । त्यसको सम्मानस्वरूप संयुक्त राष्ट्रसंघ युनेस्को, गान्धी फाउन्डेसनलगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थाले विभिन्न पुरस्कारद्वारा प्रोत्साहित गरे मोदीलाई । गुजरात एक गुणवान राज्यको रूपमाचर्चित त भयो नै केन्द्रीय सरकारको गणनामा समेत गुजरात भारतभरिकै उत्कृष्ट राज्यभित्र पर्न थाल्यो । मोदीका कटु आलोचक र मिडियाहरुसमेत उनले गुजरातमा ल्याएका सर्वपक्षीय सुधारहरुबाट अवाक थिए ।

यता केजरिवालको भ्रष्टाचारविरोधी कार्यले निरन्तर प्रगति गर्दै शिखर चढ्न थाल्यो । त्यसैक्रममा दिल्लीमा २०१० नोभेम्बर १४ का दिन योगगुरु रामदेवको नेतृत्वमा भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सरकारले ठूलो ज्यादती गर्‍यो । परिणामस्वरूप सो आन्दोलनमा सशरीर उपस्थित भएका केजरिवाललगायत अन्य प्रतिष्ठित नागरिक अगुवाहरुले उक्त आन्दोलनलाई महाराष्ट्र राज्यका प्रभावशाली गान्धीवादी र भ्रष्टाचार विरोधी अभियन्ता अन्ना हजारेको नेतृत्वमा अघि बढाउनुपर्ने निर्णय गरे । सोहीअनुसार अघि बढेको भ्रष्टाचारविरुद्धको आन्दोलनले अन्ततः विशाल रुप लियो ।

भारत सरकारले लोकपाल विधेयक संसदमा पेश गरेपछि अगुवा अन्नाले आन्दोलन अन्त्य भएको घोषणा गरे । र, स्वनिवास रालेगण सिद्धी फिर्ता भए, तर उक्त आन्दोलनका मुखर अभियन्ताहरुले आफ्नो पूर्वअडान अनि ‘कुनै पनि हालतमा राजनीतिमा प्रवेश नगर्ने’ भनी गरेको सार्वजनिक घोषणाविपरीत राजनीतिमै आशक्ति देखाए । अरविन्द केजरिवालले सन् २०१२ नोभेम्बर २६ मा आफ्नो संयोजकत्वमा अन्ना आन्दोलनका अन्य अभियन्ताहरुसँग मिलेर राजनीतिक दल खोले । दलको नाम राखियो- आम आदमी पार्टी (आप) । लगत्तै सन् २०१३ मा भएको दिल्ली विधानसभा चुनावमा सबैलाई छक्क पार्दै उनको दलले कुल ७० मध्ये २८ सीट जितेनमात्रै, केजरिवालले तत्कालीन मुख्यमन्त्री एवम् कांग्रेसकी शक्तिशाली नेतृ शिला दीक्षितलाई अत्यन्त फराकिलो मतान्तरसहित हराइदिए ।

मोदीले गृहराज्य गुजरातका साथै उत्तर प्रदेशको वाराणसी अर्थात काशीबाट पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । मोदीविरुद्ध चुनाव लड्ने र मोदीलाई काशीको प्रतिनिधित्व गर्न नदिने उद्घोष गरे केजरिवालले ।

सो चुनावमा बहुमत पाउने आशमा रहेकोे भाजपा मज्जैले जिल्लियो । केवल आठ सीट जितेको कांग्रेसको बाहिरी समर्थनमा केजरिवाल दिल्लीको मुख्यमन्त्री बने । भाजपा ३१ सीट ल्याएर पनि हेरेको हेर्‍यै भयो, तर जनलोकपाल विधेयक पारित गराउनमा कांग्रेसले असहयोग गरेको भन्दै केजरिवालले पदासिन भएको ४९ औं दिनमा सन् २०१४ फेब्रुअरी १४ का दिन मुख्यमन्त्री पदबाट राजीनामा दिए ।

मोदी-केजरिवाल आमनेसामने

आआफ्नै ढंगले उच्च राजनीतिक पहिचान बनाएका दुई पूर्वमुख्यमन्त्रीको जम्काभेट गरायो २०१४ को लोकसभा चुनावले । उक्त चुनावमा भाजपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार थिए मोदी । मोदीले गृहराज्य गुजरातका साथै उत्तर प्रदेशको वाराणसी अर्थात काशीबाट पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । मोदीविरुद्ध चुनाव लड्ने र मोदीलाई काशीको प्रतिनिधित्व गर्न नदिने उद्घोष गरे केजरिवालले ।

अरविन्दले आफ्नो आसन्न पराजयको अनुमान नगरेका होइनन्, तर उनले त्यस पराजयमार्फत केही गुमाउनेवाला थिएनन् । अपितु ठूलो लहरसहित उर्लिंदै गरेको मोदीमय चुनावी भेललाई प्रतिरोध गर्न सक्ने एक नेताको पहिचान पाउनेवाला थिए उक्त उम्मेदवारीमार्फत । त्यसमार्फत उनी राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमा मोदीविरुद्ध उभिनसक्ने एक सशक्त विकल्पको रूपमा आफूलाई अघि सार्न चाहन्थे । त्यतिमात्र होइन, उक्त चुनावलाई उनी मोदीको चुनावी रथलाई वाराणसीमै रोकेर भाजपाविरोधी शक्तिलाई आफ्नो संगठनतर्फ एकतृत गर्ने अवसरको रूपमा प्रयोग गर्दै थिए ।

दिल्ली विधानसभा भङ्ग भैसकेको र त्यसको निम्ति चुनावी सरगर्मीको कुनै सुरसार नदेखेका फुर्सदिला केजरिवालले उक्त लोकसभा चुनावलाई आफ्नो आसन्न चुनावी राजनीतिको निम्ति ‘वार्म अप र प्राक्टिस म्याच’को रूपमा उपयोग गर्दै थिए । उनलाई के थाहा थियोे भने उक्त चुनावी संग्राममा सहभागिता नदेखाएका भए दिल्लीमा उनले र उनको पार्टीले पाएको जबरजस्त ‘मोमेन्टम’ उनको हातबाट सदाको लागि गुम्न सक्थ्यो । त्यसबेला उनले एक परिपक्व राजनीतिज्ञको झल्को दिने अपेक्षित चाल चलेका थिए ।

केजरिवालले कम्मर कस्नुको अर्को आधारभूत कारण थियो- भारतभरि कांग्रेसविरुद्ध जागेको व्यापक विद्रोह चेत । त्यो विद्रोह चेत जगाउने प्रमुख कारक केजरिवाल नै थिए । कांग्रेसबाट भएका शासकीय कमीकमजोरी र भ्रष्टाचारका बारेमा जुन ढंगले केजरिवाल मुखर रूपमा प्रस्तुत भए, त्यसलाई भारतीय मिडियाले महत्व पनि दियो । त्यसको घातक असर पर्दै थियो कांग्रेसलाई । कांग्रेस बदनामीको घेराबन्दीमा पर्दै गयो । आफूले दिल्ली विधानसभाबाट पारित गराउन प्रस्ताव गरेको भ्रष्टाचारविरुद्धको लोकपाल विधेयक असफल बनाइदिएको आरोपमा केजरिवालले कांग्रेस र उक्त पार्टीका मूल नेताहरूलाई कठघरामा उभ्याइरहे ।

आम आदमी पार्टीका आरोपका अघिल्तिर कांग्रेसीहरु उत्तरहीन देखिन्थे । मनमोहन सिंहको नेतृत्वमा रहेको केन्द्रीय सरकारले ‘एन्टी इन्कम्बेन्सी’ को सामना गरिरहेको थियो । भ्रष्टाचारको आरोपलाई चिर्न संघर्षरत थियो कांग्रेस । फलतः परम्परागत ‘सेकुलर’ मतको आड र भाजपाविरोधी विशाल मुस्लिम मतको आशमा थियो अरविन्द र उनको समूह । त्यही आशबाट काशीमा केजरीवालले आफूलाई उभ्याए मोदीको विरुद्धमा ।

नरेन्द्र मोदीले २०१४ मा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गर्दा उनीसँग गुजरातका सफल मुख्यमन्त्रीको ‘क्रिडेन्सियल’ थियो र आड थियो- भाजपाको सशक्त संगठनको । यता अत्यन्तै छोटो अवधिमा राजधानी शहर दिल्लीको विश्वचर्चित मुख्यमन्त्रीको ‘परिचयपत्र’ थियो केजरिवालसँग । कांग्रेसको पुरानो र बलियो संगठनलाई ध्वस्त पार्दै आठ सीटमा खुम्च्याइदिएर त्यही कांग्रेसको समर्थनमा भाजपालाई सत्तामा आउन नदिएको ‘प्रोफाइल’ थियो उनीसँग ।

मोदी आफ्नो जादुमय व्यक्तित्व र वक्तव्य शैलीले भारतभरि गजब आकर्षण फैलाइरहेका थिए । उनीसँग भाजपाको भरपर्दो र विशाल राजनीतिक संगठनको बल थियो । यता केजरिवालको साथमा थियो- आमभारतीयलाई सहजै अपील गर्ने साधारण पहिरन, आत्मविश्वासयुक्त भाषण, आकर्षक सरकारी जागिरबाट लिएको स्वेच्छिक अवकाशको पृष्ठभूमि । उनको मूल पुँजी थियो दिल्लीवासीको बलियो समर्थन र विकसित एवम् भ्रष्टाचारमुक्त नयाँ भारतको भरोसायोग्य नारा ।

कठै, केजरीवाल !

चुनावी परिणाम केजरिवाल एन्ड कम्पनीको लागि सम्पूर्ण रुपले बिर्सनयोग्य रह्यो । प्रथमतः जसलाई उनीहरू रोक्न चाहन्थे, त्यो व्यक्ति अर्थात नरेन्द्र मोदीले केजरिवाललाई ऐतिहासिक मतान्तरले पराजितमात्रै गरेनन्, सानदार बहुमतसहित प्रधानमन्त्रीको रूपमा सत्तारुढ बने । त्यसका साथै अनेकौं पक्षबाट आश गरिएका अर्का आप उम्मेदवार कुमार विश्वासलाई अत्यधिक जनताले विश्वास गरेनन् ।

मोदी आफ्नो जादुमय व्यक्तित्व र वक्तव्य शैलीले भारतभरि गजब आकर्षण फैलाइरहेका थिए । उनीसँग भाजपाको भरपर्दो र विशाल राजनीतिक संगठनको बल थियो ।

अर्को टीठलाग्दो पक्ष के रह्यो भने केजरिवालको आम आदमी पार्टीबाट प्रत्याशी बनेका चार जनाले मात्रै जिते । दर्जनौं उम्मेदवार जमानत जोगाउनसमेत असफल भए । तथापि ती विषयहरुले केजरिवाल एण्ड कम्पनीलाई खासै पोलेन । उनीहरूका लागि सबैभन्दा भयावह पक्ष थियो– आफ्नो राजनीतिक आधारभूमिको रूपमा रहेको दिल्लीमा भाजपाले गरेको शानदार क्लिन स्वीप । भाजपाले आपकाउम्मेदवारहरुलाई नराम्ररी पराजितमात्रै गरेन, आप नेतृत्वको निम्ति दुःस्वप्न थपिदियो । भाजपा र उसका समर्थक एवम् कतिपय विश्लेषकहरुले आम आदमी पार्टीको ‘अन्त्य’ भैसकेको, तर औपचारिक घोषणा हुनमात्रै बाँकी रहेको बताए।

गुजरातमा लगातार १३ वर्ष मुख्यमन्त्री रहेका मोदीले केजरिवाललाई चुनावमा पराजितमात्रै गरेनन्, सिधै अहमदावादस्थित मुख्यमन्त्री निवासबाट केजरिवालकै शहर दिल्लीको पञ्चवटीमा बसाइ सरे प्रधानमन्त्रीको रूपमा ।

केजरीवालको कमब्याक

सानदार विजयउल्लासमा रहेकोे भाजपा र पराजयको पीडामा रहेको आम आदमी पार्टी आआफ्नै ढंगले जुटे आसन्न दिल्ली विधानसभा चुनावमा । २०१५ को फेब्रुअरी ७ मा भएको चुनावमा मोदीले अनेकौं चलाखी गरे । भारतकी सम्मानित उच्च महिला प्रहरी अधिकारी एवम् म्यागासेसे पुरस्कार विजेता रहिसकेकी केजरीवाल कोटरीकी कोर नेतृ किरण वेदीलाई भाजपाले दिल्लीको मुख्यमन्त्री प्रस्ताव गर्‍यो । भाजपाको उक्त निर्णयलाई केजरिवालविरुद्ध मोदीको मास्टर स्ट्रोकको रूपमा व्याख्या गरियो ।

राजनीतिको सामान्य जोडघटाउ जान्नेहरुले समेत अघिल्लो चुनावमा केवल पाँच सीटले सत्ताबाट टाढा रहन बाध्य भाजपाले सहजै उक्त कमीलाई पूरा गर्ने अनुमान गर्न भ्याए । लोकसभा चुनावमा दिल्लीको सातै सीट जितेको ताजा पृष्ठभूमि एवम् मोदी प्रतिमतदाताको बलियो मोह कायमै रहेको तर्कले सो अनुमानलाई आधार दिएको थियो । केजरिवालको क्षेत्रमा मोदीको आगमनलाई कतिपयले ‘इलाका तेरा, धमाका मेरा’ ढंगको हिन्दी फिल्मी डायलगको रूपमा पनि व्याख्या गरे, तर सबै अनुमानलाई असफल बनाउँदै उक्त परिणाम भाजपा र मोदीको निम्ति ठूलो विस्मय बोकेर आयो । केजरिवालले ऐतिहासिक ६७ सीट जिते । लज्जास्पद रूपमा मोदीका तीन उम्मेदवारमात्र विजयी बने ।

मोदीको ट्रम्प कार्ड मानिएकी किरण बेदीले समेत पराजय व्यहोरिन् । अघिल्लो वर्ष २०१४ को फेब्रुअरी १४ मा मुख्यमन्त्रीको कुर्सीबाट ओर्लिएका केजरिवाल ठ्याक्कै एक वर्षपछि फेब्रुअरी १४ कै दिन सोही कुर्सीमा पुनःस्थापित भए । आम आदमी पार्टी र केजरिवालको उक्त कीर्तिमानी विजयलाई दिल्लीवासीले मोदीलाई ‘मेरे अंगनेमे तुम्हारा क्या काम है …?’ शैलीमा दिएको जवाफको रूपमा व्याख्या गरियो ।

भाजपाले खाएको उक्त धक्काबाट हौसिएका आपवालाहरुको हौसलालाई २०१९ को लोकसभा चुनावले फेरि हिस्स बनाइदियो । मोदीले २०१४ को चुनावमा भन्दा पनि सानदार ढंगले जितेनन् मात्रै, दिल्लीको सातवटै सीटमा आप उम्मेदवारहरुलाई ठूलो मतान्तरले हराउँदै भाजपा उम्मेदवारहरुलाई विजयको माला पहिर्‍याए । २०१४ को झैं लोकप्रियताको लाली आम आदमी पार्टीमा कायम रहन सकेन । भारतभरिबाट उक्त पार्टीका केवल एक जनाले मात्रै चुनाव जिते । चुनावी संग्रामको परिणाम मोदीमय भएपछि अरविन्दको ओरालो यात्रा आरम्भ भएको चित्रण गरियो राजनीतिक वृत्तमा ।

केजरिवाल र मोदीबीचको सह-मात को खेलमा अर्को उल्लेखनीय ट्विस्ट आयो- पञ्जाब प्रदेशको चुनाव २०२२ मा । पञ्जावको कांग्रेस सरकारका लोकप्रिय मुख्यमन्त्री अमरिन्दर सिंहले कांग्रेस परित्याग गरेर भाजपा प्रवेश गरेपछि मोदी अत्यन्त उत्साहित थिए, तर उफानमा रहेको उनको उत्साहलाई पन्जावले नमीठोसँग निमोठिदियो । केजरिवाल नेतृत्वको आम आदमी पार्टी बहुमतसहित आयो पञ्जाव सरकारमा । उक्त ऐतिहासिक विजयले आम आदमी पार्टी पञ्जाबको सरकारमा मात्रै पुगेन, भारतीय राजनीतिमा बडो मुस्किल मानिने राष्ट्रिय पार्टीको मान्यता पाउनसमेत सफल भयो । फलतः त्यहाँको संवैधानिक प्रावधानअनुसार मोदी सरकारले आम आदमी पार्टीको लागि सरकारी भवनको बाध्यात्मक व्यवस्थापन गर्नुपर्‍यो ।

मोदीको निम्ति पक्कै पनि त्यो पल प्रीतिकर थिएन, तर आपका अनुयायीहरुसहित सन् २०१४ देखि नै मोदीलाई मात खाएको हेर्न आतुर अन्य अनुहारहरुसमेत केजरिवालको उक्त विजयबाट आह्लादित थिए । दिल्लीको पराजयलाई बिर्साउनेगरी पञ्जावले दिएको समर्थन केजरिवालका लागि सञ्जीवनी थियो ।

जेलको खेल

पञ्जाबको चुनावी परिणामले दिएको सञ्जीवनीको आनन्दलाई आरामपूर्वक आत्मसात गर्न नपाउँदै नयाँ–नयाँ चुनौतीको सामना गर्न बाध्य भए केजरिवाल । उनको मन्त्रिपरिषद्का विश्वासिला मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लगाउँदै जेल हाल्न थालियो । त्यसरी भ्रष्टाचार आरोपितहरुको सूचीमा थिए उनका अति निकट भएकै कारण सरकार एवम् पार्टी दुबैमा प्रभावशाली मानिएका सत्येन्द्र जैन र सञ्जय सिंह ।

केजरिवालको साथमा थियो- आमभारतीयलाई सहजै अपील गर्ने साधारण पहिरन, आत्मविश्वासयुक्त भाषण, आकर्षक सरकारी जागिरबाट लिएको स्वेच्छिक अवकाशको पृष्ठभूमि । उनको मूल पुँजी थियो दिल्लीवासीको बलियो समर्थन र विकसित एवम् भ्रष्टाचारमुक्त नयाँ भारतको भरोसायोग्य नारा ।

केजरिवालका सबैभन्दा घनिष्ठ एवम् उनको मन्त्रिपरिषद्मा दोस्रो वरियता प्राप्त उपमुख्यमन्त्री मनिष सिसोदिया पनि भ्रष्टाचारकै आरोपमा जेल गए । अन्ततः स्वयं केजरिवाल नै पनि आफ्ना मन्त्री साथीहरूले सामना गरेकै आरोप अर्थात भ्रष्टाचारको आरोपमा जेल लगिए २०२४ मार्च २१ मा । त्यसरी ‘जेल लगिए’ भन्ने पदावली स्वयम्ले केजरिवाल कानूनी प्रक्रियाको इमानदार अभ्यार्थी र आज्ञाकारी नागरिकको रूपमा जेल नगएको पुष्टि हुन्छ । त्यहाँको भ्रष्टाचारको अनुसन्धान गर्ने निकायले सोधपुछका लागि २०२३ नोभेम्बर २ मा पहिलो ‘समन’ जारी गरेदेखि मार्च २०२४ सम्म ९औं पटकको समनलाई समेत केजरिवालले बेवास्ता गरे । केजरिवालले त्यो सबै जानाजान गरिरहेका थिए । उनी आफ्नो गिरफ्तारीलाई आसन्न लोकसभा चुनावसम्म लिएर जान चाहन्थे । चुनावको सन्निकट गिरफ्तारी दिँदा त्यसलाई मोदीले आफूलाई जबरजस्ती फँसाएको र मोदी आफूसँग डराएको भन्दै ‘भिक्टिम कार्ड’ को रूपमा प्रयोग गर्न चाहन्थे ।

अर्कोतर्फ मोदीको नियत झनै खराब थियो । केजरिवाललाई भ्रष्टाचार आरोप लगाइए पनि त्यो एउटा प्रतिशोधको राजनीतिक प्रपञ्चमात्र थियो भन्ने जगजाहेर छ । ‘ईडी’ एक स्वतन्त्र निकाय रहेको र त्यसमा सरकारको कुनै हस्तक्षेप नरहने भन्दै ‘ओभानो’ देखिने असफल प्रयासमा थिए मोदी ।

दशौं समनमा पनि केजरिवालले बेवास्ता गरेपछि ईडीले सयौं सुरक्षाकर्मी परिचालन गरी उनलाई मुख्यमन्त्री आवासबाटै पक्रेर कुख्यात तिहाड जेल पुर्‍यायो । उक्त घटनाको प्रत्यक्ष प्रसारण हुने र त्यसले दिने चुनावी फाइदा आफूतिर आकर्षित हुनेमा केजरिवाल र मोदी दुवै आशावादी थिए ।

राजनीतिक एवम् सामाजिक जिम्मेवारीमा रहेका व्यक्तिहरु जेल गएको त्यो घटना निश्चय नै पहिलो थिएन, तर भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाउँदै प्रतिष्ठित भ्रष्टाचारविरोधी अन्ना आन्दोलनको जगबाट अस्तित्वमा आएका अरविन्द केजरिवाल र उनका पक्का अनुयायी मन्त्रीहरुलाई भ्रष्टाचारकै आरोपमा एकपछि अर्को गर्दै लर्को लागेर जेल जानु चाहिँ विष्मयकारी थियो धेरैको लागि । आफू र आफ्नो नेतृत्वमा रहेकोे आम आदमी पार्टीका प्रमुख नेताहरुलाई मोदीले षड्यन्त्रपूर्वक भ्रष्टाचारको आरोपमा फँसाएको जिकिर गरिरहे केजरिवालले ।

भारतीय राजनीतिक परम्पराअनुसार केजरिवालले भ्रष्टाचारको आरोपमा जेल जानेबित्तिकै मुख्यमन्त्री पदबाट राजीनामा गर्ने अपेक्षा थियो आमराजनीतिक विश्लेषकहरुको । लालु यादव, जय ललिता जस्ता बलियो राजनीतिक जग भएका मुख्यमन्त्रीहरूले समेत भ्रष्टाचारको आरोपमा जेल जानूपूर्व आफ्नो पदबाट राजीनामा दिएका थिए । केजरिवाल पक्राउ पर्नु ५२ दिनअघि भ्रष्टाचारकै आरोपमा जेल पठाइएका झारखण्डका तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेनले पनि राजीनामा दिएर काका चम्पई सोरेनलाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

तर अरविन्द केजरिवालले राजीनामा दिएनन् । अपितु उनले आफूविरुद्ध मोदी नेतृत्वको संघीय सरकारले झूटा आरोप लगाएको हुनाले राजीनामा नदिने बरु जेलबाटै सरकार चलाउने उद्घोष गरे । त्यसरी आसन्न लोकसभा चुनावको मुखैमा झूटा आरोपमा जेल पठाएर मोदी सरकार आफूसँग निकै नै डराएको प्रमाणित भएको जिकिर थियो केजरिवालको । धेरैको अपेक्षाविपरीत जेलबाटै दिल्ली सरकार सञ्चालन गरेर मोदीलाई कानूनी र व्यवहारिक दुवै रूपमा दह्रो दनक दिए केजरिवालले ।

केजरिवालको क्षेत्रमा मोदीको आगमनलाई कतिपयले ‘इलाका तेरा, धमाका मेरा’ ढंगको हिन्दी फिल्मी डायलगको रूपमा पनि व्याख्या गरे, तर सबै अनुमानलाई असफल बनाउँदै उक्त परिणाम भाजपा र मोदीको निम्ति ठूलो विस्मय बोकेर आयो । केजरिवालले ऐतिहासिक ६७ सीट जिते ।

मे २१ देखि ३१ बीचको १० दिन चुनावी प्रयोजनका लागि भन्दै अदालतले अभूतपूर्व अनुमति दियो अरविन्द केजरिवाललाई । उनले १० दिनसम्म जेल बाहिर बसेर आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न पाउने भए । त्यो १० दिने चुनावी अनुमतिलाई केजरिवालले भरपुर उपयोगमा ल्याए । त्यस अवधिमा केजरिवालले आममतदातामाझ ‘चार सय पार सीट जित्नुपर्ने नारा दिएका मोदीले चुनाव जिते भने संविधान संशोधन गर्नेछन्’ भन्ने जबरजस्त भाष्य फैलाइदिए । त्यसको प्रभाव देखियो मत परिणाममा, जहाँ भाजपा चार सय पार होइन, २४० मै समेटियो । चुनावका निम्ति चाहिने सम्पूर्ण सन्दर्भ अनुकूल हुँदाहुँदै समेत २४० मै समेटिनु मोदीका निम्ति अकल्पनीय परिणाम थियो र त्यसमा कहीँ न कहीँ केजरिवालले मोदीविरुद्ध दिएको नाराको असर अवश्य थियो ।

क्लाइमेक्समा केजरिवाल र मोदी फाइट

सन् २०१२ मा दिल्ली केन्द्रित भ्रष्टाचारविरोधी अन्ना आन्दोलनबाट राजनीतिमा उदाएका अरविन्द केजरिवालले २०२४ मा आइपुगुञ्जेल अनेकौं आरोहको आनन्द लिए । यस अवधिको चुनावी राजनीतिमा उनले धेरै अवरोह भने भोग्नुपरेन । तथापि समकालीन राजनीतिज्ञमध्ये उनको जति व्यक्तित्वको स्खलन सम्भवतः अन्य कसैले व्यहोरेका छैनन् । र, उनको व्यक्तित्वको स्खलनमा कुनै न कुनै रूपमा मोदी जोडिएका छन् ।

मोदीसँग पौंठेजोरी खोज्ने क्रममा उनले किरण वेदी, कुमार विश्वास, कपिल मिश्रा, साजिया इल्मी जस्ता अत्यन्तै कुशल वक्ता र संगठक हस्तीहरु गुमाए । र, त्योभन्दा महत्वपूर्ण त उनले आफ्नो साख गिराएको दाबी गर्छन् उनका पूर्वसहकर्मीहरु ।

लालु यादव, मुलायमसिंह यादव, सोनिया गान्धीहरु भ्रष्टाचारका मसिहा भएको बताउँदै उनीहरूको भ्रष्टाचारको साम्राज्य ध्वस्त गर्ने कसम खाएर आफ्नो व्यक्तित्वलाई उचालेका अरविन्द केजरिवाल हालै सम्पन्न लोकसभा चुनावमा जसरी पनि मोदीलाई हराउनैपर्ने बहानामा उनीहरूसँगकै गठबन्धनको सूत्रधार बने । पार्टी गठनदेखि निर्वाचनमा पार्टीको विजयमा समेत उल्लेख्य भूमिकामा रहेका नेताहरुलाई उपेक्षा गरी ‘पैसावाल व्यापारी’ गुप्ता बन्धुलाई राज्यसभा सदस्य बनाए । ‘सरकारी गाडी, बंगला कुनै पनि हालतमा लिनेछैन’ भनेर गरेको आफ्नो पूर्वघोषणाविपरीत उनले ती सुविधाको भरपूर उपयोगमात्रै गरेनन् कि मुख्यमन्त्री निवासको सौन्दर्यकरणमा मात्रै करोडौं खर्च गरे । बिग्रेको लोकप्रियतालाई ‘मेकओभर’ गर्ने अनेकौं जुक्तिका जानकार केजरिवालले आफ्नो सरकार अर्थात दिल्ली सरकारले गरेका उल्लेखनीय कार्यहरूको विज्ञापनमा मात्रै हजारौं करोड खर्च गरेको तथ्यांकहरुले देखाउँछ ।

अन्ततः भारतीय सर्वोच्च अदालतले केजरिवाललाई रिहाइको आदेश दियो । उनले जेलबाट त रिहाइ पाए, तर अधिकारविहीन रूपमा ! अदालतको आदेशमा उनले मुख्यमन्त्रीको रूपमा कार्यालय जान नपाउने, कुनै पनि फाइलमा दस्तखत गर्न नपाउने, नयाँ मन्त्री नियुक्त गर्न नपाउने जस्ता शर्तहरु थिए । चतुर केजरिवालले कसैले नसोचेको बाटो रोजे ।

यस आलेखको पहिलो अनुच्छेदमा उल्लेखित सेप्टेम्बर १७ का दिन मोदीले ७४ औं जन्मदिन मनाइरहँदा केजरिवालले राजनीति रुपी चेस खेलको ‘मोदी’ रुपी राजालाई ‘चेक’ दिए । उनले आफ्नो राजीनामासँगै उत्तराधिकारीको रूपमा आतिशी मार्लेनाको चयन गरेका छन् ।

दिल्लीसँग टाँसिएको राज्री हरियाणामा यही अक्टोबर ५ मा हुने विधानसभा चुनावमा ह्याट्रिक गर्ने योजनामा रहेका नरेन्द्र मोदीलाई हरियाणाका ‘लाल’ केजरिवालले कस्तो काउन्टर गर्छन् ? त्यो पनि हेर्न लायक नै रहनेछ । उनले आतिशी मार्लेनालाई सत्तामा राखेर मोदीसँग प्रोक्सी वारको तयारी गरेको भन्ने बुझ्न गाह्रो छैन । गाह्रो छ त केवल दिल्लीका यी दुई हस्तीबीच अब २०२५ को फेब्रुअरीमा हुने विधानसभाको चुनावी भिडन्त र त्यसले ल्याउने क्लाइमेक्सको अनुमान गर्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *