‘दि हिमालयन टाइम्स’ माथि छानबिन समिति गठन, आरोही र आरोहण व्यवसायको बदनाम गर्न खोजेको आरोप – Nepal Press

‘दि हिमालयन टाइम्स’ माथि छानबिन समिति गठन, आरोही र आरोहण व्यवसायको बदनाम गर्न खोजेको आरोप

काठमाडौं । नेपाल प्रेस काउन्सिलले भारतीय लगानीको नेपालबाट प्रकाशित हुने अंग्रेजी दैनिक पत्रिका दि हिमालयन टाइम्स र त्यसको अनलाइन संस्करणले आरोही निर्मल पुर्जा र उनको कम्पनीका बारेमा एकपक्षीय सामग्री सम्प्रेषण गरेको भन्दै कारवाही प्रक्रिया अघि बढाएको छ ।

काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कीर्तिमानी आरोही पुर्जाको नामसँग जोडर गरेको एकपक्षीय समाचार सम्प्रेषणको अनुसन्धान गर्न तीन सदस्यीय कार्यदल नै गठन गरेको छ ।

काउन्सिलले भनेको छ- इलाइट हिमालयन एडभेन्चर्स प्रालि र निर्मल पुर्जा ‘निम्स दाइ’ को नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएकोले अनुसन्धान गरी प्रतिवेदन पेश गर्नका लागि काउन्सिलका सदस्य ठाकुरप्रसाद बेल्बासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।.

काउन्सिलले अनुगमन र उजुरीको कारवाही प्रक्रिया अघि बढाउने सिलसिलामा कतिपय गम्भीर प्रकृतिका विषयहरूको अध्ययन अनुसन्धान गरेर कारवाही गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो खालको कार्यदल काउन्सिलले अपवादजन्य घट्नामा मात्र गठन गरी विशेष अनुसन्धान गर्ने गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले उक्त कार्यदलबारे निर्णय गरेको हो ।

‘दि हिमालयन टाइम्स’ ले आरोही पुर्जा र इलाइट एक्सपीडको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा गिराउने नियोजित उद्देश्यले मिडिया प्लेटफर्मको दुरुपयोग गरेको आरोप उजुरीमा लगाइएको थियो ।
प्रेस काउन्सिलले उक्त पत्रिकालाई पटकपटक सचेत गराएर र दोस्रो पक्षको भनाइ समेत समेटेर आचारसंहिताभित्र रहन पत्राचार गरे पनि अटेर गरेको पाइएको छ ।

काउन्सिलले पछिल्लो पटक गत भदौ ११ गते विभिन्न अनुगमनका क्रममा एकपक्षीय समाचार सामग्री प्रसारण गरेको पाइएको भन्दै पत्र लेखेर खण्डन सम्प्रेषण गर्न भनेको थियो । तर उसले आरोही र आरोहण व्यवसायविरुद्धको मिसन नछाडेपछि अध्ययन गर्न कार्यदल गठन भएको हो ।

तर उल्टै सो भारतीय लगानीको पत्रिकाले नेपाली आरोहण क्षेत्र र आरोहीको बदनाम गर्ने र समग्रमा नेपालको पर्यटन क्षेत्रलाई नै नकारात्मक बचाउने उद्देश्यले रोयल्टीको रकम समेत नतिर्ने अष्ट्रेलियन फ्रडको पक्षपोषण गरेर आरोहण कम्पनीको बदनामी गर्न खोजेको इलाइट एक्सपीडका गोविन्द कटुवालले बताएका छन् ।

उक्त कम्पनीबाट सगरमाथा र ल्होत्से आरोहणका लागि आएकी अष्ट्रेलियन महिला आरोही रोचेल गिलमोरले कम्पनीलाई तिर्नुपर्ने रकम नतिरी भागेको उनकै पक्षपोषण गरेर सो पत्रिकाले पुर्जा र कम्पनीको बदनामी गरेको आरोप छ ।

त्यस्तै, दृष्टि मिडिया प्रा.लि.द्वारा सञ्चालित दृष्टिन्यूज डटकमको परिचयपत्र, कार्यअनुभव पत्र लगायत नक्कली कागजपत्र बनाइ मिडियाको छाप र हस्ताक्षरसमेत नक्कली बनाइ अष्ट्रेलियाका लागि भिसा आवेदन गरेको विषयमा थप अनुसन्धान गर्न काउन्सिलले नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालयलाई समेत लेखेर पठाएको छ ।

आचारसंहिता उपसमितिमा अध्यक्ष बस्नेत, काउन्सिलका सदस्यहरू ठाकुर बेल्वासे, गणेश पोखरेल, शरद अधिकारी, लालबाबु शेख र नेपाल बार एशोसिएसनका प्रतिनिधि रहनुभएका महासचिव अधिवक्ता अन्जिता खनालको सहभागिता थियो ।

बैठकपछि सहप्रशासकीय अधिकृत रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा पत्रकार तथा सञ्चार माध्यमले सत्यतथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने, समाचारका सम्बन्धमा सम्बन्धित पक्षको भनाइ एवं प्रतिक्रियालाई स्थान दिनुपर्ने, पेसागत आचरणविपरीत क्रियाकलाप गर्न नहुने पत्रकार आचारसंहितामा प्रष्ट व्यवस्था विपरित काम भएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

पछिल्लो समय प्रेस काउन्सिलले आचारसंहिता विपरीतका विभिन्न गतिविधिमा केन्द्रित मिडिया र पत्रकारमाथि कडा कारवाही र निगरानी गर्दै आएको छ । मिडियाका नाममा चल्ने युट्युवमाथि समेत काउन्सिलले कडाई गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *