बीपी राजमार्गमा सञ्चालन हुने सवारीसाधन अरनिको हाइवेतर्फ ‘डाइभर्ट’ – Nepal Press

बीपी राजमार्गमा सञ्चालन हुने सवारीसाधन अरनिको हाइवेतर्फ ‘डाइभर्ट’

पहिरो पूर्ण रुपमा नपन्छाउँदा घण्टौंसम्म सवारी जाम

सिन्धुपाल्चोक । असोज १२ गतेको अविरल वर्षाबाट सबैभन्दा बढी प्रभावित काभ्रे जिल्ला भयो । वर्षाले सिन्धुपाल्चोक पनि अछुतो भने रहेन । वर्षापछिको पहिरोले सिन्धुपाल्चोकमा १२ जनाको ज्यान गयो भने एकएक वटा बेलिब्रिज र पक्की पुलसहित अर्बौंको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

बाढीले काभ्रे हुँदै रामेछाप, दोलखालगायतका जिल्लाका यात्रुले प्रयोग गर्दै आएको बीपी राजमार्ग दशैं अगाडि सञ्चालन नहुने भएको छ । त्यसपछि त्यो राजमार्ग हुँदै यात्रा गर्ने यात्रु र सवारीसाधानले अहिले अरनिको राजमार्ग हुँदै गन्तव्यमा जान सुरु गरेका छन् ।

काभ्रेको धुलिखेल-खावा सडक खण्डको चार किलोमिटर सडक खण्ड लामो समयदेखि क्षतविक्षत छ । असोज १२ को वर्षाले झन यो खण्डमा यात्रा गर्ने यात्रु र सवारीसाधानहरुको कन्तविजोग छ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको जिरो किलोदेखि बन्देउसम्मको सडक सग्लो कतै पनि छैन ।

सयौं ठाउँमा माथिबाट पहिरो झरेपछि राजमार्ग होइन, नयाँ ट्रयाक खनेको जस्तोमात्रै भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव तीर्थ पौडेलले बताए ।

धूलोभन्दा केही छैन, सवारीसाधान चलाउन नै समस्या छ । अहिले यातायातका साधानहरुको चाप बढेपछि अरनिको राजमार्ग निकै जोखिममा रहेको सचिव पौडेलले बताए ।

जिरो किलोदेखि बन्देउसम्म असोज १४ र १५ गते दुई दिन लगाएर स्काभेटरले एकतर्फी ट्रयाक खोलेको थियो । ‘राजमार्गमा सवारीको चाप थेगी नसक्नुको छ, सडक ट्रयाकमात्रै छ, घण्टौंसम्म जाम हुन्छ माथिबाट पहिरो आउँछ कि भनेर त्रासमा हिँड्नु परेको छ’, सचिव पौडेलले भने ।

जिरो किलोदेखि बन्देउसम्म मात्रै होइन, बन्देउबाट सुकुटे, बलेफीलगायतका स्थानमा पहिरोले अवरुद्ध भएको सडकको सबै पहिरो अहिलेसम्म पन्छाएको छैन । पहिरो सडकमै हुँदा साना सवारीसाधानहरु सञ्चालनमा निकै समस्या रहेको चालकहरुले गुनासो गरेका छन् ।

जिरो किलोदेखि दोलालघाटसम्म सयौं ठाउँमा पहिरो गए पनि सडक विभागले पूर्ण रुपमा पन्छाएको छैन । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सासंद माधव सापकोटाले सडक विभागसँग बाटो पूर्ण रुपमा पन्छाउन समन्वय भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर