एयर होस्टेसका माग वायु सेवा निगमले पूरा नगर्ने, आज राति नारिता र दुबईको उडान के हुन्छन् ? – Nepal Press

एयर होस्टेसका माग वायु सेवा निगमले पूरा नगर्ने, आज राति नारिता र दुबईको उडान के हुन्छन् ?

काठमाडौं । आफ्ना माग पूरा नगरेको र अदालतको आदेशविपरित ४५ वर्ष उमेर पुगेका ‘क्याबिन क्रु’हरुलाई अवकाश दिन लागेपछि नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने भएका छन् ।

निगमभित्र अन्याय र विभेद भएको भन्दै केही दिनदेखि कर्मचारीले कार्यालयमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । तर शुक्रवार भएको वार्तामा कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयको हवाला दिँदै अदालतको अन्तरिम आदेश कार्यन्वयन गर्न नसकिने जवाफ दिएका छन् ।

व्यवस्थापन पक्षको सो निर्णयपछि अब आजै राति जापानको नारिता र दुबईको उडान नगर्ने भन्दै क्याबिन क्रुले बिरामी बिदाको निवेदन धमाधम दिएका छन् । यसअघि दिल्ली र मुम्बइको उडान नै रोक्ने भने पनि त्यसबेला वार्ता चलिरहेकाले उडान भएको थियो ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै ४५ वर्ष पुगेका एयर होस्टेस (क्याविन क्रु)लाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो ।

निगमभित्रका १७२ जना क्याविन अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीहरूमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो । कर्मचारीले सर्वाेच्चको फैसलासम्म पर्खिन भन्दा पनि व्यवस्थापन नमानेपछि कठोर आन्दोलन गर्ने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *