एयर होस्टेसको मागको विरोधमा नेवानीका ट्रेड युनियन- उडान प्रभावित भए क्षतिपूर्ति भराउनुपर्ने जिकिर – Nepal Press

एयर होस्टेसको मागको विरोधमा नेवानीका ट्रेड युनियन- उडान प्रभावित भए क्षतिपूर्ति भराउनुपर्ने जिकिर

काठमाडौं । नेपाल वायु निगमका कर्मचारी संगठनहरूले ‘क्याबिन क्रु’ हरूको माग र आन्दोलनको विरोध गरेका छन् । नेवानी कर्मचारी युनियन, नेवानी स्वतन्त्र कर्मचारी युनियन र नेवानी नेराकसंले संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूलाई कारवाही गर्नुपर्ने समेत बताएको छ ।

उडानहरू ढिला तथा रद्ध हुनेगरी कुनै कर्मचारीको समूहले हड्ताल गरेमा निज कर्मचारीबाटै घाटा तथा क्षति असुलउपर गर्ने तथा कारवाहीको दायरामा ल्याउनुपर्ने निगम व्यवस्थापनसमक्ष संयुक्त ट्रेड युनियनले जिकिर गरेका छन् ।

अत्यावश्यक सेवा सञ्चालन ऐन लागू हुने संवेदनशील कार्यालयमा विनासूचना अत्यावश्यक सेवामै प्रभाव पर्ने गरी बन्द हड्ताल गर्ने छुट कसैलाई पनि नरहेको उनीहरूको तर्क छ । ऐन कानून र विनियमावलीविपरीत कुनै प्रकारको सम्झौता नगर्न तथा नगराउन कर्मचारी नेताले व्यवस्थापनलाई चेतावनी दिएका छन् ।

एयर होस्टेसको आन्दोलनलाई लक्षित गर्दै विज्ञप्तिमा केही कर्मचारीहरूको समूहले निगमको उडान नम्बर आरए २१६ काठमाडौं-दिल्ली र आरए २०१ काठमाडौं-मुम्बईको नियमित उडाननै ढिलाइ हुने गरी आफ्नो माग राखेर आन्दोलन गरेको तर्क गरेको छ ।

सर्वोच्च अदालतले केही महिनाअघि कर्मचारीबीच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै ४५ वर्ष पुगेका एयर होस्टेस (क्याविन क्रु) लाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव भएको भन्दै केही दिनदेखि कर्मचारीबीच असन्तुष्टि छाएको थियो ।

निगमभित्रका १७२ जना क्याविन अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्चमा पुगेका थिए । सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकता दिँदै कर्मचारीहरूमाथि विभेद रोक्न, मुद्दा हालेकै कारणले पूर्वाग्रह नराखी काम गर्न अन्तरिम आदेश दिएको थियो । कर्मचारीले सर्वाेच्चको फैसलासम्म पर्खिन भन्दा पनि व्यवस्थापन नमानेपछि कठोर आन्दोलनको तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *