सहकार्य थालेको १०० दिन नपुग्दै ओली सरकारसँग किन असन्तुष्ट सुनिँदैछन् शेखर कोइराला ? – Nepal Press

सहकार्य थालेको १०० दिन नपुग्दै ओली सरकारसँग किन असन्तुष्ट सुनिँदैछन् शेखर कोइराला ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट देखिन थालेका छन् । कांग्रेस-एमाले मिलेर सरकार बनाएको १०० दिन पूरा नहुँदै कोइरालाले सरकारमाथि प्रश्न उठाउन थालेका हुन् ।

ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति भएकाले संस्थापन पक्षका नेताहरु गठबन्धनको विरुद्धमा बोलेका छैनन्, तर कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले सरकारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।

केही समयअघि बसेको केन्द्रीय समितिको बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठबन्धनविरुद्ध बोलेर देउवालाई प्रधानमन्त्री बन्न रोक्न खोजेको भन्दै संस्थापन पक्षका नेताहरुले आपत्ति जनाएका थिए ।

राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले मिल्नुपर्छ भनेर आवाज उठाउनेमध्येका कोइराला सरकारको १०० दिन नपुग्दै आलोचनामा उत्रिएका छन् । माओवादीसँग सहकार्य भएकै बेलादेखि नै कोइराला एमालेसँग मिलेर जानुपर्ने पक्षमा वकालत गर्दै कोशीमा विद्रोह गरेर आफू निकटका केदार कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीसमेत बनाएका थिए ।

राष्ट्रिय विपद्कै बेला चुकेको ओली सरकारले सहमतिअनुसार लय समात्न नसकेको कोइरालाको निष्कर्ष छ । कांग्रेसमा कोइरालामात्रै होइन, इतर पक्षका अधिकांश नेताहरु सन्तुष्ट छैनन् ।

बाढीपहिरोको विपद्को बेलामा प्रधानमन्त्री अमेरिका भ्रमणमा हुँदा पनि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले कुनै ठोस काम गर्न नसकेको भन्दै कांग्रेसभित्रबाटै पनि आलोचना भइरहेको छ ।

त्यसो त ओली बाहिर भएको बेलामा राष्ट्रिय विपद्को बेलामा कार्यबाहक प्रधानमन्त्री रहेका सिंहले मन्त्रिपरिषद्को बैठक समेत राख्न सकेनन्।

तर देउवासहित संस्थापन पक्षका शीर्ष नेताहरु सरकारको बचाउमा भएपछि इतर पक्षका सांसदहरु खुलेर विरोधमा उत्रिएका छन् । विपद् व्यवस्थापनमा सरकार चुकिरहेको बेलामा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले झन् कांग्रेसभित्र असन्तुष्टि बढाउन मलजल गरेको बताइन्छ ।

राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि एमालेसँग मिलेको भए पनि सात बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको नेता कोइरालाको बुझाइ छ । एमालेसँग अहिले सहकार्य भए पनि मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्न नहुने उनको तर्क छ ।

गत शनिबार कांग्रेस लमजुङ-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार छ । हामीहरू सरकारमा पनि छौं, प्रतिस्पर्धी पनि हौं । कति अप्ठेरो होला, तपाईंहरूले बुझ्नुस् । आज सहकार्यमा छौं, भोलि प्रतिस्पर्धा पनि गर्नु छ । के कुरामा सहकार्य गर्ने, के कुरामा प्रतिस्पर्धा गर्ने ? यो महत्त्वपूर्ण कुरा भएको छ । सरकारको १०० दिन नपुगी धेरै टीकाटिप्पणी गर्न मिल्दैन होला सायद ।’

पार्टी सरकारमा भए पनि गरेको कामको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भएकाले आफूले बोल्न थालेको उनले बताए ।

उनले थपे, ‘मैले अलिअलि बोल्न थालेको छु । कहीँ कमजोरी भइरहेको लागेकाले भनिरहेका छौं पनि । यसलाई कांग्रेसका मन्त्रीहरुले अन्यथा लिइदिनु भएन । हामी एउटै पार्टीका हौं । कांग्रेसमात्रै होइन, सरकार पनि राम्ररी अगाडि बढोस् भन्ने पक्षमा छौं । यो सरकार राजनीतिक स्थायित्वको लागि एमालेसँग हात मिलायौं, तर सात बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको छ ।’

एमालेसँग मिलेपछि कोइरालाको छटपटी बढ्दै जानुमा कांग्रेसको १५ महाधिवेशन पनि कारक बनेको छ । गत महाधिवेशनमा सभापतिमा पराजित कोइराला आगामी महाधिवेशनको तयारीमा जुटिसकेका छन् । तर इतर पक्षबाटै महामन्त्री गगन थापाले पनि आफ्नै तयारी गरेपछि कोइराला दबाबमा छन् ।

विधानअनुसार तोकेकै समयमा महाधिवेशन गर्दा २०८२ मंसिरभित्र कांग्रेसको १५औं महाधिवेशन भइसक्नु पर्नेछ, तर देउवाले समयमा महाधिवेशन गराउनेमा शेखरलाई शंका छ । ओली २०८३ असार मसान्तपछि देउवा प्रधानमन्त्री बन्ने भएकाले आफू नेतृत्वमा नआए पनि उनकै आशीर्वाद पाउनेले जित्ने भएकाले तोकिएकै समयमा महाधिवेशन गराउनुपर्ने पक्षमा कोइराला छन् ।

१४औं महाधिवेशनमा पनि देउवा प्रधानमन्त्री नभएको भए आफूले सभापति जित्ने कोइरालाको विश्लेषण छ, तर अहिले दुई तिहाइको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेपछि कोइरालाले चिन्ता व्यक्त गरेको केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए ।

उनले भने, ‘एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भनेर शेखर दाइ धेरै लाग्नुभयो । सात बुँदे सहमति गरेर अघि बढ्ने भनेर अहिले सरकार गठन भएको छ । तर सरकारको भूमिका कतै देखिएको छैन । भएको सहमतिअनुसार सरकार चल्न नसकेपछि केही चिन्ता व्यक्त गर्नुभएको हो ।’

शेखर निकट अर्को एक नेताले ओली सरकार आएपछि भ्रष्टाचार प्रकरण बन्द भएको जस्तै देखिएको आरोप लगाए ।

ती नेताले भने, ‘सुशासनको कुरा ठूला भए पनि अहिले केही सुनिएको छैन । सहकारीको ८७ अर्ब अपचलन भएको छ, सरकार अहिले रविको पछाडि मात्रै केन्द्रित छ । समस्या समाधानमा चासो देखिएको छैन । जुन अपेक्षा राखेर शेखर दाइले पहल गर्नुभएको थियो, अहिले यत्रो समय भइसकेको सरकार गठन भएको कुनै उपस्थिति नै देखिएको छैन ।’

दुई ठूला दल मिलेर सरकार बनेपछि जनता राखेको अपेक्षा अलिकति पनि पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्षमा पुगेको ती नेताले बताए ।

ती नेताले भने, ‘यसरी चल्दैन । नत्रभन्ने नयाँ ढंगले जानुपर्ने हुनसक्छ भन्ने ढंगले सरकारलाई खबरदारीसहित चेतावनी दिन थाल्नुभएको हो, तर तत्काल अहिले यो विषयमा विकल्प खोज्ने पक्षमा होइन ।’

गठबन्धनको विकल्पमा नरहे पनि संविधान संशोधनको लागि सबै दलहरुबीच सहमति गर्नुपर्छ भनेर संवादमा रहेको ती नेताले खुलाए ।

‘उहाँ सबैसँग संवादमा हुनुहुन्छ । अलि पहिला प्रचण्ड निवास खुमलटार पनि जानुभएको थियो, तर अहिले यो गठबन्धनको विकल्प सोच्नेबेला छैन भन्नेमा हुनुहुन्छ’, कोइराला निकट ती नेताले सुनाए, ‘पार्टी सरकारमा भए पनि सत्ता बाहिर भएकाहरुले सरकारलाई खबरदारी गर्न गर्न सक्नुपर्छ । अरुले एमालेसँग मिल्ने असम्भव भनिराख्दा कोशीबाट उहाँले नै सुरु गर्नुभएकाले उहाँलाई दबाब पनि छ ।’

कोइराला निकट रहेका कांग्रेस सांसद सञ्जय गौतम पनि दुई तिहाइको सरकारले अपेक्षाअनुसार गति दिन नसकेको बताउँछन् ।

उनी भन्छन्, ‘दुई तिहाइ शक्ति भएको सरकारले जुन ढंगले काम गर्नुपर्नेथ्यो, त्यो हुन सकेको छैन । शेखर दाइको मात्रै भन्दा पनि हामीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भनेका हौं । अब माओवादीलाई पनि बाहिर राखेर संविधान संशोधन गर्ने भनिएको छ, त्यो सम्भव छैन । यो सरकार प्रभावकारी ढंगले आउनुपर्ने हो, त्यो आउन नसकेपछि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ ।’

अहिलेको समस्याको समाधान गर्न राष्ट्रिय सहमतिको सरकारमा जानुपर्ने उनको भनाइ छ।

उनले थपे, ‘सरकार प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । उहाँको असहमतिभन्दा पनि चिन्ता हो । यो विषय उहाँले नै उठाउनुभएको हो । अहिलेको अवस्थामा मुलुकलाई गति दिन राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्ने हो, तर पार्टीमा यो विषयमा औपचारिक ढंगले छलफल भएको छैन ।’

अहिलेको गठबन्धन असफल भयो भने देश अप्ठेरोमा पर्नसक्ने भएकाले राष्ट्रिय सहमतिमा जानुपर्छ भन्ने संकेत गरेको हुनसक्ने उनको बुझाइ छ । राष्ट्रिय सहमति नभइ संविधान संशोधन हुन नसक्ने भएकाले सबैलाई मिलाएर जानुपर्ने उनको भनाइ छ ।

तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले पार्टी अध्यक्ष नेतृत्वको सरकार नै राष्ट्रिय सहमति भएको तर्क गर्छन् ।

उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने भनेको दुई तिहाइको सरकार हो । त्यो त अहिले छँदैछ नि ।’

उनले सरकारमा सहभागी दलका हरेक कार्यकर्ताले पनि पार्टी नेतृत्वको सरकार प्रभावकारी र परिणामुखी होस् भन्ने चाहना राख्ने भएकाले कांग्रेस नेता कोइरालाको चिन्तालाई स्वाभाविक भएको बताए ।

उनले भने, ‘अहिले सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन । उसले १०० दिन चाहिँ पाउनैपर्छ । सरकारले पनि त्यसबेलामा आफ्नो मूल्यांकन गर्छ र विषय त्यही ढंगबाट अघि बढ्छ । पार्टीहरुले आफ्नो धारणा बनाउँछन्, तर अहिले नै सरकारको प्रभावकारी र रिजल्टको विषयमा अहिले चिन्ता व्यक्त गरेका छैन ।’

कांग्रेसको औपचारिक निर्णयमात्रै आधिकारिक हुने भएकाले नेताहरुको अभिव्यक्तिप्रति जानु नपर्ने उनको बुझाइ छ ।

उनले थपे, ‘शेखर कोइरालाले राखेको असन्तुष्टिको आवाज निजी हो, उहाँको पार्टीको होइन । पार्टीको बैठक त बसिरहेकै छन् । पार्टीको औपचारिक धारणा जे आउँछ, हामीले त्यही मान्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *