लुम्बिनीका प्रदेश गौरवका आयोजना जवाफदेही र पारदर्शी बनाउन जाेड – Nepal Press

लुम्बिनीका प्रदेश गौरवका आयोजना जवाफदेही र पारदर्शी बनाउन जाेड

रुपन्देही । प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्माणका विषयमा यहाँको अस्पताल प्रशासन, विकास समिति तथा अन्य सरोकारवाला पक्षलाई नराखेको विषयमा प्रश्न उठेको छ ।

आयोजनाले शुक्रबार सरोकारवाला निकायहरुबीच गरेको छलफल कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले आफ्नो हाताभित्र रहेको यति ठूलो आयोजनाका विषयमा यहाँको कुनै पनि व्यक्रि, संस्था नसमेटिएकाले यसको जवाफदेहिताका लागि समस्या भएकोले सम्बन्धित पक्षले ध्यान दिन आग्रह गरे ।

‘म यहाँको अध्यक्ष हुँ, यसमा समस्या आएका, प्रगति भएका, थपिएका योजनाबारे हामीलाई केही जानकारी हुँदैन, पत्रकारले यहाँका अग्रजहरुले सोध्दा के जवाफ दिने ?’, उनले भने, ‘व्यक्ति को रह्यो फरक कुरा हो, तर संस्थागतरुपमा समितिलाई, कुनै पदीय कर्मचारीलाई त्यसमा समेट्नुपर्‍याे, समस्या आउँदा समन्वय गर्न पनि सजिलो हुन्छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता गरे । बुटवलका विभिन्न व्यवसायिक संघसंस्था तथा अस्पतालका विभागीय प्रमुखहरु बीच भएको अन्तरक्रियामा नयाँ बन्ने अस्पतालको भवनमो संरचना तथा इन्टेरियरका बारेमा विस्तृत विवरणसहित छलफल गरिएको थियो ।

पोख्रेलले स्थनीय जनताको सहयोग र साथबिना कुनै पनि योजना सफल नहुने बताउँदै सबैको सहकार्यमा जोड दिए । लुम्बिनी प्रदेश सरकारले अघि सारेका गौरव आयोजनाहरु मध्ये सबैभन्दा प्राथमिकता दिएर लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि बजेट विनियोजन गरेको उनले उल्लेख गरे ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले यहाँका जनतलाई पनि अपनत्व महशुस हुनेगरी योजना निर्माणको कामलाई अघि बढाउन प्राधिकरणलाई आग्रह गरे । सम्पूर्ण निर्माणको काम प्राधिकरण मातहत रहने पनि यस विषयमा उठेका विभिन्न प्रश्नहरुको जवाफ अस्पताल बिकास समितिले दिनुपरेको गुनासो गर्दै उनले समितिका प्राप्त गर्नुपर्ने भूमिकाबारे पनि प्राधिकणलाई स्पष्ट पार्न आग्रह गरे ।

आमनागरिक, राजनीतिक दल, सञ्चारकर्मीलगायतले अस्पतालको भवन निर्माणको विषयमा विभिन्न जिज्ञासाहरु आफूलाई राख्ने तर प्राधिकरणले विकास समिति तथा अस्पताल प्रशासनलाई कुनै पनि भूमिका नदिने र समन्वय नहुने गरेको उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले गुणस्तरमा जोड दिँदै सबैको निगरानी, समन्वय र सहकार्यबाट मात्रै योजना सम्पन्न हुने उल्लेख गरे ।

कार्यक्रममा कन्सल्टेन्ट कम्पनी काठमाडौं युनिभर्सिटी सेन्टरका इ. समीर पन्तले नयाँ बन्ने भवनबारे जानकारी गराएका थिए । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।

लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।

भवन निर्माणका लागि जग खन्न कूल ७३९ मध्ये ५७९ वटा पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । वरिपरिका संरचनामा क्षति हुनबाट रोक्न १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको हो ।

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपीडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ ।

नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिनेछ । हालको संरचनाबाट विस्तार गरि एक हजार २०० शय्यामा बहु–अनुसन्धानात्मक अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको छ ।

यसै क्रममा पहिलो चरणमा दुई नयाँ भावनाहरु निर्माण गर्न थालिएको छ । जसअन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको ७०० शय्या क्षमताको १० तले मुख्य भवन, दोस्रो १ तहको बेसमेन्ट र ४ तले १०० शय्या क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *