भैरहवामा सडक खाना महोत्सवको रौनक, रैथाने खानालाई ब्राण्डिङ्ग गर्न मुख्यमन्त्रीको सुझाव – Nepal Press

भैरहवामा सडक खाना महोत्सवको रौनक, रैथाने खानालाई ब्राण्डिङ्ग गर्न मुख्यमन्त्रीको सुझाव

रुपन्देही । रुपन्देहीको भैरहवामा सडक खाना महोत्सव सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा सडक खाना महोत्सव आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसको सन्दर्भ पारेर सिद्धार्थ होटल एशोसियसनको आयोजनामा सडक खाना महोत्सव २०८१ भएको छ । पर्यटन प्रवर्द्धन गर्न हरेक वर्ष भैरहवामा सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।

नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।

भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघसंस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।

महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस्ता कार्यक्रमले सहज बनाउने बताए । पर्यटकलाई रैथाने खानाको स्वाद चखाउन महोत्सव सफल हुने, रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने र यसले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा आउन आकर्षित गर्ने विश्वास मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।

महोत्सवमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलगायत पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *