देशभरमा १४ हजारभन्दा बढी डेंगुका बिरामी, उपत्यकामा मात्रै २ हजार बढी  – Nepal Press

देशभरमा १४ हजारभन्दा बढी डेंगुका बिरामी, उपत्यकामा मात्रै २ हजार बढी 

काठमाडौं । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

उपत्यकामा दुई हजारभन्दा बढी

उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गु सङ्क्रमण  देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *