यी ५ गीत, जो दशैंमा अत्यधिक गुञ्जिन्छन् – Nepal Press

यी ५ गीत, जो दशैंमा अत्यधिक गुञ्जिन्छन्

काठमाडौं । हिन्दूहरुको महान चाड दशैं सुरु भइसक्यो । दशैं पर्वमात्रै नभएर पुनर्मिलनको पर्व पनि हो । देश-विदेशमा रहेका आफन्तहरु वर्षदिनपछि छुट्टी मिलाएर घर फर्कने पर्व हो दशैं । घरपरिवार, आफन्त, छरछिमेक, इष्टमित्रहरुसित भेला भएर खुसी बाँडिन्छ । अग्रजहरुबाट आशीर्वाद लिइन्छ ।

दशैंसँग जोडिएको चर्चित धार्मिक कथा भने भगवान रामचन्द्रसँग जोडिन्छ । रावणले सीतालाई हरण गरेर लगेपछि रामचन्द्रले नौ दिनसम्म दुर्गा भगवतीको पूजा गरेर दशौं दिन टीका लगाएर रावणसँग लड्न गए । रावणविरुद्धको युद्ध जिते पनि । यही खुसीयालीमा दशैं मनाउन थालियो ।

धार्मिक, सांस्कृतिक विश्वास जे भए पनि दशैं सबै नेपालीलाई एक ठाउँमा जोड्ने पर्व हो । यो पर्वलाई लिएर थुप्रो गीतहरु बनेका छन् । योगेश्वर अमात्यदेखि विष्णु माझीसम्मले दशैं गीत गएका छन् । उदित नारायण झादेखि सुगम पोखरेलसम्मले दशैं गीत गाएका छन् । यही सिलसिलामा दर्शक/स्रोताले अत्यधिक मन पराएका पाँच दशैं गीतः

नमुछे आमा दहीमा टीका

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर

लक्ष्मण रायमाझीले लेखेको यो गीत २०४६ सालमा रेकर्डिङ भएको थियो । गीत रेकर्ड भएको दुई वर्षमै लक्ष्मण नशासम्बन्धी रोगले बिते । लक्ष्मणका भाइ नारायण रायमाझीले यो गीतको संगीत तयार पारेका थिए । यो गीतमा स्वर भरेका थिए कृष्णभक्त राईले । गीतमा लगानी भने नारायण रायमाझी स्वयंको थियो ।

यो गीतले दुई दशकअघिको नेपाली समाजको कथा भन्छ । दशैंमा घर आउन नपाएको भारतीय सिपाहीको वेदनामा बनेको यो गीतले विशेष गरेर परदेशमा रहेकाहरुलाई छुन्छ । अहिले पनि लाखौं युवा रोजगारीको सिलसिलामा विदेशमा छन् । उनीहरुको बाध्यता यो गीतले भने जस्तै नै छ । त्यसैले यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक छ । तीन वर्ष अगाडि नारायण रायमाझीको च्यानलमा हालिएको यो गीतलाई अहिलेसम्म ५२ लाखले हेरिसकेका छन् ।

दशैं आयो

चरिररि चरिररि रै..
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो
नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
हो… दशैं आयो, हो… दशैं आयो
कोदो फुल्यो बारीमा लरि लै धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छ्यौ बरि लै जमरा र रातो टीकैमा

अहिले सबैको जिब्रोमा झुण्डिएको गीत हो ‘दशैं आयो’ । गाउँघरतिर यही गीत बजिरहेको हुन्छ । यही गीतमा गाउँलेहरु झुमिरहेका हुन्छन् । दशैंलाई हर्षोल्लासका साथ मनाउनेहरु सबैले यो गीत गाएकै हुन्छन्, यो गीतमा नाचेकै हुन्छन् ।

शिव रेग्मी निर्देशित ‘मुगलान’ फिल्मको यो गीतको संगीतकार हुन् सुरेश अधिकारी । गीतको शब्द लोकनाथ सापकोटाको छ । गीतमा उदितनारायण झा, दीपा झा, जुना प्रसाईं र नारायण लामाको स्वर छ । २०६१ सालमा सार्वजनिक भएको यो गीत अहिले पनि उत्तिकै रमाइलो र मनोरञ्जनात्मक छ । अहिलेसम्म यो गीतलाई दुई करोड ४० लाख पटक हेरिएको छ ।

दशैंतिहार

वर्षमा दिनमा लै लै
हर्षका दिन लै लै
दशैंतिहार चाड र वाड
खुसीले सारा भर्‍यो नि संसार

दशैंतिहारको बेला बजिरहने अर्काे गीत को ‘दशैंतिहार’ । यो गीतले पनि परदेशमा रोकिनु परेकाहरुको कथा भन्छ । दशैंतिहारको सम्झना आएको, आफू अर्काको देशमा श्रम गरिरहेको दुःखेसो पोखिएको छ गीतमा । घरपरिवारबाट बिछोडिएर वियोगमा बाँच्न विवशहरुकोे कथालाई लयात्मक तरिकाले गीतमा उनिएको छ ।

रवि श्रेष्ठको शब्द रहेको यो गीतको संगीत सुगम पोखरेलको छ । स्वर पनि पोखरेलकै रहेको छ । यो गीतलाई अहिलेसम्म तीन करोड ४० लाख पटक हेरिएको छ ।

दशैं नै हो कि यो मेरो दशा

 

दशैं नै हो कि यो मेरो दशा फर्की आएको
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको
दशैं आएको

मध्यम वर्गीय परिवारमा दशैं जस्तो ठूलो पर्वले ल्याउने आर्थिक बोझको पीडामाथि यो गीत तयार गरिएको छ । दशैं सबैका लागि उल्लासमय हुँदैन । आर्थिक अवस्था कमजोर हुनेहरुका लागि दशैं दशा हो, यसले ‘गरिबको टाउको खान्छ’ भन्ने भाव यो गीतमा समेटिएको छ ।

२०६१/६२ सालतिर रेकर्ड गरिएको यो लोक रक गीतको गायक योगेश्वर अमात्य हुन् । संगीत न्ह्यु बज्राचार्यको रहेको छ भने शब्द प्रेम बस्नेतको हो । गीतकार बस्नेत २०३३ सालको पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का निर्देशक पनि हुन् ।

दशैंतिहार आइसक्यो

हिउँदो गयो, बर्खा गयो बितिजाला बैस
चाहिँदैन भो सुनचाँदी चाहिँदैन भो पैसो
आऊ है गाँवैमा
ए परदेशी आऊ है गाँवैमा
दशैंतिहार आइसक्यो झल्को लाइसक्यो

यो गीतले विदेशमा गएका परदेशीलाई पैसा, धनदौलत चाहिँदैन, बरु देश नै फिर भनेर आह्वान गर्छ । गाउँमा दशैंतिहार आइसकेको, तर आफ्नो मान्छे परदेशमै रहेकाले घर आउन अनुरोध गरेको छ गीतले ।

यो गीतमा विष्णु माझीले स्वर दिएकी छन् भने शब्द संगीत सुन्दरमणि अधिकारीको रहेको छ । अहिलेसम्म यो गीतलाई एक करोड ४१ लाखभन्दा बढी पटक हेरिएको छ ।

यी गीतहरुका साथै अरु पनि थुप्रै दशैं गीतलाई दर्शकस्रोताले मन पराएका छन् । दुई साता अगाडि सार्वजनिक हेमन्त शर्माको ‘दशैं आउँथ्यो’ अहिले युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । त्यस्तै सुनिल गिरीको ‘दशैंतिहार आयो’, राजेशपायल राई र मेलिना राईको ‘दशैं रमाइलो’ लगायत गीतलाई पनि दर्शकस्रोताले रुचाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *