दुई दशकदेखि परिवारसँग सम्पर्कविहीन राजेश न्यौपाने, न नागरिकता न त घरठेगानाको टुंगो – Nepal Press

दुई दशकदेखि परिवारसँग सम्पर्कविहीन राजेश न्यौपाने, न नागरिकता न त घरठेगानाको टुंगो

‘प्रकाश तामाङको परिवार भेटिएपछि मेरो पनि भेटिएला कि ?’

रुपन्देही । भोजपुरका प्रकाश तामाङ वर्षौंपछि आफ्नो घर भेटिएर गाउँ फर्केर आमाबुबासँग बसेको (हेर्ने कथा) मार्फत देखेपछि पाल्पाको रिब्दीकोट गाउँपालिका- ३ खस्यौलीमा दुई दशकभन्दा बढी समयदेखि बेवारिसे अवस्थामा बसेका राजेश न्यौपानेलाई आफ्नो पनि परिवारसँग मिलन हुने आशा पलाएको छ ।

शारीरिक रुपमा स्वस्थ रहेका उनलाई कसरी यहाँ आइयो र घर कहाँ हो भन्ने कुनै हेक्का छैन, तर स्थानीय रायमाझी परिवारको संरक्षणमा उनीहरुकै घरमा काम गरेर उनले दैनिक हातमुख जोरेका छन् । प्रकाश तामाङको कथा हेरेपछि आफ्नो पनि आमाबुबा, दाजुभाइ, दिदीबहिनी, आफन्त, नातागोतासँग भेट्ने आशा पलाएको उनले स्थानीयलाई सुनाएका छन् ।

‘जन्म घर कहॉ हो ? याद नै छैन’, उनले सुनाए, ‘खै कसरी यहाँ आइयो, केही थाहा छैन । यही काम गरेर बसिरहेको छु ।’

अहिले उनले रायमाझी परिवारलाई रिझाएर स्मार्ट फोन राखेका छन् । फेसबुक पनि चलाउन थालेका छन्, तर आफूलाई जन्म दिने आमाबुवा अनि परिवार कहाँ र कता हो भन्ने केही थाहा छैन ।

उनले हरेक व्यक्तिले नाम सोध्दा राजेश न्यौपाने बताउने गरेका छन् । त्यही नामबाट परिचित पनि । रायमाझी परिवारका अनुसार २०६१/६२ सालतिर ६-७ वर्षको बच्चा अलपत्र परेको अवस्थामा छिमेकीले उनीहरुको घरमा ल्याएर छाडेको र त्यसपछि निरन्तर त्यही बस्दै आएका हुन् ।

राजेशलाई त्यो बेला संरक्षण गरेर राख्ने मूली मान्छे धनवीर रायमाझीको मृत्यु भइसकेको छ । धनवीर र उनकी आमाले छिमेकीले अलपत्र अवस्थामा ल्याएको बच्चालाई स्याहार गरेर राखेका थिए । त्यसो त धनवीरका सन्तान नभएर भने होइन । उनका ६ जना छोराछोरी छन् । राजेश थपिएपछि ७ जना भए भन्दै धनवीरले उनका कोही आफन्त आए दिने नभए घरमै पालेर राख्ने भन्दै प्रहरीलाई पनि खबर गरेका थिए ।

अहिले धनवीरका एक छोरा गोपाल रायमाझी र बुहारी रुपा रायमाझी स्थानीय विद्यालय शिक्षक छन् । गोपालका अनुसार त्यो बेला घरमा पुगेपछि कति दिनदेखि नखाएको मलिनो अनुहार थियो, ठेगाना सोध्दा घरठाउँ बिर्सिएको देखेपछि बुवा र हजुरआमाले टिठ लागेर आफ्नो घरमा शरण दिएर राखिएको र अहिलेसम्म बसेका हुन् ।

उनका अनुसार स्थानीयले ट्याक्टरमा चढेर आएको र बाटोमा झरेको भनेकाले धेरै टाढाका हैनन् भनेका थिए, तर अहिलेसम्म उनको खोजी गरेर कोही पनि रायमाझी परिवारमा आएका छैनन् ।

रिब्दीकोट गाउँपालिका- ३ मा रहेको सरस्वती माविमा अध्यापन गराउने शिक्षक गोपालजंग रायमाझी र रुपा रायमाझीको घरमा अन्दाजी ३० वर्षीय यी व्यक्ति बसेको २० वर्षभन्दा बढी भइसकेको छ । शारीरिक रुपमा तन्दुरुस्त रहेका ती युवकले राजेश न्यौपाने नाम भएको बताए पनि उनी सानैमा भेटिएकाले उनको वास्तविक नाम, ठेगाना र परिवार कहीँ केही पत्तो लागेको छैन ।

स्थानीयका अनुसार उनी वयस्क भए पनि नागरिकता पाउन सकेका छैनन् । उनले सामान्य लेखपढ गरे पनि माथिल्लो कक्षामा पढ्न पाएका छैनन् । गोपालजंगका अनुसार बुवा हुँदै राजेशलाई पढ्न विद्यालय पनि पठाइएको हो, तर उमेर धेरै भएको र सानो कक्षामा राख्दा उनले पढ्ने रहर पनि धेरै नदेखाएकाले पछि पठाइएन ।

‘म त सानैदेखि बाहिर बसेको हुँ, बुवा र हजुरआमा हुँदै छिमेकीले घरमा लगेर छाडेका रहेछन्, २० वर्ष पुगे जस्तो लाग्छ, समय ठ्याक्कै थाहा भएन, दिसापिसाब नि बिस्तरामै गर्दै थिए, तर हजुरआमाले सुसार गरेर राख्नुभयो’, उनले भने, ‘सबैतिर जानकारी गराइयो, प्रहरीलाई पनि थाहा छ, जनप्रतिनिधिलाई नि थाहा छ, तर कतै सम्पर्क भएन उनको परिवारसँग, पढाउन खोजियो तर मेसो मिलेन, अहिले पनि गाउँमै आमासँग बस्छन्, सकेको सबै काम गर्छन् ।’

उनका अनुसार अलपत्र परेको बच्चालाई कतै जा भनेर पठाउन नसकेर राखिएको हो, तर नागरिकता बनाउन नपाएर समस्या भएको छ ।

‘नागरिकता बनाइदिन पाए केही जग्गा पनि पास गरेर दिन हुने थियो, धेरै पटक पहल गरियो । उसलाई न्याय दिलाउन नागरिकता पहिलो शर्त भयो, अनि बिहेवारी नि गरिदिन हुने थियो, हाम्रो परिवारको सदस्य बनेर बसेका छन्, हामीले उसलाई जग्गा दिएर घरमा राख्न केही समस्या छैन’, रायमाझीले भने ।

रिब्दिकोट- ३ का पूर्ववडाध्यक्ष तथा खस्यौली गाविसका पूर्वअध्यक्ष विष्णुप्रसाद खनालका अनुसार उनी ७-८ वर्ष उमेरमा कसैको ट्याक्टर वा ट्रकमा चढेर त्यहॉ झरेर अपलत्र परेको र रायमाझीको परिवारमा पुगेका हुन् ।

‘मलाई यो विषयमा सबै थाहा छ, अब रायमाझी परिवारले उनको परिवार नभेटिएपछि सबै जिम्मेवारी लिएरै राखेको अवस्था हो, नागरिकताका लागि म जनप्रतिनिधि हुँदा पहल गरियो, तर यसरी दिन कानूनले मिल्दैन भन्ने भयो, धर्मछोराका हिसाबले दिउँ भनेर धनवीर बुवाले भन्नुभएको हो, तर कानूनले नमिलेपछि के गरौं, अब नयाँ कानून आएपछि दिऔंला भनेर रोकिएको हो’, उनले भने ।

राजेशलाई पनि प्रकाशलाई जस्तै न्याय चाहियो भनेर अहिले सामाजिक सञ्जालमा आवाज उठिरहेको छ, तर उनको परिवार नभेटिएसम्म नागरिकता कसरी दिलाउने भन्नेमा रायमाझी परिवार र जनप्रतिनिधि अन्योलमा छन् । कुनै विधिले नागरिकता दिलाउन सके अहिले राजेशले काम गर्दै आएको जग्गा उसको नाममा दिन तयार रहेको शिक्षक गोपालजंगले नेपाल प्रेसलाई बताए ।

सो गाउँपालिका- ३ का वडाध्यक्ष नारायण केसीले जिल्लासँग समन्वय गरेर न्याय दिने बताए ।

‘राजेश सानैदेखि रायमाझी परिवारमा बसेको विषय सत्य हो, उनले नागरिकता दिन वडामा अनुरोध गरेका थिए, नामथर वास्तविकता थाहा नपाएकाले कसरी दिने अन्योल छ, जिल्लासँग समन्वय गरेर अगाडि बढ्छु’, उनले भने ।

पालिका अध्यक्ष नारायण कार्कीले भने कोही व्यक्ति अन्यायमा पर्न नहुने तर यो विषय वडासँग बुझेर अघि बढ्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “दुई दशकदेखि परिवारसँग सम्पर्कविहीन राजेश न्यौपाने, न नागरिकता न त घरठेगानाको टुंगो

Leave a Reply

Your email address will not be published. Required fields are marked *