जग्गा खोज्नमै तीन दशक बिताएको दिपायल सिलगढी नगरपालिकामा बन्ने भयाे बसपार्क – Nepal Press

जग्गा खोज्नमै तीन दशक बिताएको दिपायल सिलगढी नगरपालिकामा बन्ने भयाे बसपार्क

डोटी । जग्गा खोज्नमै तीन दशक बिताएको दिपायल सिलगढी नगरपालिकाले अब भने बसपार्कको निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

नगर विकास कोषको प्राविधिक सहयोगमा बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरी बसपार्क निर्माणका लागि कोषबाटै ऋण लिने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ ।

बसपार्क निर्माणका लागि नगरपालिकाले गत असारमा प्रति आना एक लाख रुपैयाँका दरले ३२ रोपनी नौ आना जमिन खरिद गरिसकेको छ । दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती किनारमा खरीद गरिएको जग्गा नगरपालिकाको स्वामित्वमा समेत आइसकेको छ ।

बसपार्क निर्माणका लागि नगरपालिकाले तीन दशकअघि देखिनै पहल चालेको थियो । २०५२ सालमा बसपार्क निर्माण गर्ने भन्दै नगरपालिकाले दिपायल सिलगढी नगरपालिका–२ (प्रदेश प्रहरी तालिम केन्द्र नजिक) ५ रोपनी, १३ आना ४ पैसा ३ दाम जमिन खरीद गरेको थियो । स्थानीय बासीबाट प्रति रोपनी ३८ हजार रुपैयाँमा जमिन खरीद गरिएको नगरपालिकाले जनाएको छ ।

‘बसपार्क निर्माण गर्ने भन्दै जमिनमा घेरवार गर्ने काम समेत भएको थियो, तर जग्गा थोरै भएकोले बसपार्क साँधुरो हुने भन्दै रोकियो’ नगरपालिकाका एक कर्मचारी बताउँछन् । त्यतिवेला यातायात व्यवसायीहरुले पनि अपायक पर्ने र प्रहरीको नजिक भएको भन्दै बिरोध गरेको उनी सम्झिन्छन् ।

बसपार्कका लागि खरीद गरिएको जग्गामा बसपार्क नहुने भएपछि २०६० सालमा नगरपालिकाले वडा नं। ४ को पिपल्ला बजारमा तीन रोपती जग्गा लिजमा लिएर बसपार्क निर्माण गर्‍यो । राजाको प्रत्येक्ष शासनकालमा नगर प्रमुख भएका स्वर्गीय हिक्मत शाहीको जग्गा २५ वर्षका लागि लिजमा लिई बसपार्क निर्माण गरिएको नगरपालिकाका स्टोरकिपर तेजराज भट्ट बताउँछन् । उक्त जग्गामा नगरपालिकाले यात्रु प्रतिक्षालय, टिकट काउण्टर, शौचालय र ग्रावेल गरेको थियो ।

भट्टका अनुसार जग्गा लिजको सम्झौता हुँदा बसपार्कबाट उठेको रकमको नगरपालिका र जग्गाधनीले आधा आधा लिने भनिएको थियो । हाल जग्गाधनी आफैले पार्किङ्ग शुल्क उठाउँछन् । उनले नगरपालिकालाई बार्षिक तीन लाख ६३ हजार दिने गरेको भट्टले जानकारी दिए ।

बसपार्क बनाउनका लागि नगरपालिकाले उर्वरक जमिन अधिग्रहण गरी लामो समयसम्म उपयोगबिहिन बनाएकोले छिटो बसपार्क बनाइ पाउन परामादेश माग गर्दै स्थानीयबासीहरुले २०७० साल भाद्र ९ गते साविकको दिपायल पुनरावेदन अदालतमा रिट निवेदन दर्ता गरेका थिए । अदालतले बसपार्क नबनाउने कार्यले रिट निवेदकहरुको अधिकार हनन् नभएको भन्दै रिट खारेज गरेको देखिन्छ ।

हाल उक्त जग्गामा नगरपालिकाले नगर अस्पताल निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सूचीकार बताउँछन् ।पिपल्ला बजारमै बसपार्क भएपनि यातायातका साधनहरु भने सडकमै रोकिन्छ । बसपार्क व्यवस्थित गर्ने बिषयमा न त नगरपालिकाले कुनै ठोस योजना वनाएको देखिन्छ न त स्थानीय प्रशासन जिम्मेवार देखिएको छ । सवारी चालकहरुले मनोमानी ढङ्गले सडकको दुवैतिर पार्किङ्ग गरिदिँदा सडक दुर्घटनाको जोखिम बढेको छ ।

त्यसपछि पनि नगरपालिकाले व्यवस्थित बसपार्क बनाउन पहल नगरेको भने होइन । २०७८ सालमा हाल बसपार्क बन्ने भनिएकै स्थानमा नयाँ बसपार्क वनाउने बिषयमा छलफल अघि बढेको थियो । तर त्यतिवेला स्थानीयको विरोधका कारण काम अघि बढ्न सकेन ।

नयाँ बसपार्क खोज्ने क्रममा नगरपालिका राजपुर पुग्यो । ‘नगर विकास समितिको जमिनमा राजपुरमा बसपार्क बनाउने सम्भाव्यताको पनि अध्ययन भएको हो’ दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकार भन्छन् ‘तर नगर विकास कोषको प्राविधिक टोलीले यही ठाउँ (अहिले बसपार्क बनाउने भनिएको) नै उपयुक्त भएको प्रतिवेदन दिएपछि यसैलाई अघि बढाइयो ।

सिलगढीमा पनि उस्तै हालत

जिल्ला सदरमुकाम सिलगढी बजारमा पनि नगर–पालिकाले बसपार्क वनाउनका लागि २०५३ सालमै ५ रोपनी ८ आना जमिन लियो । २०५५ सालदेखि सिलगढी कारागार नजिक बसपार्क सञ्चालनमा ल्याइयो । ०५९/०६० मा आफ्नै जमिनमा बसपार्क निर्माण गरी सञ्चालनमा थियो ।

तर अचेल भने उक्त बसपार्क प्रयोगहिन भएको छ भने यातायातका साधनहरु जिल्ला प्रहरी कार्यालय नजिकै सडकमा दुवैतर्फ लहरै पार्किङ्ग गरिएका हुन्छन् । यसरी पार्किङ्ग हुने यातायातका साधनहरुमा नगरपालिकाले सञ्चालन गरेका बसहरु समेत देखिन्छन् ।

निर्माण भएको करीव १२ वर्षसम्म राम्रोसँग सञ्चालनमा आएको बसपार्क फेरि सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै गत वर्ष स्थानीयबासीले आन्दोलन समेत गरेका थिए । तर, सो आन्दोलनको पनि कुनै सुनुवाई भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर