माओवादीको जिकिर- ओली सरकार असफल भएको हामीले मात्रै होइन सत्तारूढ दलकै नेताहरूले भन्दैछन् – Nepal Press

माओवादीको जिकिर- ओली सरकार असफल भएको हामीले मात्रै होइन सत्तारूढ दलकै नेताहरूले भन्दैछन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार एक सय दिन पूरा नहुँदै असफल भइसकेको निष्कर्ष निकालेको छ। बाढी पहिरोले देशभर विपत्ति आउँदा सरकारको भूमिका शुन्य देखिएपछि माआवादीले सरकार असफल भएको निष्कर्ष निकालेको हो।

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाल प्रेससँग भने, ‘हामीले मात्रै होइन, सत्तारुढ दलका पार्टीका नेताहरुले पनि सरकार असफल भयो भन्दै आइरहेका छन्। अहिले झन् यो विपद्को बेलामा सरकारको उपस्थिती कतै पनि देखिएको छैन। विपद्को बेलामा जनस्तरबाटै पहल हुँदा पनि सरकारको पहल कदमी शुन्य बराबरको भयो। राज्य संयन्त्र कर्तव्यविमुखुजस्तो भयो।’

मौसम विभागले पूर्वसूचना दिँदा पनि सरकारले वेवास्ता गरेकै कारणले ठूलो क्षति भएको उनको भनाइ छ।

उनले थपे, ‘विज्ञहरुले असोज ७ गतेदेखि नै भनेका थिए तर, सरकारमा रहेकाहरुले वेवास्ता गरे। यो हदसम्मको सरकारको वेवास्ता डरलाग्दो र चिन्ताजनक छ। यदि समयमा सरकार सचेत भएको सरकारले आफ्नो सुंयन्त्र परिचालन गरेको भए क्षति न्यून गर्न सकिन्थ्यो तर, सरकारको ध्यान त्यता केन्द्रित नै भएको पाइएन।’

सरकार र सरकारी संयन्त्रले गल्तीलाई सुधार गरेर समीक्षा गर्दै तुरुन्त खोज उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने बताए।

सरकार असफल भएको निष्कर्ष निकालेको माओवादीको अबको भूमिका कस्तो हुन्छ ? भन्ने जिज्ञासामा सापकोटाले भने, ‘हामीले मात्रै होइन, सत्तारुढ पार्टीकै नेताहरुले भसनिरहेका छन् हामी विपद्को घडिमा हाम्रो सबै पार्टी पंक्तिहरु परिचालित छन्, अध्यक्ष आफैं सक्रिय भएर लाग्नुभएको छ। जनतालाई पनि आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छौं। अब खोज, उद्धार राहत र पुनस्थापनको लागि हाम्रो तर्फबाट रचनात्मक ढंगले सरकारलाई सहयोग गर्छौँ।’

उनले भएका वादविवादलाई छाडेर अब सत्ता र प्रतिपक्ष सबै दल मिलेर विपद्को बेलामा अघि बढ्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *