एकेडेमीका ६ बालकको दुःखद अवसान: एन्फाको शून्य जवाफदेहिता – Nepal Press

एकेडेमीका ६ बालकको दुःखद अवसान: एन्फाको शून्य जवाफदेहिता

घटनाको छानबिन गर्न संसदीय समितिले सरकारलाई दियो निर्देशन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एकेडेमीका ६ जना बालकको गत शनिबार पहिरोमा परी निधन भएको घटनाबारे छानबिन गर्न संसदीय समितिले सरकारलाई सिफारिस गरेको छ । उक्त घटनामा एन्फा नेतृत्व र विद्यालय व्यवस्थापन समितिको लापरबाही र गैरजिम्मेवारीपन देखिएपछि समितिले छानबिनको सिफारिस गरेको हो ।

हिजो बसेको पूर्वाधार विकास समितिको बैठकमा माओवादीका सांसद माधव सापकोटा, राप्रपा सांसद दीपक सिंहलगायतले यो घटनालाई लिएर गम्भीर सरोकार राखेका थिए । अनाहकमा ६ जना होनाहार बालकको ज्यान गएको भन्दै यो विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेकोमा उनीहरुले जोड दिए । सोपश्चात समितिले सरकारलाई निर्देशन दिएको हो ।

एन्फाले १४ वर्षमुनिका ४० जना विद्यार्थीलाई पढाउने र फुटबल प्रशिक्षण दिने गरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सलादेवी माविमा राखेको थियो । अघिल्लो बिहीबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण कुलेखानीको ड्यामका दुई ढोका खोलिएपछि उक्त विद्यालयबाट सुरक्षित स्थानतर्फ जाने क्रममा विद्यार्थीहरु सिस्नेरीको पहिरोमा परेका थिए ।

मृत्यु हुने बालकहरुमा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र सुमन योञ्जन, धादिङका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी थिए । अन्य बालकहरु सकुशल रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

मृत्यु भएका बच्चाहरुका परिवारजनले एन्फा र विद्यालय व्यवस्थापनमाथि प्रश्न उठाएका छन् । विद्यालयले प्रहरीसँग कुनै समन्वय नगरिकन बालकहरुलाई असुरक्षित बाटोबाट भगाएकोमा उनीहरु क्रुद्ध भएका हुन् ।

मृतक प्रियान्सका बुवा टीकारामले मिडियाहरुमा भनेका छन्, ‘एकेडेमीको लापरबाहीले गर्दा घटना भएको हो । जोखिमपूर्ण अवस्थामा बच्चाहरुलाई भाग भनेर छाडिदिएछन् ।’

मृतकका परिवारले एन्फाविरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए, तर प्रहरीले मकवानपुरको घटना भनेर जाहेरी लिन नमानेको बालकका आफन्तको भनाइ छ ।

एन्फा नेतृत्वले यस्तो अपायक ठाउँमा एकेडेमी सञ्चालन गर्नुलाई पनि आश्चर्यजनक मानिएको छ ।

सांसद सापकोटा भन्छन्, ‘काठमाडौंमै राम्रो होस्टेलसहितका विद्यालयहरु हुँदाहुँदै त्यस्तो असुरक्षित ठाउँमा लगेर राखिनु सन्देहपूर्ण देखिन्छ । खेलाडीहरु घाइते भएको खण्डमा तत्काल उपचार गराउन नजिकै अस्पतालसमेत छैन ।’

उनले यसलाई एउटा प्राकृतिक विपत्तिमात्र भनेर पन्छाउन नमिल्ने भन्दै गहिरो अनुसन्धान हुनुपर्ने बताए ।

एन्फाका पूर्वअध्यक्ष गणेश थापाले बालकहरुलाई सिस्नेरी पु¥याइनुमा एन्फा एकेडेमीको गलत नियत भएको आरोप लगाएका छन् ।

‘एन्फाका पदाधिकारीहरुले आफ्नो निहित स्वार्थपूर्तिका लागि बालबालिकाको भविष्यमाथि खेलवाड गरे । अन्यथा सिस्नेरीमा एकेडेमी राखिनुको कुनै पनि औचित्य देखिँदैन’, उनले भने ।

एन्फा नेतृत्वले अहिलेसम्म यो घटनालाई लिएर न आफ्नो तर्फबाट सामान्य छानबिनसम्म गरेको छैन न त घटनाप्रति कुनै जवाफदेहिता नै प्रस्तुत गरेको छ । त्यसैले पनि मृतक बालकहरुका आफन्तजन एन्फाप्रति क्रुद्ध भएका हुन् ।

एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले भने घटना हुनुमा नेपाल विद्युत प्राधिकरणको दोष देखाएका छन् ।

उनले मिडियाहरुमा भनेका छन्, ‘सामाजिक सञ्जालमा सूचना जारी गरेको भरमा कुलेखानी ड्यामका दुवै ढोका खोलेर पानी छोडिदिएपछि भाग्नुको विकल्प नै भएन । विद्यालयमा बाढी आउने र रुखहरु ढाल्ने डरले ठाउँ सार्दै थियौं । अचानक पहिरो खसेर ६ जना विद्यार्थीहरु पुरिए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *