कम्युनिष्ट नेताको प्राथमिकता- महँगो घडी कि अनमोल समय ?
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तीन करोड’को घडी सामाजिक सञ्जालमा ट्रोल बनेको छ । हरेक ससाना कुरामा शीघ्र प्रतिक्रिया दिने प्रधानमन्त्री कार्यालयले यसबारे भने मौनता भंग गर्न आवश्यक ठानेको छैन ।
मुलुकमा आर्थिक संकट र गरिबी झन चर्किंदै जाँदा नेतृत्वको घडी शोख आलोचना र व्यंग्यको विषय बनेको हो । सुरुमा ‘जनआस्था डटकम’ले ओलीको महँगो घडी प्रकरण उद्घाटित गरे पनि सामाजिक सञ्जालका प्रयोगकर्ताले यसलाई नेतृत्वप्रतिको नैराश्यता-प्रतीकको रूपमा आलोचना गरिरहेका छन् ।
यसले नेतृत्वको भोगविलास, आसक्ति र साधारण जनताको जीवन दूरीलाई उजागर गरेको छ ।
नेताहरूले, अझ कम्युनिष्ट नेताहरूले सादा, उच्च र मितव्ययी जीवन व्यवहार गर्नुपर्छ, तर घडी जस्ता प्रकरणले उनीहरूको जीवनशैलीलाई नराम्ररी गिज्याएको छ ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको करोडौंको घडीको विवाद आउँदा कांग्रेस सांसद सुनिल शर्माले पूर्वशिक्षक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाउने ‘६५ लाख-दुई करोड’ मूल्यको घडी बिक्री गरेर दूरदराजका विद्यालयमा लगानी गर्नुपर्छ भनेका थिए ।
यो सन्दर्भ सामाजिक सञ्जालमा यतिबेलाको ओलीकै घडी जसरी ट्रोल बनेको थियो, तर प्रचण्ड सचिवालयले यसको खण्डन गरेको थाहा पाइएन । त्यसैले ट्रोलभित्र स्वाभाविक आक्रोश पनि छ- कम्युनिष्ट नेताहरूलाई यस्तो विलासी घडीको आवश्यकता किन ?
नेताले करोड पर्ने घडी लगाएको हो वा होइन त्यसको आधिकारिकरुपमा न त पुष्टि भएको छ,न खण्डन नै गरिएको छ । घडी कतिको लगाइयो भन्ने कुरा महत्वपूर्ण होइन तर घडीले दिने समय अनुसार नेताले विचार,व्यवहार र दायित्व निर्वाह गरे कि गरेनन् भन्ने जनताको प्रश्न हो ।
यदि हुँदै नभएको आरोप लगाइएको भने जनतामा परेको भ्रम चिर्न नेताको सचिवालयले खण्डन गर्नुपर्छ,नत्र भने स्वीकार गरेको मान्नुपर्छ । त्यसो गर्दा त्यो घडी उपहारमा पाइएको हो कि किनेको हो ?यसको स्रोत पनि खुलाउनु नेताको पारदर्शिता हुन जान्छ ।
कांग्रेस नेताहरु वा अरु बुर्जुवा पार्टीका नेताले लगाएको वा चोरी गरेको घडीको बारेमा भन्दा कम्युनिस्ट नेताले लगाउने घडीको चर्चा हुनु भनेको अझै पनि जनतामा कम्युनिस्ट पार्टीप्रति विश्वास रहेको प्रमाण पनि हो । त्यसैले आज कम्युनिस्ट तथा वाम आन्दोलनका अग्रणी नेताहरुले आफ्नो आचरण र आदर्शबाट जनतालाई समाजवादप्रतिको भरोसा दिलाउनुपर्ने समय आएको छ ।
कहिले करोडका घडीदेखि कुनै समयमा झलनाथको सुटका पनि चर्चा त चलेकै हुन् । कति चर्चा नेतालाई बदनाम गराउन भएका हुन् र कति सत्यमा आधारित छन् ? आजको युगमा गलत प्रचार भाइरल हुँदैछ भने त्यसको वास्तविकता पनि जनतालाई बुझाउनु सम्बन्धित पक्षकै दायित्व हो ।
नेताहरूको छवि उनीहरूले अपनाएको सिद्धान्त र त्यस आधारको आदर्शसँग जोडिएको हुन्छ । अझ कम्युनिष्ट विचारधारा त समानताको सिद्धान्तमा आधारित हुनुपर्ने ! त्यसैले कम्युनिष्ट नेतृत्वले व्यक्तिगत विलासिता र उपभोक्तावादभन्दा माथि उठेर समाजको हकहितको कुरा गर्छ भन्ने मान्यता राखिन्छ ।
कम्युनिष्ट नेताका लागि त घडी भन्नु समयमात्रै हुनुपर्ने ! समयबाट नयाँ सिर्जना हुन्छ, नयाँ परिवर्तन हुन्छ, तर यहाँ त तिनका अगाडि करोडौंको घडी पो उपस्थित छ । घडीको मूल्यभन्दा समयको मूल्य कति महान छ कति ? पाँच सय पर्ने घडी र करोडौं पर्ने घडीले दिने समयमा विभेद हुन्छ र ?
प्रचण्ड र ओली जस्ता नेता, जो उत्पीडित वर्गको मुक्तिको कुरा गर्छन्, समानताको सपना देखाउँछन्- तिनैका हातमा करोडौंको विलासी घडी देख्दा सम्पूर्ण आलोचना हुनु स्वाभाविक हो ।
सच्चा नेता त्यस्तो हो, जसले समयको मूल्य बुझेर हरेक कदम जनताका लागि खर्च गर्छ । समयको मूल्य करोडौंको घडीले होइन, काम र दृष्टिकोणले पो मापन गर्छ ।
घडीको सुन्दरता र करोडौंको मूल्यले नेताको कार्यकुशलता मापन गर्दैन, तर कम्युनिष्ट नेताको भौतिक विलासिताप्रतिको वा बहुराष्ट्रिय सामानप्रतिको आकर्षण र त्यसले समाजमा बनाएको छविले तिनको प्रतिबद्धतामाथि गम्भीर निराशा पैदा गरेको छ ।
प्रचण्ड र ओली जस्ता नेता, जो उत्पीडित वर्गको मुक्तिको कुरा गर्छन्, समानताको सपना देखाउँछन्- तिनैका हातमा करोडौंको विलासी घडी देख्दा सम्पूर्ण आलोचना हुनु स्वाभाविक हो ।
तर कुरा घडीको मात्र होइन, कम्युनिष्ट नेताको जीवनशैली र आदर्शबीचको अन्तर हो । घडीले समय बताउँछ, तर नेताको कामले समय बनाउँछ ।
नेताले घडी होइन, समय रोज्नुपर्छ । समय चिन्नुपर्छ । समयको सदुपयोग गरेर जनताका सपना र आकांक्षालाई साकार पार्नुपर्छ ।
समयको महत्त्व बुझ्ने र त्यसलाई सही सदुपयोग गर्ने नेता नै समाजमा सम्मानित हुन्छन् । समयलाई घडीको करोडौंको दामले होइन, जनताप्रतिको कर्तव्यले मात्रै मापन गर्न सकिन्छ ।
विचार निर्माणमा, विकासमा र समाज परिवर्तनमा काम गर्ने नेता नै मूल्यपरक समय हुन् । करोडौंको घडीभन्दा अमूल्य हुन् । कम्युनिष्ट आन्दोलनको आजको प्राथमिकता पनि यही हुनुपर्छ ।
सान्दर्भिक सांस्कृतिक आलोचना।
अर्थ न बर्थ कुबेलाको राग । ओलिलाइ घेर्ने, खुइल्याउने अनेक खालका सामाग्री आइरहेछन । बिरोध को खेतिपाति चलेको जो छ।