विपद् प्रभावित बिरामीलाई स्वास्थ्यमन्त्री पौडेलले सोधे- उपचारको पैसा तिर्नु त परेन ? – Nepal Press

विपद् प्रभावित बिरामीलाई स्वास्थ्यमन्त्री पौडेलले सोधे- उपचारको पैसा तिर्नु त परेन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् ।

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी लिए ।

उनले उपचाररत बिरामीहरुसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाए नपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे । परिवारका सात जना गुमाएका माइला तामाङसँग मन्त्री पौडेलले उपचार सेवामा कुनै कमी भए भन्न आग्रह गरे ।

जवाफमा तामाङले भने, ‘उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परेन, तर परिवारका कोही बचेनन् । बस्ने घर पनि छैन । सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो ।’

मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए ।

मन्त्री पौडेलले प्रभावित बेथानचोक तथा पनौती बजारको अवलोकन गर्दै स्वास्थ्यकर्मीहरुले पु¥याएका सेवाको प्रशंसा गरे ।

पनौती- १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धीकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए ।

मन्त्री पौडेलले स्थानीयवासीसँग अन्तरक्रिया गर्दै विपद्पछिको राहतमा सरकार साथ रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *