चरी ररी ररी रै…, दशैं आयो…
गीत सुन्दा विपनाका आँखा रसाउँछन्
दशैंभरि नेपाली जनजीवन ’चरी ररी ररी रै’ को भाकामा मग्न हुन्छ । गीतले भन्छ,
कोदो फुल्यो बारीमा लरी लै
धानको बाला झुल्यो खेतैमा
कत्ति राम्री देखिन्छेउ लरी लै
जमरा र रातो टीकामा
हो………..दशै आयो
अहिले यो गीत सुन्दै अतीतको फ्ल्यासब्याकमा पुग्दैछिन्, विपना थापा । उनी भारतको उत्तर प्रदेशस्थित मथुरा शहरमा छिन् । नेपाल प्रेसको अनलाइन सम्पर्कमा आउँदा उनी एकछिन रोमान्चित हुन्छिन् । फेरि एकैछिनमा अतीत सम्झेर भावुक हुन्छिन् ।
२०६० सालमा प्रदर्शित चलचित्र मुग्लानमा सुरेश अधिकारीद्वारा संगीतवद्ध यो गीतकी उनी नृत्याङ्ना र त्यसबेलाकी चल्ताफिर्ता अभिनेत्री हुन् ।
नेपालको चलचित्र बजारलाई ५० देखि ६० को दशकसम्म निरन्तर धान्ने प्रमुख तीन अभिनेत्रीमध्येकी हुन् उनी । अहिले उनका समकालीन निरुता सिंह र जल शाह पनि विपनाझैं देशबाहिर छन् ।
त्यसअघि नै रजतपटमा हावी भएका करिश्मा, गौरी मल्लहरुलाई फुर्सदी बनाउँदै विपनाहरुले ०५० देखि ०६० साल आसपासको चलचित्र बजार धानेका थिए ।
हामी दशैंको कुरा गर्दैछौं ।
सुटिङ पोखरामा थियो । विपनासँगै सुशील क्षेत्री, दिलिप रायमाझी, झरना थापा र रमित ढुंगाना उक्त दृश्यका मुख्य कलाकार ।
सुटिङभरि रमितको ठट्टा विपना सम्झिरहन्छिन् । ‘यस्ता खुंखार–खुंखार डान्सरका अगाडि कसरी नाच्ने होला’ रमितको भनाइ उद्धृत गर्दै विपनाले सुनाइन् । डान्स डाइरेक्टरले जे स्टेप दिए पनि ‘हैन, हैन, म त टेक खाइहाल्छु’ भन्दै रमित सकेसम्म दिएको स्टेपबाट पन्छिन खोज्थे । विपनाका अनुसार, त्यसरी ठट्टा गरे पनि रमितको काम अरु कसैको भन्दा नराम्रो थिएन ।
विपनासँग दिलिप र सुशीलको सम्बन्ध चलचित्र जीवनभन्दा पुरानो । उनीहरुले सँगै संघर्ष गरे । विपना पहिल्यै स्थापित भइन्, दिलिप र सुशीलहरु पछि आए । कीर्तिपुरका दिलिप, कलंकी, स्युचाटारकी विपना र सानेपाका सुशील त्यसबेलाका नामी नृत्य निर्देशक बसन्त श्रेष्ठ, राजु शाहका चेलाचेली भएकाले पनि गीत, त्यसमा पनि नाच्नुपर्ने सुटिङमा सहज हुन्थे नै ।
विपनाका निम्ति ती दिन अब इतिहास भए । चलचित्र मुग्लानको उक्त गीतका निम्ति आज विपना अरुजस्तै आम स्रोता र दर्शक हुन् ।
नेपालमा जस्तै मथुरामा पनि दशैं लाग्छ । यहाँ धार्मिकसँगै अन्य मनोरञ्जनात्मक गतिविधिसहित दशैं आउँछ । त्यहाँ विशुद्ध धार्मिक पर्वका रुपमा मनाइन्छ । विपना घरी घरी युट्युव खोतल्छिन् ।
‘चरी ररी ररी रै…, दशैं आयो…’ जब बज्छ, तब नेपालका अनगिन्ती सम्झनाले चिमोट्छ । आँखा रसाउँछ । रसाएका आँखा छोप्न मेकअप गरेर अनुहार त दुरुस्तै पार्छिन्, तर यो गीतले उनलाई हरेक दशैंमा शरीर मथुरामा, मन नेपालमा लैजान्छ ।
‘सयभन्दा बढी फिल्म र पाँच सयभन्दा बढी गीतमा काम गरेँ, यस्तो गीत कमै गरिएछ’, उनले भनिन्, ‘गीतमा हाम्रो संस्कृति, रहनसहन र परम्परा पनि बोल्छ ।’
विरसिलो दशैं
दशैं उही हो । पूज्नुपर्ने भगवान पनि उही । तर, तरिका फरक हुँदा विपनाका निम्ति पछिल्ला १५ वर्षका दशैं भिन्न हुँदै आएको छ ।
‘छोरी भएर मनाउनु र बुहारी भएर मनाउनुमा त्यसै पनि फरक पर्ने नै भयो’, भनिन्, ‘फरक परिवेश, समाज र संस्कृतिभित्र बस्दा त्यसका शर्तहरु पालना गर्नैपर्छ ।’
विपनाले मथुराका युवा राजनीतिकर्मी, चिकित्सक तथा सामाजिक अभियन्ता डा.आशुतोष भारद्वाजसँग विवाह गरेकी छन् । व्यापारिक गतिविधिसँगै कंग्रेस आईसम्बद्ध राजनीति र सामाजिक गतिविधि धान्ने डा.आशुतोषको परिवार कट्टर हिन्दू हो । उक्त परिवारमा बुहारीको भूमिका छ, विपनाको । परम्परागत हिन्दू परिवारमा बुहारीको काम सजिलो छैन । यद्यपि, दुःख र अप्ठेरा बिर्सेर विपना खुशीका साथ भारद्वाज परिवारमा रमाइरहेको बताउँछिन् ।
कहाँबाट कहाँ पुगिन् ?
काठमाडौंभित्रको एउटा ग्रामीण समाज हो, स्युचाटार, नैकापक्षेत्र । पञ्चायतकालदेखि नै नेपाली कांग्रेस राजनीतिमा सक्रिय बुबा होमविक्रम थापाकी माइली छोरी हुन् विपना ।
दिदीको विवाह भइसकेपछि बुबाको निधन भयो । भाइ सानै थिए । भाइभन्दा माथि एउटी बहिनी । बुबाको वियोगपछि आमाको ‘साथी’ जस्तै हुनुप¥यो उनले । घर सम्हाल्नुपर्यो, टोल समाजमा घरको प्रतिनिधित्व पनि उनैले गर्नुपर्ने । स्युचाटारमा एउटा चार कोठे घरमात्रै थियो, आम्दानीको नियमित बाटो थिएन । २०५० सालदेखि उनले फिल्ममा काम पाइन् । पारिश्रमिक थोरै हुन्थ्यो । त्यसबाट आफू चल्नुपर्ने, घर पनि चलाउनुपर्ने ।
शायद बुबा जिवित भएको भए विपनाले पनि आम नेपाली छोरीको नियति भोग्दै उतिबेलै घरबाट अन्विनुपर्ने थियो । ढिलोमा ०५३–०५४ सालतिरै उनी ‘अरु कसैकी’ हुन्थिन् । तर, बुबाको अभावपछि घरको अभिभावक बन्नुपर्यो । आमा, भाइ र बहिनी सम्हालिन् । भाइले गाउँमै र बहिनीले दैलेखमा विवाह गरिन् । विपनाचाहिँ आमाको ‘साथी’ मात्र रहिन् ।
विवाह गर्नु केही वर्षअघिबाटै चिकित्सा शिक्षा अध्ययनका निम्ति काठमाडौं बसेका डा.आशुतोष उनका प्रेमी थिए । पारिवारिक बाध्यताकै कारण भाइ, बहिनीको घरजम भइसक्दा पनि उनले विवाह गर्न सकिनन् । डा.आशुतोषसँगको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि आमालाई भाइ र बुहारीको जिम्मा लगाइन् ।
बहिनी बासना दैलेखको प्रतिष्ठित व्यापारिक परिवारकी बुहारी हुन् । विपनाले सम्हान्छिन् भनिएको बुबा होमविक्रमको राजनीतिक विरासत सम्हाल्ने जमर्को बहिनीले गरिन् । बुबाले रगत पसिना बगाएकै नेपाली कांग्रेसको तर्फबाट उनी ०७४ को स्थानीय निर्वाचनमा नारायण नगरपालिकाको उपमेयरकी प्रत्यासी थिइन् । विपनाचाहिँ मथुरामा भारद्वाज परिवारको बुहारीकै रुपमा रमाइरहेकी छन् ।
दशैं सम्झना
मासुका परिकारसँग रमाउनुलाई नेपाली समाजमा दशैं पर्वको मौलिकताका रुपमा लिइन्छ । यसबाहेक नयाँ कपडा लगाउने, मामाघर जाने, दौंतरीहरुसँग तास खेलेर रमाउनेजस्ता समयका रुपमा यो पर्वलाई लिइन्छ । तर, विपना सानैदेखिकी भेजिटेरियन ।
आफूले नखाए पनि उनी वर्षेनी घरमा खसी काट्थिइन् । र, आफैंले पकाएर साथीहरुलाई खुवाउने बानी थियो । त्यसपछि, तासमा पनि जुटपत्ति खेलेर दशैं बित्थ्यो । चलेकी नायिकालाई विभिन्न व्यक्ति, संस्था र एजेन्सीबाट दशैंमा उपहारस्वरुप मदिरा र मिठाई आउँथे नै । उनी यी दुबैकी शौखिन थिइनन् । ती सबै सामानको खपत गर्थिन्, घरमा खसी काटेका दिन । अर्थात्, मदिरा र मिठाईले निम्तालुको स्वागत गर्थिन् ।
उनको अति व्यस्त चलचित्र जीवन २०५० देखि ०६० सम्मको हो । त्यसअवधीका प्रायः दशैं यसरी नै बिते ।
अब उनका यी दिन फर्केर आउँदैनन् ।
मम्मी र मामालाई मिस गर्दै
अहिले मथुरामा बसेर उनी मुख्यतः दुई कुरा ‘मिस’ गरिरहेकी छन् । ‘मम्मी के गर्दै हुनुहुन्छ होला’ भनेर जहिल्यै सम्झिन्छु’, उनले भनिन्, ‘त्यसपछि कान्छो मामासँग खोसीखोसी दक्षिणा लिएको कहिल्यै बिर्सिन्नँ ।’
उनले मात्रै हैन, भए जति सबै भाञ्जाभाञ्जी मिल्थे र मामाको हात–खुट्टा समातेर सबै पैसा खोस्थे ।
केटाकेटीदेखि नै कान्छो मामासँग त्यस्तो चल्थ्यो । ठूलो भएपछि, अझ देशको फिल्म स्टार भएपछि पनि त्यो बानी हटेन । ‘अहिले दशैंमा गएँ भने पनि मामालाई त लुट्ने नै हो’, हस्यौलीपारामा भनिन् ।
मथुराको मौलिकता
नेपालमा जस्तो मथुरामा दशैंको अलग्गै टीका, जमरा लगाउने चलन छैन ।
दशैंमा नेपाल र मथुराको संस्कृतिमा मिल्ने एउटै कुरा हो, पूजापाठ । उही धार्मिक ग्रन्थ, उनै भगवानको पूजा हुने हो । बाँकी केही पनि मिल्दैन । हामी सकुञ्जेल माछामासु खानुलाई दशैं भनेर रमाउने गर्दछौं । ‘यहाँ १० दिनसम्म माछामासु खानै हुँदैन’, भनिन्, ‘लसुन, प्याजसम्म चल्दैन ।’ त्यहाँको ब्राहम्ण परिवारका प्रत्येक सदस्य नवरात्रिको ९ दिनसम्मै ब्रत बस्छन् ।
विपनाले सुनाइन्, ‘कोही कोही त यति कठोर ब्रत बस्छन् कि, एउटा ल्वाङ टोकेको भरमा बाँचेका छन् । कोही दिनभरिमा एउटा केरा वा एउटा स्याउ खान्छन् ।’
यसरी मथुराको संस्कारअनुसार ठूलाबडामात्र हैन, १०–१२ वर्षका बच्चा पनि ब्रत बसिरहेका हुन्छन् । अहिले त्यहाँका टोलटोलमा दुर्गा भवानीको आराधना गरिएका दृश्य देख्न पाइन्छ । माइक लगाएर माता भवानीसँग सम्बन्धित गीत एवं भजन बजिरहेका छन् ।
नेपालमा जस्तो पशुबली चल्दैन । ‘मारकाट गर्नु त महापाप हुन्छ’, विपनाले भनिन्, ‘ब्राम्हण परिवारको सदस्यले त माछामासु र मध्यपान (मदिरा) सेवन गर्नु भनेको आफ्नो परिवार र समुदायबाट अलग्गिनुजत्तिकै हो ।’
नवरात्रिलाई त्यहाँ नौदेवीको आराधना भनिन्छ । अर्थात्, नौदेवी स्थापना गरी दैनिक पूजा, अर्चना चल्छ । नौ दिनसम्म घरकी बुहारीले कतै पनि निस्किन पाइँदैन । यसप्रकार विपना पनि नौदेवीको उपासनामा कैद छिन् ।
नौदेवीअन्तर्गत अष्टमी र नवमीमा कन्या र लाङ्ग्रा जगाउने भन्ने प्रचलन छ । कुमारी बालिकालाई कन्या भनिएझैं लाङ्ग्रा भनेको नावालक पुरुषलाई बुझिन्छ । ती दिनमा कम्तिमा ९–९ जना वा त्योभन्दा बढी कन्या र लाङ्ग्रा घरमा भेला पार्ने गरिन्छ । उनीहरुलाई कालो चना, खिर, पुरी, तरकारी खुवाउँदै दान दक्षिणा गर्ने चलन छ ।
यही हो विशेषता विश्वमणीको । एउटै क्षेत्र र विषयमात्र हैन उनको कलमको जादुगरी । उनले जहा छुन्छन् त्यही फुल्छ र फक्रिन्छ । वधाई विश्व ।यो निरन्तरता पाइरहन सकुं ।