आमाको मृत्युपछि भोकले रोइरहन्छ तीन दिने शिशु, अन्य तीन जनाको पनि बिचल्ली – Nepal Press

आमाको मृत्युपछि भोकले रोइरहन्छ तीन दिने शिशु, अन्य तीन जनाको पनि बिचल्ली

कैलाली । तीन दिनको शिशु बेला बेला डाँको छोडेर रुन्छ । जन्मिएको केही घण्टामै आमा गुमाएको अबोध बालकले आमाको स्नेह र स्तनपान दुवै पाएन ।

अछाम ढकारी गाउँपालिका ६ कि ३० वर्षीया सरिता देवी जैसीको समयमा उपचार नपाउँदा बिहीबार मृत्यु भएको थियो । मृत्युपछि तीन दिनको शिशुलाई सरिताको दिदीले हेरिरहेकी छन् ।

शिशुलाई उनले पनि राम्ररी स्तनपान गराउन पाएकी छैनन् । उनको दूध आउँदैन । शिशु भोकले व्याकुल भएर रुँदा फुपूलाई बोलाइन्छ र दूध चुसाइन्छ । पछिल्लो दुई दिनयता शिशुको भोक यसरी मेटिएको छ ।

ढकारी ६ मा सानो कच्ची घर छ, टिनले छाएको । त्यसको एउटा साँघुरो कोठामा ९ वर्षका बालक युवराज किरिया बसेका छन् । अर्कातर्फ उनका बुवा टङ्क छन् । टङ्क अपाङ्ग छन् । उनी आँखा देख्न सक्दैनन् । घरमा पुग्ने आफन्तहरू अबोध बालक किरिया बसेको देखेर विक्षिप्त हुन्छन् । त्यसैमाथि तीन दिनको शिशु भोक र तिर्खाले व्याकुल हुँदा र रुँदा उनीहरू पनि भक्कानिन्छन् ।

सरिताका अर्का ७ वर्षका छोरा लक्ष्मण बेला बेला टोलाइरहन्छन् । बेलाबेला रोइरहन्छन् । उनलाई जन्म र मृत्युबारे खासै थाहा छैन । त्यसैले होला आमा खोजिरहन्छन् ।

सरिताको जेठी छोरी छन् १२ वर्षकी मनीषा । आमाको मृत्यु, बुवा पनि अपाङ्ग हुँदा अहिले भाइहरूको अभिभावक उनै बालिका भएकी छन् । आमा सम्झिन्छिन्,रुन्छिन् अनि भाइहरूलाई ‘म छु नि। म पाल्छु तिमीहरूलाई’ भन्दै सम्झाउँछिन् ।

मध्यरातमा सुत्केरी बेथा लागेपछि स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजाने क्रममा सरिताले बाटोमा नै बच्चा जन्माएकी थिइन् । त्यस लगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो तर, स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो ।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भयो । ढिलोगरि अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको थियो ।

यो पनि पढ्नुहोस्- चितामा जलिरहिन् सरिता, नजलाउनु भन्दै रोइरहे लक्ष्मण र युवराज

ससुराको पनि दुई वर्ष पहिल्यै मृत्यु भइसकेको हुँदा घरको सबै जिम्मेवारी सरिताकै काँधमा आएको थियो । उनको पनि मृत्युले अहिले यो परिवार शोक र भोक दुबैसँग लडिरहेको छ ।

सरिताको मृत्युपछि किरिया खर्च पनि जुटाउन समस्या भएको बेला केही युवाहरूले आर्थिक संकलन गरेको २५ हजार रुपैयाँ सहित बच्चाहरूलाई लत्ताकपडा र खाद्यान्न सहयोग गरेपछि उनीहरूलाई केही राहत भएको थियो ।

‘हामी पुग्दा त्यहाँको दृश्य निकै दर्दनाक थियो । आमा गुमाएर टुहुरा भएका साना बालकहरू विक्षिप्त थिए । तीन दिनको शिशु रोइरहेको थियो । हामीले केही सहयोग गरेपछि उहाँहरूलाई केही सहज भएको छ ’ स्थानीय टेक थापाले भने, ‘हामीले त्यो परिवारलाई अझै साथ र सहयोगको आवश्यकता देख्यौँ ।’

१२ वर्षकी मनीषा, ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण घर नजिकैका पञ्चज्योती आधारभूत विद्यालयमा पढ्छन् । मनीषा ७ कक्षामा, युवराज ५ कक्षामा पढिरहेका छन् । बुवा अपाङ्ग, आमा गुमाएपछि उनीहरूलाई अब पढ्न सकिँदैन कि भन्ने चिन्ताले सताउन थालेको छ ।

‘मलाई पढ्न धेरै मन छ । जहाँ गएर , जस्तो दुख गरेर भएपनि पढ्न पाए हुन्थ्यो ’ किरियामा बसेका युवराजले त्यहाँ आउनेहरूलाई सोध्थे, ‘म अब पढ्न पाउँछु ?’


प्रतिक्रिया

One thought on “आमाको मृत्युपछि भोकले रोइरहन्छ तीन दिने शिशु, अन्य तीन जनाको पनि बिचल्ली

  1. सबैले सहयोग गरौ, थोरै थोरै गर्दा पनि धेरै हुन्छ, सहयोग गरौ ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *