हेटौंडा-फाखेल-काठमाडौं सडक आजबाट सञ्चालन हुने – Nepal Press

हेटौंडा-फाखेल-काठमाडौं सडक आजबाट सञ्चालन हुने

हेटौँडा । एक हप्ता अघि आएको बाढी पहिरोले बिगारेको हेटौंडा-फाखेल-काठमाडौं सडक आजबाट सञ्चालनमा आउने भएको छ । काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्गको रूपमा रहेको हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबार साँझदेखि सञ्चालनमा आउने भएको हो ।

कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर आइतबार साँझदेखि संचालनमा ल्याउन लागिएको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले बताए ।

बाढी पहिरोको कारण गत असोज १२ गतेबाट पूर्णरुपमा बन्द रहेको सडकलाई पहिरो पन्छाउने र बगाएको स्थानमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याउन लागिएको पोखरेलको भनाई छ ।

बाढी पहिरोले कुलेखानी ड्याममुनिको सिमखोलास्थित सडक र महालक्ष्मी खोलानजिकै बाढी पहिरोले क्षति पुर्‍याएपछि सडक पूर्ण रूपमा अवरुद्ध थियो ।

दशैं नजिकिँदै गर्दा छोटो मार्ग बन्द हुँदा हेटौँडाबाट काठमाडौंको लागि यात्रा कष्टकर रूपमा सञ्चालित थिए । हेटौँडाबाट काठमाडौँको लागि जोडिएको सडकमध्ये हाल हेटौंडा-पालुङ-नौविसे र हेटौंडा-पालुङ-चन्द्रागिरी सडक संचालनमा थिए ।

आइतबार साँझबाट फाखेलमार्ग खुलेसँगै यात्रुहरूलाई थप सहज हुने भएको छ । बाढी पहिरोले धेरै क्षति गरेको हेटौंडा-सिस्नेरी-काठमाडौं र कान्तिलोकपथ सडकलाई पनि खुलाउन हर सम्भव प्रयत्न भइरहेको पूर्वाधार निर्देशनालयले जनाएको छ ।

महालक्ष्मी खोलामा सडक सुधार भएसँगै हेटौंडा-चखेल-मातातीर्थ हुँदै समेत सवारी संचालनको तयारी गरिएको कार्यालयले जनाएको छ ।कान्तिलोकपथ तथा सिस्नेरी सडक सञ्चालनको लागि पनि दिनरात काम भइरहेको भन्दै पोखरेलले कान्तिलोकपथ अन्तरगत मकवानपुर र ललितपुर जोड्ने बागमती खोल (बगुवा पुल) को कटान क्षेत्रमा नेपाली सेनाको टोलीले सडक निर्माणको काम गरिरहेको निर्देशनलायले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *