बाढीपहिरोले फास्ट ट्रयाकमा सामान्यमात्र क्षति – Nepal Press

बाढीपहिरोले फास्ट ट्रयाकमा सामान्यमात्र क्षति

काठमाडौं । गत साताको बाढीपहिरोबाट पूर्वाधारका आयोजना प्रभावित बन्दा राष्ट्रिय गौरवको काठमाडौं तराइ मधेश द्रुतमार्गमा भने कुनै पनि क्षति भएको छैन ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सिस्नेरी मख्खुबेँसी इलाका (काठमाडौं मकवानपुरको सिमाना) को बाटोमा सामान्यमात्र क्षति पुगको बताए । तर, फास्टट्रयाकका लागि चाहिने सामान लैजान भने लिंक रोडहरूको ठाउँठाउँको क्षतिले समस्या भएको छ ।

हालसम्म यो मार्गको ३६ प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको छ । मकवानपुरको बकैया गाउँपालिका-१२ धेद्रेस्थित काठमाडौं-निजगढतर्फको एक दशमलब ७२८ किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल तथा चीन र दक्षिण कोरियाका राजदूतसमेतको उपस्थितिमा सो सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो । सेनाले यो आयोजना २०८३ चैत्रसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पहिरोका कारण यात्रु अलपत्र परेपछि केही दिनअघि सुरुङ मार्गबाट यात्रुलाई काठमाडौं पठाइएको थियो । गत शनिबार र आइतबार खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै साना सवारी काठमाडौं प्रवेश गराइएको थियो ।

अत्यावश्यक ढुवानीका सवारीसाधनलाई पनि खानीखोला तर्फबाट सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *