‘दशैं छाेप्न’ आउँदै तीन चलचित्र: कसको ट्रेलर कति दमदार ? – Nepal Press

‘दशैं छाेप्न’ आउँदै तीन चलचित्र: कसको ट्रेलर कति दमदार ?

सामाजिक सञ्जालमा देखिएको ‘१२ गाउँ’ को क्रेज हलसम्म पुग्ला ?

काठमाडौं । दशैं नजिकिएसँगै नेपाली चलचित्रको बजार गुल्जार बन्न थालेको छ । गत बिहीबार रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ ले दर्शकबाट राम्रो रेस्पोन्स पाइराख्दा असोज २४ अर्थात् फूलपातीमा थप तीन वटा चलचित्र प्रतिस्पर्धामा उत्रिँदैछन् ।

दीपकराज गिरी एन्ड कम्पनीको ‘छक्कापञ्जा ५’, जितु नेपाल र नीति शाह अभिनित ‘ज्वाइँ साब’ र विराज भट्टका बाबुछोराको ‘१२ गाउँ’ एकै दिन रिलिज हुन लागेका हुन् । यी तीनवटै चलचित्रको चर्चा सामाजिक सञ्जालमा गर्माइरहेको छ । खासगरी ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ बीच एकप्रकारको ‘साइबर वार’ नै चलिरहेको देख्न सकिन्छ ।

तीनवटै चलचित्रले गीत र ट्रेलरबाट दर्शकको माया पाइरहेका छन् । ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ कमेडी जनराका चलचित्र हुन् भने ‘१२ गाउँ’ एक्सन जनराको हो । दशैंको लामो बिदाको फाइदा उठाउन एउटै डेटमा तीनवटा आशालाग्दा चलचित्र भिडेपछि दर्शक बाँडिने पक्का छ ।

सामाजिक सञ्जालको ट्रेन्ड हेर्दा ‘१२ गाउँ’ ले ‘छक्कापञ्जा’ लाई कडै टक्कर दिने देखिन्छ, तर विश्लेषकहरुको भनाइमा सामाजिक सञ्जालका दर्शक र हल आउने दर्शक फरक हुन्छन् । सामाजिक सञ्जालमा सक्रिय दर्शकहरु नेपाली चलचित्रलाई युट्युबमा पर्खिने र हलमा गएर हेर्ने दर्शकहरुले सामाजिक सञ्जालमा नलेख्ने यथार्थलाई नकार्न सकिन्न ।

चलचित्रले दर्शकलाई हलसम्म तान्ने एउटा आधार भनेको ट्रेलर पनि हो । ट्रेलर राम्रो लाग्यो भनेमात्र फिल्म हेर्न जाने दर्शकहरु थुप्रै हुन्छन्, तर ट्रेलरले देखाएको आशा हलसम्म पुग्दा निराशामा बदलिने गरेका थुप्रै उदाहरण भेटिन्छ ।

‘छक्कापञ्जा ५’ ले रिलिजको ४ दिन अगाडि हिजोमात्रै ट्रेलर सार्वजनिक गर्‍यो । उक्त ट्रेलरले १६ घन्टामा करिब ५ लाख भ्युज पाइसकेको छ । २ हजार ६०० भन्दा बढी प्रतिक्रिया आएका छन् । प्रतिक्रियाहरु हेर्दा चलचित्रका मुख्य अभिनेता दीपकराज गिरीभन्दा माग्नेबुढाको बढी क्रेज देखिन्छ ।

तीन दिन अगाडि रिलिज भएको ‘ज्वाइँ सा’बको ट्रेलरले ६ लाख भ्यूज कटाएको छ । यो चलचित्रले ‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ जस्तो हाइप नपाए तापनि ट्रेलरले सुखद प्रतिक्रिया पाइरहेको छ ।

यी तीनवटै चलचित्रका ट्रेलर कति अब्बल छन् त ? आउनुस् संक्षिप्त चर्चा गरौं ।

१२ गाउँ

नेपालमा मात्र नभएर छिमेकी भारतको भोजपुरी चलचित्रमा पनि ‘एक्सन हिरो’ को छवि बनाएका अभिनेता विराज भट्टले निर्माण/निर्देशन र अभिनय गरेको चलचित्र हो ‘१२ गाउँ’ । यही चलचित्रबाट उनले आफ्नो छोरा समीर भट्टलाई अभिनयमा डेव्यु गराएका छन् ।

ट्रेलर हेर्दा यो चलचित्रको कथावस्तु यिनै बाबु-छोरामाथि केन्द्रित रहेको देखिन्छ । छोरा समीर भट्टलाई विराजले आफू जस्तै ‘एक्सन स्टार’ को रुपमा प्रोजेक्ट गर्न खोजेका छन् । ट्रेलर हेर्दा यो चलचित्र पूर्ण रुपमा दक्षिण भारतीय चलचित्रबाट प्रभावित देखिन्छ । चलचित्रको विषयवस्तु र कथावाचन शैली दुरुस्तै दक्षिण भारतीय छ ।

ट्रेलरले चलचित्रको मेकिङ उच्चस्तरको रहेको संकेत गर्छ । विराजले मेकिङमा कुनै पनि कञ्जुस्याइँ गरेका छैनन् । एक्सन सिनमा बाबुछोरा दुवै जमेका छन् । विराजले बोलेको डाइलग ‘चट्ट होइन, चट चट चट…’ ले ट्रेलरलाई उत्कर्षमा पुर्‍याएको छ ।

विराज पुत्र समीरले एक्सनमा राम्रो सम्भावना देखाएका छन् । त्यसो त यस चलचित्रका लागि उनले सबैखाले तयारी गरेका थिए, जसको परिणाम ट्रेलरमा देखिन्छ । फाइटसँगै डान्समा पनि उनी अब्बल छन् । ट्रेलरको अन्तिममा उनले ‘सिक्स प्याक’ पनि देखाएका छन् ।

यो चलचित्रमा खट्किएको पक्ष भनेको नेपालीपनको अभाव हो । चलचित्रमा भाषामात्रै नेपाली छ भन्दा अतिशयोक्ति नहोला । कलाकारहरुको संवाद सम्प्रेषणसमेत भारतीय लवजमा छ । कुनै दक्षिण भारतीय चलचित्रलाई नेपालीमा डब गरिएको जस्तो महसुस हुन्छ ।

पछिल्लो समय नेपालमा ‘एक्सन’ विधा ओझेलमा परिरहेको थियो । सामाजिक तथा हास्यप्रधान चलचित्रले नै बजार पिटिरहेका छन्, तर केही निर्माता/निर्देशकले दक्षिण भारतीय चलचित्रको अन्ध नक्कल गर्ने क्रम पनि सुरु गरेका छन् । यसअघि यही अन्ध नक्कल गर्दा पूजा शर्माले निर्माण गरेको चलचित्र ‘रावायण’ बक्स अफिसमा चिप्लियो । जबकि रिलिजपूर्व उक्त चलचित्रले पनि राम्रै हाइप बनाएको थियो । त्यसैले ‘१२ गाउँ’को ट्रेलर हिट हुँदैमा चलचित्र पनि चल्छ भनेर ठोकुवा गर्न सकिन्न । अर्गानिक कन्टेन्टहरुमा रमाइरहेका नेपाली दर्शकलाई यस्तो दक्षिण भारतीय स्वादले अपिल नगर्न पनि सक्छ ।

ज्वाइँ साब

नेपालका एक चर्चित कमेडियन जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ अपेक्षित रुपमा कमेडी धारमै बनेको चलचित्र हो । ट्रेलर हेर्दा चलचित्रको विषयवस्तुमा रोचकता र फरकपनको महसुस गर्न सकिन्छ । यद्यपि, कमीकमजोरीहरु पनि छन् ।

वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा जितुसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्तलगायतले अभिनय गरेका छन् । ट्रेलरबाटै कथाको ठूलो हिस्सा एक्सपोज गरिएको छ । नीति शाहले विवाहका लागि युवाहरुबीच खुला प्रतिस्पर्धा गराएको र त्यसमा जितु छनोट भएको देखाइन्छ । सोपश्चात जितुलाई अन्माएर उनले लैजान्छिन् र घरज्वाइँ बनाएर राख्छिन् । ट्रेलरमा नीतिलाई जितुले स्वयम्बर गरेको र अन्माउने बेला दुलाहा रोएको देखाइएको छ । यस्ता दृश्य ट्रेलरमा हेर्दा अस्वाभाविक लागे पनि सिंगो चलचित्र हेर्दा दर्शकले सहज रुपमा लिन पनि सक्छन् ।

छक्कापञ्जा ५

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको ‘छक्कापञ्जा ५’ ले रिलिज अगाडि नै लगानी उठाइसकेको छ । व्यापारिक रुपमा चलचित्र सुरक्षित भए पनि आफ्नो ब्रान्डको साख गिर्न नदिने चुनौती दीपक-दीपासामु छ ।

यो समूहको निर्माण ‘छ एकान छ’ बाट हुँदै ‘छक्कापञ्जा ५’ सम्म आइपुगेको हो । सात वटा चलचित्र यो समूहबाट निर्माण भएकोमा सातवटै सुपरहिट भएका छन्, तर यो समूहको एकता भने निरन्तर भत्किइरहेको छ । पहिलो चलचित्रमा दीपकराजसँगै सीताराम कट्टेल धुर्मुस, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, शिवहरि पौडेल, सन्दीप क्षेत्री जस्ता कमेडियनहरु अटाएका थिए, तर अहिले खिइँदै गएर दीपक-दीपासँग ‘माग्ने बुढा’ मात्रै बाँकी छन् । माग्ने बुढाले नै ‘छक्कापञ्जा’ सिरिजको साख धानिरहेको टिप्पणी हुने गरेको छ । यद्यपि सिरिजका मुख्य डिजाइनर दीपकराज नै हुन् ।

‘छक्कापञ्जा ५’ मा दीपकराज गिरीको जोडीका रुपमा वर्षा शिवाकोटी देखिएकी छन् । ट्रेलरमा लुकाइएको भए अर्कै कुरा, नत्र दीपक, वर्षा र माग्नेबुढाबाहेक यस चलचित्रमा अन्य ठूला नामहरु जोडिएको देखिँदैन । पछिल्लो समय ‘छक्कापञ्जा’ सिरिजका महत्वपूर्ण सदस्यको रुपमा रहेका बुद्धि तामाङ पनि सायद छुटेका छन् ।

‘छक्कापञ्जा ५’ को ट्रेलर रिलिजपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया त्यति उत्साहजनक छैनन् । धेरैले ट्रेलरमा खासै नयाँपन नभएको र कौतुहल जगाउन नसकेको टिप्पणी गरेका छन् । माग्नेबुढाको नयाँ गेटअपले अलिकति आकर्षण गरेको भए पनि उनको डाइलग डेलिभरी पुरानै छ ।

त्यसो त ‘छक्कापञ्जा’ सिरिजले दर्शक तान्न ट्रेलर दमदार भइराख्नु पनि पर्दैन । ठूलो ओपनिङका लागि ब्रान्ड नै काफी छ । कति कमाउँछ भन्ने मात्रै प्रश्न हो । ट्रेलर रिलिजपछिको माहोल हेर्दा यसपालि ‘छक्कापञ्जा’ले धक्का खायो भने पनि आश्चर्य हुनेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *