अस्पताल बसिदिने कुरुवा समेत पाइनन् अमृताले – Nepal Press

अस्पताल बसिदिने कुरुवा समेत पाइनन् अमृताले

चितवन । करिब एक महिना अघि अमृता माझीलाई पहिलेको फोक्सोको समस्या बल्झियो । वर्षदिन अघि पनि डाक्टरले फोक्सोमा पानी जमेको उपचार गरेका थिए । बेला बेला जँचाउन पनि आइरहनु भनेका थिए ।

तर, नियमित जचाउन भरतपुर अस्पतालमा ल्याइदिइने कोही भएनन् । उनको फोक्सोको समस्या बल्झिन लाग्यो । सुतेको ठाउँबाट उठ्न नसक्ने भइन् । श्रीमान मगरा माझी दैनिक ज्यालादारीको काम गर्छन् । उनीहरु सुकुम्बासी हुन् । सरकारले बनाइदिएको घरमा आश्रय लिइरहेका छन् ।

९ वर्षअघि प्रेम विवाह गरेको भएपनि उनले श्रीमती अमृतालाई बिरामी परेपछि वास्ता गर्न छोडिसकेका छन् । सुतेको ठाउँबाट उठ्नै नसक्ने भएपछि गाउँका एकजनालाई भनेर वडा सदस्यलाई बोलाउन लगाइन् ।

वडा सदस्य मीरा चौधरी खबर पाएपछि पुग्दा माझी ओच्छ्यानमै थिइन् । ‘दिदी मलाई बचाइदिनुस् भनिन्, चौधरीले भनिन्, — नगरपालिकामा सम्पर्क गरेर एम्बुलेन्स बोलाएर भरतपुर अस्पताल लगेँ ।

तर, पैसा नभएको भन्दै अमृताका घरबाट कोही अस्पताल आएनन् । जनप्रतिनिधिले एउटै बस्तीमा घर भएका बाबु श्रीलाल माझीलाई बोलाइन् । भरतपुर अस्पतालमा आएपछि माझीलाई ३ दिन आइसियूमा राखियो । त्यसपछि १७ दिन नर्मल बेडमा ल्याइयो ।

उपचार गर्ने पैसा नभएपछि भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले सम्पूर्ण खर्च निःशुल्क हुने व्यवस्था गरिदिए । फोक्सोमा पानी जमेको कारण केही समय अस्पतालमा राखेर उपचार गरे पूर्ण निको हुने उपचारमा संलग्न चिकित्सकले बताएका थिए ।

अस्पतालमा १७ दिन बसिसकेका बाबु श्रीलालले अमृताको परिवारबाट पालो पाएनन् । अस्पताल भित्रबाट औषधि निःशुल्क भएपनि बाहिर किन्नुपर्ने औषधि, छोरीले खान खोजेको खानेकुरा व्यवस्था गरिदिने रकम उनसँग थिएन ।

‘घरमा अपाङ्ग श्रीमती एक्लै छ, खुट्टा चल्दैन । उसलाई खानेकुरा छैन,यता छोरीले अस्पतालले बाँडेको खाना खान मान्दैन, बाहिरको खुवाउन पैसा छैन । गोजीमा भएको दुई सय ४५ रुपियाँ देखाउँदै उनले भनेका थिए ।

अस्पतालमा एक्लै बस्नुपर्ने र खानेकुरा पनि नभएपनि बुबा श्रीलाल छोरी कुरेर बसिरहेका थिए । तर, श्रीमान मगरा आएर डाक्टरले घर पठाउने बेला भएको छैन भन्दाभन्दै उनलाई डिस्चार्ज गराएर घर लिएर गए ।

अमृतालाई घर लगेपछि ओच्छ्यान परेकी उनको बेवास्ता गरेर मगराले अर्की श्रीमती भित्र्याए । तत्कालै इलाका प्रहरी कार्यालय खैरहनीले मगरालाई नियन्त्रणमा लियो । वडाध्यक्षको रोहबरमा अर्की महिला र उनलाई छुटाइदियो । तर, मगराले अमृतालाई हेरेका छैनन् । उनीहरुको ८ वर्षकी छोरी समेत छन् ।

खैरहनी १० की वडा सदस्य ज्ञान्ती पासवान अमृताको घरमा खाने चामल समेत घरमा नभएको बताउँछिन् । वडा अध्यक्षले एक बोरा चामल दिएका थिए । त्यो पनि सकिन लागेको उनले बताइन् । ‘अस्पताल लैजाँदा कुर्ने मान्छे छैन, अस्पताल बाहिरको औषधि किन्ने पैसा छैन, वडा सदस्य पासवानले भनिन्, — अमृताको श्रीमानले पनि वास्ता गर्दैन । फोक्सोमा पाइप राखेको घाउबाट पीप बगेर बसिसाध्य छैन । बिजोग अवस्थामा छिन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *