१५ लाखमा बिके यी १० खेलाडी, को कुन टीममा ? – Nepal Press

१५ लाखमा बिके यी १० खेलाडी, को कुन टीममा ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी बोलकबोलमा अहिलेसम्म १० जना खेलाडीले उच्चतम मूल्य पाएका छन् । अक्सन अझै जारी छ ।

अक्सनमा ‘ए’ श्रेणीका खेलाडीका लागि आधारभूत मूल्य १० लाख र उच्चतम मूल्य १५ लाख राखिएको छ । उच्चतम मूल्य पाउने पहिलो खेलाडी ललित राजवंशी बने । उनलाई ८ वटै टीम १५ लाख दिन तयार भएका थिए । अन्तमा जनकपुर बोल्ट्सले गोलाप्रथाबाट बाजी मार्‍यो ।

तीव्र गतिका बायाँ हाते बलर प्रतिश जीसीले पनि १५ लाख मूल्य पाएका छन् । उनलाई विराटनगर किङ्सले खरिद गरेको छ । प्रतिशलाई काठमाडौं, सुदूरपश्चिम र विराटनगर १५ लाख तिर्न तयार भएका थिए । गोलाप्रथाबाट विराटनगरले पाएको हो । उनी बलिङका साथै तल्लो क्रममा ब्याटिङसमेत गर्न सक्छन् ।

स्पिनर सूर्य तामाङ पनि १५ लाखमा बिक्री भए । उनलाई काठमाडौं, लुम्बिनी र पोखराले खरिद गर्न चाहेका थिए । गोलाप्रथाबाट उनी लुम्बिनीको पोल्टामा परे ।

१५ लाख मूल्य पाएका अर्का खेलाडी हुन् सागर ढकाल । उनी पनि स्पिनर नै हुन् । उनलाई चार टीम सुदूरपश्चिम, कर्णाली, पोखरा र चितवनले बोली लगाएका थिए । गोलाप्रथाबाट पोखराको भागमा परेका छन् ।

अलराउन्डर विवेक यादवलाई लुम्बिनीले १५ लाख दिएर खरिद गरेको छ । उनलाई काठमाडौं, सुदूरपश्चिम, लुम्बिनी र पोखरा उच्चतम मूल्य दिन तयार भएका थिए । गोलाप्रथाबाट लुम्बिनीले पायो ।

नेपाली टीमका विस्फोटक ओपनर अनिलकुमार साहलाई जनकपुर बोल्ट्सले खरिद गरेको छ । उनलाई खरिद गर्न ८ वटै टीम इच्छुक थिए । गोलाप्रथाबाट जनकपुरले पायो ।

भरपर्दा ब्याटर आरिफ शेखलाई १५ लाख रुपैयाँमा सुदूरपश्चिमले खरिद गरेको छ । कर्णाली, काठमाडौं र सुदूरपश्चिमले उनका लागि प्रतिस्पर्धा गरेका थिए । गोलाप्रथामा सुदूरपश्चिम भाग्यमानी ठहरियो ।

भीम सार्की, साहब आलम र लोकेश बम पनि १५ लाखमा बिक्री भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *