३० कट्दा पनि बिहे भएन ? बेहुली फ्रम मेघौली हेरेर शान्त हुनुस् ! – Nepal Press
चलचित्र चर्चा

३० कट्दा पनि बिहे भएन ? बेहुली फ्रम मेघौली हेरेर शान्त हुनुस् !

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’ले भन्छ- समाजले तोकेको उमेरमै विवाह हुनुपर्छ भन्ने छैन ।

विवाह नगरेर पनि सुन्दर जीवन बाँचेका मान्छेहरु समाजमा प्रशस्तै भेटिन्छन् । जसले समाजमा निर्णायक भूमिका खेलिरहेका पनि हुन्छन् । त्यसैले व्यक्तिको विवाह उसको नितान्त निजी निर्णय हो, तर परम्परागत नेपाली समाजमा यस्तो तर्क पेस गरेर छुट पाइन्न ।

नेपाली समाजको चरित्र यस्तो छ, जहाँ परिवार र छरछिमेकसमेत कुनै व्यक्तिको विवाहको निर्णयमा सहभागी भइदिन्छन् । बेहुला कस्तो छ, बेहुली कस्ती छे ? बेहुलाको घरपरिवार कस्तो छ ? बेहुलीको शील स्वभाव कस्तो छ ? केटा र केटी मिलेर घर गरिखान्छन् कि खाँदैनन् ? अन्त्यमा केटा र केटीले एक-अर्कालाई मन पराए कि पराएनन् ? कतिपय सन्दर्भमा त केटाकेटीले एक-अर्कालाई मन पराउने पक्षलाई नै नजरअन्दाज गरिन्छ ।

विवाहको उपयुक्त उमेर कति हो ? उमेरको निर्धारण पनि नेपाली समाजले गरिदिएको छ । केटीहरुले २५ कटेपछि पारिवारिक र सामाजिक दबाब झेल्न सुरु गर्छन् । अपवादबाहेक त्यो दबाबलाई पन्छाउन सक्ने आँट सबैसित हुँदैन । झनै ३० छोएमा ? दबाब चरमोत्कर्षमा पुग्छ ।

केटीलाई पारिवारिक र सामाजिक दबाबमात्रै हुँदैन । मानसिक रुपमा पनि उत्तिकै दबाब झेल्नुपरेको हुन्छ । अनि मानसिक दबाबको उपचार के त ? यसका लागि नेपाली समाज तयार भइसकेको छैन सायद । ३० वर्षीया छोरीको विवाह नहुँदा घरपरिवारलाई कस्तो दबाब पर्छ ? छरछिमेकले के भन्छन् ? यिनै विषयलाई समेटेर ३० छुनै लाग्दा विवाहको दबाब झेलिरहेकी केटीको कथामाथि निर्मित ‘बेहुली फ्रम मेघौली’ अहिले हलहरुमा चलिरहेको छ ।

सात वर्षदेखि अस्ट्रेलियामा भएको प्रेमी निरज (निश्चल बस्नेत)लाई कुरिरहेकी मीना (स्वस्तिमा खड्का)को कथा हो ‘बेहुली फ्रम मेघौली’ । २२ वर्षको हुँदादेखि प्रेम परेकी मीना २९ वर्षकी भइसकेकी छे । विवाह गरेर घरजम गर्ने, अस्ट्रेलियामै सेटल्ड हुने सपना पालेकी मीनाले पढाइ पनि बीचमै छाडेकी छे । जागिर गरेकी छैनन् । जागिर गर्न पनि शैक्षिक योग्यता र अनुभव चाहियो, विवाहको सपना पालेर बसेकी मीनासित हुने कुरै भएन ।

यसरी सबै ठीकठाकै चलिरहँदा २९ वर्षको उमेरमा आएर निरजले मीनालाई विवाह गर्न मानेन भने के हुन्छ ? एक-अर्काको परिवारले स्वीकार गरिसकेको, निरजको घरमा पनि ओहाेरदोहाेर गरिरहेकी मीनालाई निरजले विवाह गर्न नसक्ने बताउँदा उनले के गर्छिन् ? यिनै प्रश्नहरुको घेरोभित्र निर्माण भएको छ ‘बेहुली फ्रम मेघौली’ ।

फिल्ममा एक दृश्य छ- जहाँ निरज र मीना संवादका लागि कतै खोला किनारको रेस्टुरेन्टमा बसेका छन् । त्यहाँ जबजब मीनाको दृश्य आउँछ, तबतब पछिल्तिर ब्लरमा भर्खरै विवाह गरेका नवजोडीले फोटोसुट गरिरहेका हुन्छन् । निरजले विवाह तोडे पनि मीनाको दिमागबाट विवाहबाहेक अर्थोक केही छैन भनेर देखाउन यो दृश्य प्रयोग गरिएको छ । यसपछि जब निरजले ‘कुरा नबुझ्ने’ भनेर मीनालाई गाली गर्छ, तब क्यामेरा फनन घुमाइएको छ । फिल्मको यो अर्को सुन्दर दृश्य हो । यो दृश्यले मीनाको मनस्थितिलाई सुन्दर ढंगले देखाएको छ ।

बाको भूमिका निभाएका लोकेन्द्र लेखकलाई जसरी पनि मीनाको विवाह गरिदिनु छ । उसलाई समाजले यसरी दबाब दिन्छ कि सिर्फ सासमात्रै फेरिरहेको मान्छे भेटे मीनाको विवाह गरिदिने निचोडमा पुग्छन् । मीनाको बावुको चाहना यतिमात्रै हुन्छ कि जसरी हुन्छ मीनाको विवाह गरिदिऊँ ! केटाको बानी व्यवहार कस्तो छ, केटा कतिको जिम्मेवार छ, यसमा बुवालाई मतलब छैन । जम्माजम्मी केटाले विवाह नगरेको हुनुपर्‍यो । किन यस्तो भयो त ऊ ? किनभने समाजले के भन्छ भन्नेतिर मात्रै मीनाको बुवाले ध्यान दियो ।

फिल्ममा मीनाको सात वर्ष यतिकै बित्छ । न पढ्छिन् न त जागिर गर्छिन् । जम्मा निरजलाई पर्खेर बस्छिन् । हातमा स्मार्ट फोन बोक्ने, थोरै भए पनि दुनियाँमा के भइरहेछ भन्ने जानकारी राख्ने केटी सात-सात वर्षसम्म विवाह होस् भनेर तपजप गरेरमात्रै बस्छिन् त ? पक्कै बस्दिनन् । किनभने जब निरज अर्की केटी इशिता (रक्षा थापा)सित लागेको मीनाले थाहा पाउँछे, निरजको जासुसी सुरु गर्छे ।

निरज-इशिता गएको रेस्टुरेन्टमा रेकी गर्नेदेखि पण्डितलाई भनेर गलत चिना बनाउनेसम्म गर्छिन् । इशिताको घरमा गएर कुरा लगाउनेदेखि निरजको घरमा समेत अनेक कुरा लगाउने गर्छिन् । त्यति स्मार्ट केटी विवाहको सवालमा किन त्यति निरीह बनिन् ? वा मीनालाई किन निरीह बनाइयो ? दर्शकलाई मीनाको निरीहपना त्यति सुहाउँदो लाग्दैन ।

मीना, उनकी आमा र हजुरआमालाई ढोकामा थुनेर राखिँदा झ्याल फोडेर मीना भाग्छिन् । हजुरआमाले मीनाकी आमाको मुख थुनिदिन्छिन् । यो अर्को असुहाउँदो दृश्य हो । नवोदित निर्देशकद्वय आकाश बराल र सजन काफ्लेले कतिपय ठाउँमा अनावश्यक सिनेम्याटिक लिबर्टी लिएका छन् ।

यद्यपि अन्त्यमा समाजले दिने दबाबलाई मीनाले त्यागिदिन्छिन् । मीनाको बुवाले पनि समाजले के भन्छ भनेर सुन्न छाड्छन्, आफ्नै मनको कुरा सुन्छन् र भन्छन्, ‘मेरी छोरीको विवाह गर्ने बेलै भएको छैन ।’

स्वस्तिमा खड्काले अभिनयमा आफू अब्बल रहेको प्रमाणित गरेकी छन् । लोकेन्द्र लेखकले आफ्नो अभिनय क्षमताको भरपूर प्रयोग गरेका छन् । समग्रमा ‘बेहुली फ्रम मेघौली’मा नवोदित निर्देशकद्वय आकाश बराल र सजन काफ्लेकोे काम प्रशंसायोग्य छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *