दशैँले ल्यायो खुशी- वीरेन्द्रनगरमा कालापहाडबाट फर्किनेको भिड (भिडिओ) – Nepal Press

दशैँले ल्यायो खुशी- वीरेन्द्रनगरमा कालापहाडबाट फर्किनेको भिड (भिडिओ)

सुर्खेत । ‘मिठो खाने र राम्रो लाउने’ चाडको पर्याय बनेको दशैँ भित्रिएसँगै थातथलो फर्किनेको पनि लर्को लागेको छ । कालापहाड भनेर चिनिने भारतको विभिन्न सहरमा गएर पसिना बगाइरहेका हजारौं नेपालीलाई पनि परिवारसँग भेटघाटको राम्रो अवसर हो यो दशैँ ।

यसैक्रममा वीरेन्द्रनगर बसपार्कमा भारतबाट घर फर्कनेहरूहरूको भिड लागेको छ ।

भारतको कुल्लु मनालीबाट फर्किएका भगवतीमाई गाउँपालिका-५ कट्टीका डिलबहादुर विक पनि दशैँमा घर फर्कन पाएकोमा दंग छन् ।

‘म साउनको महिना भारत गएँ दशैँका लागि केही खर्च जुटाएर फर्किएँ । दशैंमा भने घर आउन पाउनु नै ठूलो कुरा हो,’ उनले खुशी हुँदै भने ।

भारतमा रोजगारी गर्न गएका डिलबहादुरजस्ता हजारौं धेरैजसो स्याउ बोक्ने, निर्माण क्षेत्रमा काम गर्ने, साना व्यवसाय सञ्चालन गर्ने वा मजदुरी गर्छन् ।

यस्तै, भारतको कुल्लु मनालीबाट नै घर फर्किएका दलबहादुर विश्वकर्मा भन्छन्, ‘स्याउको काटुन बोक्ने काम गर्छु । २३ केजीको काटुन बोकेको भारु ५५ रूपैयाँ मिल्छ । अर्काको देशमा दु:ख छ । साउनमा भारत गए दशैँका लागि १५/२० हजार कमाएर फर्किएँ ।’

कर्णालीका धेरैजना मुम्बई, दिल्ली, बैंगलोर र हैदराबादजस्ता सहरमा काम गर्न पुगेका छन् ।

यद्यपि, भारतबाट नेपाल फर्किने यात्रा सहज भने छैन् । लामो यात्रा, सीमा नाकामा भिडभाड, र सवारी साधनको अभावले गर्दा परदेशीका लागि यात्रा निकै थकानपूर्ण छ । कैलालीको गौरीफन्टा र रुपडिया नाकामा निकै भिड हुन्छ र घन्टौँ लाइन लाग्नु पर्छ ।

‘नाका कट्न निकै समय लाग्छ । कहिलेकाहीँ बिहानदेखि साँझसम्मै लाइन लाग्नुपर्छ’, दिल्लीबाट फर्किएका डिलबहादुर भन्छन् ।

यात्राको कठिनाइले गर्दा केहीले त भनेको बेला घर आउन नपाएर परिवारसँग बिताउने समय कटौती गर्नुपर्ने हुन्छ ।

गाउँमा फर्किएकाको चहलपहलसँगै कपडा, खाद्य सामग्री, घरायसी सामग्रीको किनमेलले स्थानीय बजारमा पनि आर्थिक गतिविधि बढ्छ ।

वीरेन्द्रनगरकी व्यापारी मीना गुरुङ भन्छिन्, ‘दशैंमा परदेशीहरू घर फर्केपछि बजारमा व्यापार राम्रो हुन्छ । उनीहरूले सहरमा कमाएको पैसा यहाँ खर्च गर्छन् ।’

दशैँपछि उनीहरू परिवार, छरछिमेक साथीभाईसँग बिताएका क्षणहरूलाई सम्झँदै पुन: यात्रा तय गर्छन् ।

हरेक वर्ष उनीहरू कालापहाडबाट घर फर्कन्छन्, त्यसरी नै यस चाडले उनीहरूलाई आफ्नो माटोसँग पुनः जोड्ने माध्यम बन्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *