कान्ति लोकपथ बाहेक हेटौँडा-काठमाडौं जोडने सबै मार्ग सुचारु – Nepal Press

कान्ति लोकपथ बाहेक हेटौँडा-काठमाडौं जोडने सबै मार्ग सुचारु

हेटौँडा । गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौ जोडने सबै (७) मध्य ६ वटा सडक मार्ग सुचारु भएका छन् ।

अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध सडकहरूलाई बागमती प्रदेश सरकारको निरन्तर कामको कारण दशैं अगाडि नै संचालनमा ल्याउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमन मास्केले बताए ।

अवरुद्ध सडकमध्य हेटौँडा-कुलेखानी-सिस्नेरी, हेटौंडा-कुलेखानी-फाखेल, हेटौंडा-कुलेखानी-चखेल-मातातीर्थ, हेटौँडा-कुलेखानी-चित्लाङ-काठमाडौँ, हेटौँडा-पालुङ-नौविसे र हेटौँडा-मुङ्लिन-काठमाडौं सडक मार्ग सञ्चालनमा आएको हो ।

अवरुद्ध रहेको कान्तिलोकपथ सडक मार्ग भने संचालनमा आएको छैन । कान्तिलोकपथ सडकखण्डमा पर्ने मकवानपुर-ललितपुर जोड्ने बागमती नदीको पुल जोड्ने सडक बगाएको र उक्त स्थानमा स्तरिकरणको काम भइरहेकोले अझै केही दिन उक्त सडक सञ्चालनको अवस्था देखिएको छैन ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले कुलेखानी ड्याममुनि सिमखोलामा डाइभर्सन र भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डको महालक्ष्मी खोलाले बगाएको बाटोमा डाइभर्सन गरेपछि कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड सञ्चालनमा आएको छ ।

यस्तै सिस्नेरी खोलाले बगाएको ज्यामिरेको र सिस्नेरी बजार क्षेत्रमा डाइभर्सन बनाएपछि कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड पनि पूर्णरुपमा सञ्चालनमा आएको छ । यी सडक खण्डहरूमा आइतबारबाटै सवारी मन्त्री मास्केले जानकारी दिए ।

तत्कालको लागि चाडपर्वलाई लक्षित गर्दै सडक मर्मत गरेको र सरकारले चाडोभन्दा चाँडो ती सडकलाई पुरानै हैसियतको बनाइने मन्त्री मास्केले दाबी गरे । उनले भने, ‘चाडपर्वको आवश्यकता र स्थानीयलाई परेको समस्यालाई तत्काल समाधान गर्ने उद्देश्यले मार्गहरू सञ्चालन गरेका हौ।’

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेले नयाँ बनाइएका ट्र्याक नियमित सवारी सञ्चालित हुँदा बिग्रने सम्भावना रहेको भन्दै ती स्थानमा ‘स्ट्यान्डवाई’ एक्जाभ्रेटरको व्यवस्थापन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *