सत्ता गठबन्धनलाई रेशम चौधरीको अल्टिमेटम- अधिकार नदिए दशैंपछि सरकारमा रहन्नौँ – Nepal Press

सत्ता गठबन्धनलाई रेशम चौधरीको अल्टिमेटम- अधिकार नदिए दशैंपछि सरकारमा रहन्नौँ

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा नेता रेशम चौधरीले सत्ता गठबन्धनलाई दशैंपछि आफ्नो दल सरकारमा नरहने चेतावनी दिएका छन् ।

आज आफ्नो भिडिओ सन्देश मार्फत आफ्ना पार्टीका मन्त्रीहरूलाई काम गर्ने वातावरण सृजना नगरिदिएको र अधिकार नदिएको भन्दै उनले सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

नाउपाको संघीय संसद्मा चार,सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेश प्रदेशमा एक सांसद छन् । अहिले सङ्घमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी र सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मण किशोर चौधरी छन् । रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदा हुँदै अधिकार नदिएको बताएका छन् ।

सुरुबाटै सरकारमा सहभागी नहुने नीति हुँदा हुँदै केही जनप्रतिनिधिहरूको कारण सरकारमा सहभागी भएको भन्दै उनले अहिले आफूहरूको माग सम्बोधन नभए अब सरकारमा सहभागी नहुने बताए ।

‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुनु होइन । सरकारमा सहभागी हुने जनतालाई म्यान्डेट दिएका छैनन् । जनप्रतिनिधिहरूको मागले गर्दा प्रदेश र सङ्घमा गएका हौँ ’ उनले भने, ‘ सङ्घको सरकारमा हामी असफल रह्यौँ । स्वर्गद्वारी गुटी न्यायोचित न्याय दिन सकेनौँ, मुक्त कमैयाहरूलाई लालपुर्जा वितरण गर्न सकेनौँ ।’

उनले सङ्घमा आफूहरूको काम गर्न नसक्नुमा अधिकार नदिनु प्रमुख कारक रहेको ठहर गरेका छन् ।

‘त्यो बेला सरकारमा सहभागी हुने निर्णय हाम्रो भूल थियो । हामीले स्वीकार गरेका छौँ ।हामीले काम गर्न नसक्नु हाम्रो कमजोरी मात्रै होइन । अरूको घेराबन्दीमा परेका छौँ ’ रेशमले भने, ‘सरकार बन्नुभन्दा पहिले दलहरूसँग हाम्रो सम्झौता गरेका थिए । अहिले त्यो अनुसार भएको छैन । ठुला दलले हाम्रो अधिकारका विषयमा गम्भीर भएनन् भने हामी सत्तामा बस्दैनौँ ।’

उनले राज्यमन्त्री अरुण चौधरीलाई भूमिका विहीन बनाएको असन्तुष्टि व्यक्त गरेका छन् । ‘अधिकार दिनुहोस्, जनताको बिचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठुला दलले सुनिरहेको अवस्था छैन । ठुला दलले यो कुरा नसुन्ने हो भने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ ’ उनले भने ‘दसैँ पछाडिबाट हामी सहभागी हुन्नौ ।’

लुम्बिनी प्रदेशमा राजकुमार चौधरीलाई शपथ नखुवाएकोमा पनि उनले ठुला दलप्रति रुष्टता व्यक्त गरेका थिए । कांग्रेस एमालेको गठबन्धनलाई शुभकामना दिँदै उनले आफ्नो पार्टी सरकारमा नरहे पनि सहयोग गर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक थारु मुख्यमन्त्री बन्ने अवसरबाट पनि केही जनप्रतिनिधिहरूको कारण असफल भएको उनको भनाइ थियो ।

उनले भने, ‘हामीले थारु मुख्यमन्त्री गुमायौँ । यसको कारण रेशम र रन्जिताले मात्रै होइन । केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टी बुझ्न सकेनन् ।’

रेशमले आफ्नो र रन्जिता श्रेष्ठबिचको विवाद पनि व्यक्तिगत नभएर सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा उत्पन्न भएको र अहिले मत्थर भएको बताए ।

‘हामी एक ठाउँमा आएका छौँ । रेशम र रन्जिताको व्यक्तिगत विवाद थिएन । विवाद सरकारमा जाने वा नजाने भन्नेमा थियो । त्यो विवादलाई जनप्रतिनिधिले मत्थर गर्नु पर्ने थियो । कुर्चीको लागि गरिएको विवादलाई हामीले पनि मत्थर गर्न सकेनौँ’ उनले भने, ‘अब नाउपा एक ढिक्का भएर अगाडी हिँड्छ । हामी एक दुई जना जनप्रतिनिधि गुमाउन चाहन्छौँ तर, मुद्दा गुमाउन चाहन्नौँ ।’

रेशम चौधरीले नेतृत्वको निर्देशन उल्लङ्घन नगर्न समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले पार्टी अध्यक्ष , केन्द्रीय समितिको निर्देशन अटेर गर्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर