बाढीपहिरोले क्षतिगस्त काभ्रेको भूमेडाँडा र बेथानचोक पुगे गृहमन्त्री लेखक – Nepal Press

बाढीपहिरोले क्षतिगस्त काभ्रेको भूमेडाँडा र बेथानचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार बिहान बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका- १२ भूमेडाँडा र बेथानचोक गाउँपालिका- ४ चलालको निरीक्षण गरेका छन् ।

सबैभन्दा बढी बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि दिउँसो जिल्ला प्रशासन कार्यालय काभ्रेको बैठकमा गृहमन्त्री लेखकले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको र तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘भारी वर्षाबाट सिर्जित बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ’, उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ ।’

विकास र विपत्तिमा राजनीति नगरी सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै उनले खोजी र उद्धारको काम जारी रहेको र अब राहतको व्यवस्था गराउने अवस्था आएको बताए ।

‘मृत्यु भएका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको छ । घरबारविहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको छ । स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ’, गृहमन्त्री लेखकले भने, ‘प्रभावित थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सीडीओले सिफारिस गर्नुहुन्छ । सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ । बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।’

बाढीपहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु र ७१ जना बेपत्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर