सांस्कृतिक संरक्षणमा पौवाको अभियानः दसैंको सरायँ नाचलाई तराईमा यसरी गर्दैछ प्रदर्शन – Nepal Press

सांस्कृतिक संरक्षणमा पौवाको अभियानः दसैंको सरायँ नाचलाई तराईमा यसरी गर्दैछ प्रदर्शन

रुपन्देही । नेपाली परम्परागत खानाको प्रवर्द्धन गर्दै आएको होटल पौवाले पछिल्लो समय परम्परागत सांस्कृतिक संरक्षणका लागि पनि पहल थालेको छ । पौवाले यस वर्षको बडादशैँको अवसरमा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा विशेष रुपमा मनाइने सरायँ नाच तराईमा व्यवस्थित रुपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

आगामी कार्तिक २ गते रुपन्देहीको तिलोत्तमा- ३ स्थित होटल पौवाको शाखामा सरायँ नाच प्रस्तुत गरिने भएको हो ।

होटल पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीका अनुसार दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले यसखालको कार्यक्रम आयोजना गरिएको बताए ।

यस वर्ष गुल्मीको छत्रकोट गाउँपालिका- १ हुँगाको टोलीद्वारा सरायँ नाच प्रस्तुत गरिने उनको भनाइ छ । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुमा कोट तथा शक्तिपीठहरूमा नाचिने सरायँ नाचको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उद्देश्यसाथ विगत वर्षदेखि नै होटल पौवाले कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।

हिन्दू परम्पराअनुसार हरेक वर्षको बडादशैँका बेला एकादशीदेखि पूर्णिमासम्म सरायँ नाच्ने प्रचलन रहे पनि नयाँ पुस्तामा यसको महत्व हराउँदै गएकाले यसको जगेर्नाका लागि आफूहरुले कार्यक्रम आयोजना गरिएको होटल पौवा बुटवल शाखाका प्रबन्धक प्रकाश पाठकले बताए ।

पाठकले कार्तिक २ गते आयोजना गरिने सरायँ नाचसँगै विभिन्न नेपाली परम्पराका परिकारहरु राखिने उल्लेख गरे । सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचारलगायतका कम्तीमा ५० रुपैयाँदेखिका परिकारहरुको स्वाद दर्शकले लिन पाउने पाठकले जानकारी दिए । विभिन्न परिकारका २० बढी स्टलसहित आयोजना गरिने सरायँ नाच प्रस्तुतिमा प्रवेश भने निःशुल्क रहनेछ ।

यसैबीच होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा आफ्ना विभिन्न ७ वटा शाखामा लिङ्गे पिङ राखेर अतिथिहरुलाई मनोरञ्जन समेत प्रदान गर्दै आएको छ । नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङलगायत ७ वटा शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको प्रबन्धक पाठकले जानकारी दिए ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटीसहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा विस्तारलाई समेत तीब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच विस्तार गरेको छ । हालसम्म देशभरका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ ।

‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं’, ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा रहेका छन् ।’

यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगञ्जमा शाखा विस्तार गरी शीघ्र सञ्चालनको तयारीमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर