भ्रम र अफवाह फैलाउने ४३ युट्युव च्यानललाई कारवाही गर्न प्रहरीमा सिफारिस, ३ अनलाइन कालोसूचीमा (सूचीसहित) – Nepal Press

भ्रम र अफवाह फैलाउने ४३ युट्युव च्यानललाई कारवाही गर्न प्रहरीमा सिफारिस, ३ अनलाइन कालोसूचीमा (सूचीसहित)

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको आरोपमा ती माध्यमलाई कानूनी कारवाहीको लागि पठाइएको हो । कारवाहीको लागि लेखी पठाइएका ती कुनै पनि युट्युव च्यानल सञ्चारमाध्यमका रूपमा दर्ता छैनन् । दर्ताविनाका यी च्यानललाई सचेत गराई नसच्चिएपछि थप कारवाहीका लागि प्रहरीमा आग्रह गर्ने गरिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।

काउन्सिल अध्यक्ष बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरिएको हो ।

काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, निराधार विषयको अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउनेविरुद्ध कारवाही तीव्र पारिएको जनाएको हो ।

त्यस्तै साउनयता मात्र आचारसंहिता पालनाको निर्देशन अटेर गर्ने एबीपीक्राइमन्यूज डट कम, टीभि अन्नपूर्ण डटकम र सेतोखरी डटकमलाई कालोसूचीमा राखिएको छ । साउनयतामात्र ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारवाही गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

युट्युव च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासा बढ्न थालेपछि कार्यविधि बनाएर काउन्सिलले नियमन थालेको छ ।

विवादास्पद समाचार सम्प्रेषण गर्दै आएको आरोपमा अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी निगरानी गरिरहेको काउन्सिलले जनाएको छ ।

हेर्नुहोस् कारवाहीमा परेकाहरूको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर