‘तरमारा’ विरोधी अभियानमा रञ्जितको टिप्पणी- यो क्षणिकको आत्मसन्तुष्टि हो, निकास होइन – Nepal Press

‘तरमारा’ विरोधी अभियानमा रञ्जितको टिप्पणी- यो क्षणिकको आत्मसन्तुष्टि हो, निकास होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हदको बहस चलिरहेको बेलामा विद्यार्थी नेताहरूले पार्टीमा पनि अवसरको हद तोक्नुपर्ने बहस चलाइरहेका छन् । संगठनमा उमेर हदको विपक्षमा उभिएका विद्यार्थी नेताले पार्टीका नेताहरूलाई पनि अवसर हद लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरीराजमणि पोखरेललगायको फोटोसहितको ब्यानर बनाएर ‘उमेर हद तोकौं, अवसरको हद तोकौं’ भन्दै प्रतिवाद भइरहेको छ ।

माओवादीमा ‘तरमाराहरूलाई घरमै रेस्ट, अवसरको हदमा फ्लोर टेस्ट’, संघर्षको शिखरमा उभिएको पार्टीमा अवसरको समान वितरण कि परम्परातको निरन्तरता ? उमेरमा ध्यान खिच्ने अवसरमा सीमा मिच्ने ? को कति हुने ? कोको हुने ? अब पुगेन ? लगायतको प्रश्न अघि सार्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

माओवादीभित्र विद्यार्थी नेताहरूले चलाएको अवसर हदको बहस, पार्टीको आगामी अभियान र सरकार हालसम्मको समीक्षालगायतको बिषयमा केन्द्रित रहेको अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङसँगको कुराकानी नेपाल टकमा-

– अखिल क्रान्तिकारीमा उमेर हदको विवादले नेतृत्व चयन हुन सकेन । अहिले विद्यार्थी नेताहरूले पनि पार्टीभित्र अवसर हद तौकौं भनेर बहस चलाइरहेका छन् त्यसलाई कसरी लिनुहुन्छ ?

विद्यार्थीको सम्मेलन हामीले अपेक्षा गरेअनुसार सम्पन्न हुन सकेन । चाहे पार्टी संगठन होस् वा पार्टीकै पनि अधिवेशनहरू आयोजना हुने तर व्यवस्थित ढंगले त्यसलाई सम्पन्न गर्न नसक्ने समस्या भइरहेको छ । अहिले यो सम्मेलन असफल भएपनि जे तर्क भइरहेका छन् त्यो एउटा आधार हो तर त्यो मात्रै अन्तिम विकल्प होइन ।

विद्यार्थी सम्मेलनबाट जे निराशा आयो त्यसपछि सबैतिर नयाँ ढंगले सोचौं भन्ने त हो तर, त्यसको लाति सामाजिक सञ्जालहरूमा गराइराखेको बहस मात्रै पनि निकास दिँदैन । यसले तत्कालका लागि हामीलाई एउटा आत्मसन्तुष्टि त हुन्छ तर, सम्पूर्ण निकास होइन ।

-माओवादी नेतृत्वबाट अवसर पाउनेमा पटक-पटक एउटै अनुहार दोहोरिँदा पार्टीभित्र अवसर हदको कुरा चल्नु स्वाभाविक होइन र ?

विद्यार्थीको नयाँ पुस्ताले आजको हामी सबैभन्दा एड्भान्स पुस्ता हो, हामी सक्षम छौं भन्नेहरू आफ्नो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न असक्षम भएपछि अरुलाई यो भएन त्यो भएन भनेर अरुतिर तारो बनाउने कुरा राम्रो होइन । विषय त जसले पनि राम्रो र आर्दश नै उठाउँछ तर हाम्रो मूल कुरा हामीले परिणाम के निकाल्यौं भन्ने कुरामा जानुपर्‍यो नि !

विद्यार्थीको सम्मेलनले अहिले पार्टीको सम्मेलनबारे धेरै चासो देखाउने के गर्ने भनेर बोल्ने बेला भएको छैन । पहिला आफ्नो जिम्मेवारी पूरा गर्ने हो । उठाएको कुराहरू छलफल बहस गर्नुपर्छ । कम्युनिष्ट पार्टीहरूले त्यससम्बन्धी कुनै विधि नबनाई लोकतन्त्र मान्ने कि केन्द्रियता मान्ने भन्ने कुरामा निकास ननिकालकन यही ठिक हो यो बेठिक हो भनेरमात्रै समस्याको समाधान हुँदैन ।

-तर, पार्टी नेताहरूको गुटबन्दीकै कारणले अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा भएको आरोप छ ?

यो पटक पार्टीको गुटको कारणले हुन नसकेको होइन । पार्टीका सबै नेताहरू उमेर हदको पक्षमा देखिनुहुन्थ्यो । विद्यार्थीहरूले उमेद हदको कुरा ल्याए भने त्यसलाई स्वाभाविकरूपमा लिनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । विद्यार्थीले उमेर हदको विषय ल्याए स्वीकार्नुपर्छ भन्ने पक्षमा नै हुनुहुन्थ्यो ।

तर, विद्यार्थीहरू आफैंले आफ्नो समस्या समाधान गर्न नसकेर उमेर हदको पक्ष र विपक्षमा ठूलो संघर्ष भएको कारणले गर्दा अहिलेको स्थिति बनेको हो । पार्टी नेताहरूको गुटको कारणले भन्न मिल्दैन ।

-अब पार्टीको कुरा गरौं, हालैमात्रै पार्टीले सबै प्रदेश परामर्श समितिको बैठक टुंग्याइसकेको छ । बैठकको निष्कर्ष के रह्यो ?

बैठकमा अहिले १९ महिना पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेका कामलाई आधार बनाएर जानताको विषयमा जानुपर्छ भन्ने निष्कर्ष निकालेको छ । अहिले अध्यक्ष प्रचण्डकै नेतृत्वमा अहिले पार्टीको जुन टीमलाई त्यसलाई एकताबद्ध गरेर विचार र एजेण्डा मिल्ने समाजवादी मोर्चामा आबद्ध भएका पार्टीहरूलाई समेत एकताको बाटोमा लैजाँदै देशको निराशा हटाउन राजनीतिक नेतृत्व लिनुपर्छ ।

पार्टीभित्र पनि केही कुरा मिलेका छैनन्, प्रजातान्त्रिक मूल्य मान्यता र केन्द्रियता, निर्वाचन वा सर्वसम्मतको विधिलाई नयाँ ढंगले समाधान खोज्नुपर्छ, र पार्टीभित्र कतिपय कार्यशैलीगत कुरा मिलेका छैनन्, त्यसलाई मिलाउनुपर्छ भन्नेलगायतका कुरा उठेका छन् ।

-तपाईंहरूले प्रचण्डकै नेतृत्वमा एकताबद्ध भएर जानुपर्छ भन्दै गर्दा नेतृत्व हस्तान्तरणसहित जनार्दन शर्माले राखेको प्रस्तावलाई कसरी बुझ्नुहुन्छ ?

उहाँले राख्नुभएको संरचनागत र कार्यशैलीगत कुरामा केही कमजोरी छ त्यसलाई रूपान्तरण गर्नुपर्छ, पार्टीभित्रको पुस्तान्तरणलाई नयाँ ढंगले छलफल गर्नुपर्छ भन्नुभएको छ । तर, आजको दिनमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनभित्रको कुरा माओवादीले छलफल गरेर टुंग्याउन सक्दैन । यो लेलिनले, माओलगायत अन्तराष्ट्रिय कम्युनिष्ट ठूल्ठूला नेताहरूले समेत हल गर्न नसकेको विषयमा माओवादीले एक/दिनमा दुई दिनमा तुरून्तै हल गर्ने सामान्य विषय होइन ।

वृहत पार्टी भइसकेपछि समस्याहरू आउँछन् नै त्यो समस्याहरूलाई समाधान गर्न एकताबद्ध हुनुहुन्छ । सैद्धान्तिक निकास खोज्नुपर्छ, सैद्धान्तिक निकास खोज्न आजसम्म कम्युनिष्ट पार्टीहरूले विकास गरेका अथवा छलफल चलाएका सम्दर्भ सामग्रीहरू र हाम्रो आवश्यक मौलिकताको आधारमा खोज्नुपर्छ भन्ने कुरा छ । त्यसका लागि महाधिवेशन वा विशेष महाधिवेशनको वातावरण पुर्‍याएर नेतृत्व विकास, उत्ताराधिकारीसम्बन्धी या अरू तमाम पार्टीभित्रको कार्यशौलीगत रूपान्तरणको सवालमा विधि विकास गर्नुपर्छ भन्ने नै मूल विषय हो ।

-विशेष महाधिवेशनसम्म पुग्दा नेतृत्व हस्तान्तरणको सम्भावना हुन्छ ?

अहिले माओवादीमा त्यो सम्भव छैन । प्रचण्डको नेतृत्वमा नै यत्रो ठूलो राजनीतिक परिर्वतन भयो, देशको व्यवस्था परिवर्तनमा ठूलो भूमिका खेल्यो, अब यो बेलामा प्रचण्डले एउटा युगान्तकारी भूमिका निर्वाह गरेको बेलामा र आजको देशको समकालीन राजनीतिमा पनि एउटा लिडिङ रोलमा भएको व्यक्तिलाई हटाएर अर्को पुस्तान्तरण गर्ने कुरा होइन । अहिले उहाँहरूले उठाएको पनि त्यो होइन । उहाँहरूले अब त्यतापट्टि पनि सोच्नुपर्छ भन्ने कुरा उठाउनुभएको हो । त्यसले गर्दा अहिले नै महाधिवेशनले नै सबै कुरा टुंग्याउँछ भन्ने होइन ।

अब दशैँतिहारको बीचमा केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ त्यहाँ अध्यक्षले परामर्श समिति र पार्टी बैठकमा उठेका सबै विषयलाई समेटेर प्रतिवेदन ल्याउँछु त्यसको आधारमा पार्टीलाई कसरी लैजाने भन्ने तय हुन्छ भन्नुभएको छ। अब बस्ने केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्निर्माण र पार्टीभित्र देखिएको समस्याको समाधान खोज्छौं ।

– अहिले सरकारबाट बाहिरिएपछि पार्टी पुन:निर्माणको अभियानमा लाग्ने भन्नुभएको छ । उता समाजवादी मोर्चालाई पनि सँगै अगाडि बढाउन खोजिएको छ । यो एकताको तहसम्मै जान्छ ?

त्यसलाई एकताको तहमै लैजानुपर्छ भन्ने नै छ हाम्रो । त्यहीअनुसारको एक ढंगको छलफल पनि चलिरहेको छ । सबै पार्टीसँग मोर्चामा भएकाहरूसँग । तर, अहिले नै एकता भइहाल्छ भन्न सकिँदैन । तर, गर्नुपर्छ भन्ने कुरामा हामी मात्रै होइन मोर्चाका घटक पनि तयार देखिनुभएको छ ।

-उपनिर्वाचन पनि हुँदैछ, अध्यक्षले अब हामी आगामी चुनाव पनि एक्ले लड्छ भन्नुभएको छ, त्यो आँट माओवादी गर्छ ?

माओवादी एक्लै लड्छ, यो उपनिर्वाचन र आगामी निर्वाचनमा पनि माओवादी एक्लै जान्छ । माओवादीसँग विचार मिल्नेहरुसँग ध्रुविकरण र एकताको प्रक्रियाबाट पनि अघि बढ्छौं । तर, कांग्रेस एमालेसँग गठबन्धन गरेर माओवादी चुनावमा जाँदैन ।

अहिले राजनीतिमा पनि भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधरलाई हटाएर भ्रष्टाचारीहरूलाई जोगाउन सरकार बनेको छ । भ्रष्टाचारीलाई जोगाउन बनेको सरकारका साझेदार (कांग्रेस-एमाले) सँग माओवादी चुनावी गठबन्धनमा जाँदैन ।

– कांग्रेस-एमाले गठबन्धन सरकारको अहिलेसम्मको कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

असारदेखि यता देशमा कुनै सरकार नै छैन । एउटा सरकाररुपी गठबन्धन भनियो । तर, सरकार छ भन्ने कुरा कहिँ पनि देखिएको छैन । देशमा यस्तो संकट पर्दा पनि कुनै भूमिका देखिएको छैन । अर्थतन्त्र समस्या समाधान गर्न र जनताको निराशा चिर्न पनि असफल देखिएको छ । अहिले सरकार हराएको समय बनेको छ । यो सरकार सम्पूर्ण रुपमा असफल भइसकेको छ । सरकारलाई सरकार भन्ने कुनै नैतिक धरातल छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *