काभ्रेका बाढीपहिरो प्रभावितको विचल्ली, काजकिरियासमेत आफन्त र भाडाको घरमा – Nepal Press

काभ्रेका बाढीपहिरो प्रभावितको विचल्ली, काजकिरियासमेत आफन्त र भाडाको घरमा

काठमाडौं । काभ्रेमा बाढीपहिरो प्रभावितको विचल्ली भएको छ । तीनै तहका सरकारले सहयोगका विषय प्रचार गरेपनि पीडितले काजकिरियासमेत आफन्त र भाडाको घरमा गर्नुपरेको जनाएका छन् ।

पनौती नगरपालिका वार्ड नं. १० कपासेका आर्यन महतका अनुसार यही असोज १२ गते बिहान ३ बजे आएको बाढी र लेदोसहित बगेकोले काशीराम महत र ज्ञानु परियारको ज्यान गयो । ‘ज्ञानुलाई खोलाले बगायो, काशिराम पहिरोमा पुरिएर ज्यान गुमाउनभो’, आर्यनले त्रासदीपूर्ण रात सम्झदै भने, ‘लगाएको कपडा बाहेक मेरो पनि केहि बचेन, धन्न भागेर ज्यान भने बचाइयो ।’

पनौती खोकना बजारमा आफन्तकहाँ आश्रय लिइरहेका आर्यनको २०३८ सालमा बनेको घर, गोठ, किराना पसल, ट्रयाक्टर, मोटरसाईकल, भैंसी, खसी, बाख्रा, भुस्सा काट्ने मेशिन र सिंचाइ गर्ने जेनेरेटर सबै बगेको थियो । ‘हुने खाने भनेर चिनिन्थें, अहिले राहत थापेर बाँच्नु परेको छ’, उनले दुःखेसो पोखे, ‘अब के कसो गर्ने ? सोंच्नै सकेको छैन ।‘

प्रभावितहरुका अनुसार वि.सं. २०२५ सालमा ठूलो बाढी आएको र त्यतिबेला समेत कुनै क्षति नभएको ठाउँमा यसपटक दुई दिनको बर्षाले तहननहस बनाएको छ । गाउँभरि पहिरो गएका छन्, पूर्ववत् अवस्थामा फर्कन निकै गाह«ो छ ।

कपासेका ९ घर पूर्ण रुपमा पहिरोले पुरिएका र बाढीमा बगेका छन् । आंशिक क्षति हुनेको संख्या धेरै छ । बेथानचोकका पनि धेरै घर भत्किए ।

बाढी पहिरोपछि अधिकांशले गाउँ छाडेका छन् । ‘कोहि आफन्तकहाँ त कोहि भाडा गरेर खोकना, पनौति र बनेपातिर बसाइ सरिरहेका छन्’– आर्यन भन्छन्– ‘अब गाउँ फर्कन लायक रहेन ।’

बाढी पहिरोबाट आफन्त गुमाएका पीडितहरु काज किरिया गर्न समेत आफन्त वा भाडाको घर प्रयोग गर्नुपरेको छ । मान्छे गुमाएको पीडा त छँदैछ, त्यसमाथि घरबार विहिन हुनुको विपत्ति ।

काभ्रे जिल्लामा बाढी पहिरोबाट ७७ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाले र बेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाए । पहिरोले ग्रामीण सडक प्रायः सबै अबरुद्ध छन् । यति धेरै क्षति ब्यहोरेका स्थानीयलाई जिल्ला दैवीप्रकोप उद्धार समिति, राजनीतिक तथा सामाजिक संघ संस्थाहरुले वितरण गरेको राहतले गुजारा चलाइरहेका छन् । कतिपय ठाउँमा अझै राहत पुग्न सकेको छैन ।

यसैबीच, पनौती र बेथानचोकका ४५ बाढी पहिरो पीडित परिवारलाई काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ७ मा केन्द्रीय कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत वितरण गरेको छ ।

पनौती नगरपालिका वार्ड नं. १० कपासे र बेथानचोक गाउँपालिका वार्ड नं. ४ का पीडितहरुमध्ये ४५ परिवारलाई सोमबार राहत वितरण गरिएको हो ।

पाँच लिटरको प्रेसर कुकर, कराही, डाडु, पन्यु, ६/६ थान स्टील थाल र गिलास तथा एक थान ब्ल्याँकेट वितरण गरिएको हो । शैलेन्द्र बगर खोलामा आएको बाढी र पहिरोका कारण सो ठाउँका दुई जनाले ज्यान गुमाएका थिए भने झण्डै चार दर्जन घर क्षति भएको थियो ।

सबै गुमाएका प्रभावितलाई सानो सहयोग होस् भनेर राहत उपलब्ध गराइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए । संस्थाले करिब दुई लाख रुपैयाँको राहत दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर