युट्युवमा ‘जारी’ : १५ घण्टामै मिलियन भ्यूज, ट्रेन्डिङमा उकालो चढ्दै – Nepal Press

युट्युवमा ‘जारी’ : १५ घण्टामै मिलियन भ्यूज, ट्रेन्डिङमा उकालो चढ्दै

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशिक ब्लकबस्टर फिल्म ‘जारी’ हलमा रिलिज भएको डेढ वर्षपछि युट्युवमा राखिएको छ । निर्माणपक्षले दशैँको उपहार भन्दै नि:शुल्क प्लेटफर्ममा अपलोड गरिदिएपछि दर्शकहरू फिल्म हेर्न उर्लिएका छन् ।

गत वर्ष वैशाख १ गते यो चलचित्र रिलिज भएको थियो । चलचित्र विकास बोर्डको रेकर्डअनुसार चलचित्रले १७ करोड १७ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ । २०८० सालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको थियो जारी ।

यो चलचित्रपछि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको बाटो अलग भयो । रामबाबुले ‘डिग्री माइला’ बनाए भने उपेन्द्रले मनसरा । दुवै चलचित्रले उल्लेख्य व्यापारिक सफलता पाउन सकेनन् ।

‘जारी’ को सफलताले सबैभन्दा ठूलो फाइदा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई भयो । यो जोडी अहिले नेपाली चलचित्रको सर्वाधिक हिट जोडी मानिएको छ । यद्यपि, उनीहरुले सँगै अभिनय गरेका अन्य चलचित्रले जारीको सफलता दोहोर्‍याउन भने सकेका छैनन् ।

‘जारी’ अहिले बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट हिजो साँझ ५ बजे युट्युवमा अपलोड गरिएको हो । यो समाचार लेख्दासम्म चलचित्रले १० लाख ६२ हजार भ्यूज प्राप्त गरिसकेको छ । करिब ४ हजारले प्रतिक्रिया दिएका छन् । अधिकांश प्रतिक्रियाहरुमा मौलिक चलचित्र भन्दै तारिफ गरिएको छ । धेरैले नेपाली चलचित्र यस्तै हुनुपर्ने धारणा दिएका छन् ।

जारी युट्यूवको नेपाल ट्रेन्डिङमा पनि चढिसकेको छ । अहिले ७ नम्बरमा रहेको चलचित्र चाँडै एक नम्बरसम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर