बजार अनुगमन गर्न पुगेका सरकारी अधिकारीमाथि जाइ लाग्ने व्यापारीलाई कारवाहीको तयारी – Nepal Press

बजार अनुगमन गर्न पुगेका सरकारी अधिकारीमाथि जाइ लाग्ने व्यापारीलाई कारवाहीको तयारी

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायीलाई प्रशासनले कानुन बमोजिम कारवाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा व्यवसायीलेअसहयोग गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत संलग्न भएको उक्त अनुगमनमा मन्त्री भण्डारी फर्केपछि केही व्यवसायीले कर्मचारीमाथि नै अभद्र व्यवहार गरेका थिए ।

सोमबार व्यवसायीसहित कालिमाटी फलफुल तथा तरकारी विकास समिति अध्यक्ष एवम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव मदन भुजेल, काठमाडौं प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्लाप्रहरी परिसर प्रमुख बसन्त रजौरे र वाणिज्य विभाग लगायतका नियमनकारी निकायले कानुन अनुसार कारवाही गर्ने निर्णय गरेका हुन् ।

व्यवसायीले अहिले मात्रै नभई विगतमा समेत असहयोग र अभद्र व्यवहार गर्दै आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । व्यवसायीले अनुगमन प्रभावित गर्ने क्रियाकलाप गरेमा उननीहरुको दर्ता खारेजी गरिने उनको भनाई छ ।

सोमबार नियमनकारी निकायले गरेका निर्णयमा अनिवार्य रुपले मूल्य सूची राख्नुपर्ने, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम वमोजिम कारवाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसरभित्रको सरसफाईमा विशेष ध्यान दिने लगायत रहेका छन् ।

आइतबार मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभाविक मुल्यवृद्धि गरेको पाइएको थियो ।

मन्त्री भण्डारीले कालोबजारी र अस्वभाविक मुल्यवृद्धि गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *