टेलिकमको बिलिङ प्रणाली खरिदमा अनियमितता, भेन्डर लकिङ गरेर सेटिङमा प्रतिस्पर्धा – Nepal Press

टेलिकमको बिलिङ प्रणाली खरिदमा अनियमितता, भेन्डर लकिङ गरेर सेटिङमा प्रतिस्पर्धा

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामै अनियमितताको आशंकामा छानबिन थालिएको छ । निश्चित भेन्डरलाई फाइदा हुनेगरी टेण्डर आह्वानमै गडबडी गरिएको उजुरी अख्तियारदेखि, प्रधानमन्त्री कार्यालय र सतर्कता केन्द्रसम्म परेपछि यसबारे सोधखोज शुरू भएको हो ।

सार्वजनिक खरिदसम्बन्धी निर्देशिकाविपरीत यो प्रणाली खरिद टेण्डरमा राखिएका प्रावधानले प्रतिस्पर्धालाई साँघुरो बनाएको आरोप छ । त्यस्तै प्रतिस्पर्धा सीमित गरेर पुरानो प्रविधिको प्रणाली खरिद गर्न खोजिएको विज्ञहरूको दाबी छ । यसले नेपाल टेलिकमको प्रतिस्पर्धी बजारमा सहयोग पुग्दैन ।

टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता यो पहिलो भने होइन । यसअघि पनि निश्चित समूहको लागि काम गर्दा विवाद भएर अख्तियारसम्म पुगेको थियो । टेलिकमको यसअघिको नेतृत्व करिब आधा दर्जन मुद्दा खेपिरहेका बेला अहिलेको नेतृत्व शुरूमै विवादमा आउनेगरी भएको टेण्डर प्रक्रियामाथि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने अहिलेसम्म भेउ नपाएको वा चासो नदिएको भन्ने प्रश्न उठेको छ ।

कसरी हुँदैछ अनियमितता ?

नेपाल टेलिकमले निकालेको टेण्डर: IFB No. NDCL/CTO/ICB/10/080-81 for Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing and Customer Support System in Virtualized Platform, अनियमितता भएको हो । यसमा सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले जारी गरेको खरिद निर्देशिकाको प्रतिकुलका व्यवस्था राख्नुको साथै सेटिङमा कुनै निश्चित Vendor लाई लाभ हुने गरी टेन्डर आव्हान गरिएको स्रोतको दाबी छ ।

खरिद सम्बन्धी निर्देशिकाको प्रतिकुल यस टेन्डरमा राखिएका प्रावधानहरुले एकातिर प्रतिष्पर्धालाई सिमित गरेको छ भने अर्कातिर पुरानो प्रविधिको प्रणाली खरिद गर्न खोजिएको छ । पुरानो प्रविधि खरिद गर्दा यस्तो प्रणाली र सेवाको दीर्घकालसम्मको लागि Total Cost of Ownership: TCO को कुनै लेखाजोखा समेत गरिएको छैन जसले सुरूवातमा थोरै लगानी गरेको देखिए पनि दिर्घकालसम्म त्यसको सञ्चालन खर्च दशौं गुणा बढेर जाने जानकारहरू बताउँछन् ।

हाल सञ्चालनमा रहेको Real Time Billing System लाई Asia Info नामक चिनिया कम्पनीले जडान गरेको थियो । जसको सुरुवाती मूल्य एक अर्ब २६ करोड थियो तर विगत १० वर्षमा मात्र उक्त प्रणालीको सञ्चालनमा थप ५ अर्बभन्दा बढी खर्च भइसकेको छ भने आगामी ५ वर्षको लागि थप ३ अर्ब २५ करोड मर्मत तथा सम्भार खर्च बापत भुक्तानी गर्ने गरी निलम्बित मूख्य सचिव एवम् तत्‌कालिन सञ्चार सचिव रहेका डा. बैकुण्ठ अर्याल नेतृत्वको नेपाल टेलिकम सञ्चालक समितिले निर्णय गरी पहिलो किस्ता बापतको रकम समेत भुक्तानि गरिसकेको अवस्था छ । त्यस्तै प्रस्तावित टेण्डरले खरिद गर्न खोजिएको बिलिंग प्रणाली को Time To Market जस्ता आधारभुत विशेषताहरुलाई नजर अन्दाज गरेको बताइन्छ ।

नेपाल टेलिकमले निकालेको टेण्डर: IFB No. NDCL/CTO/ICB/10/080-81 मा देखिएको कमी कमजोरी र सेटिङबारे यहाँ आधारसहित खुलासा गरेका छौं ।

  • Clause 2.4.1 General Experience, Clause 2 and 3:

खण्ड २: प्रस्तावित CRTB & CS को निर्माता IRCM(Integrated Revenue and Customer Management) को लागि गार्टनर म्याजिक क्वाड्रन्टमा सन् २०१७ देखि हाल सम्म कम्तिमा एक पटकको लागि Gartner Magic Quadrant मा Leader को रुपमा रहेको हुनु पर्नेछ र बोलपत्र दाताले उक्त प्रावधान पूरा गरेको आधिकारिक प्रमाणित कागजात पेश गर्नु पर्नेछ(The Manufacturer of offered CRTB&CS shall be a Leader in Gartner Magic Quadrant for IRCM (Integrated Revenue and Customer Management) for at least once as of year 2017 A.D. onwards. The bidder shall submit authentic documentary evidence in order to fulfil the requirements of this clause.)।

खण्ड ३:  प्रणाली एकीकरणकर्ता (SI) IT Services for Communications Service Providers(CSP) को लागि गार्टनर म्याजिक क्वाड्रन्टमा सन् २०१७ देखि हाल सम्म कम्तिमा एक पटकको लागि Leader, Worldwide को रुपमा रहेको हुनु पर्नेछ । SI ले सामान्य अनुभवको माथिको खण्ड २ अनुसार निर्माताको CRTB र CS प्रणाली प्रस्ताव गर्नेछ । प्रस्तावित OCS र CRM मोड्युल एउटै उत्पादन निर्माताको हुनुपर्नेछ। बोलपत्र दाताले उक्त प्रावधान पूरा गरेको आधिकारिक प्रमाणित कागजात वा प्रयोगको प्रमाणपत्र पेश गर्नु पर्नेछ । (The System integrator (SI) shall be a leader in Gartner’s Magic Quadrant for IT Services for Communications Service Providers (CSP), Worldwide for at least once as of year 2017 A.D. onwards. The SI shall offer CRTB&CS system of manufacturer as per above Clause 2 of General Experience. The offered OCS and CRM module shall be of same product manufacturer. Bidder shall submit authentic documentary evidence or necessary user certificate in order to fulfil the criteria)

  • Gartner ले IRCM को लागि सन् २०१९ देखि नै Magic Quadrant को सूची प्रकाशन गर्न बन्द गरिसकेको अवस्था छ भने Gartner ले हालै Magic Guide प्रकाशन समेत गरेको छ । खण्ड २ को प्रावधानले गर्दा सन् २०१९ भन्दा पछिल्लो समयका विश्व बजारमा अत्यन्त उदयीमान प्रणाली निर्माताहरूले भागै लिन नसक्ने/नपाउने अवस्था सिर्जना भएको स्रोतको भनाइ छ । IRCM लगायतका प्रणालीहरु TM FORUM architecture भित्र पर्ने भए तापनि TM FORUM architecture वा ODA (Open Digital Architecture) Compliance आदि केही पनि उल्लेख नगरिनुको र SI पनि Gartner Leader रहनु पर्ने जस्ता प्रावधानहरुले गर्दा हाल नेपाल टेलिकमले निश्कासन गरेको Billing टेण्डरले निम्न अस्वीकारीय अवस्था सिर्जना गरेको एक विज्ञले बताए ।
  • आव्हान गरिएको टेण्डरमा एउटामात्र संस्थाले भाग लिनुले नै प्रतिष्पर्धालाई सीमित गर्न खोजिएको पुष्टि गरिसकेको छ ।
  • केही निश्चित Vendor लाई मात्र लाभ हुने प्रावधानहरु राख्न खोजिएको छ । यसबाट अस्वाभाविक रुपमा लागत अनुमानकै रकमको हाराहारीमा टेण्डर अवार्ड गर्न खोजिएको छ ।
  • Magic Quadrant को प्रकाशन बन्द भैसकेको र Magic Guide प्रकाशन हुने गरेको परिप्रेक्षमा अझै पनि Magic Quadrant मात्र माग गर्दा पछिल्लो समय विश्वव्यापि रुपमा ठूला ठूला दूरसञ्चार सेवा प्रदायकहरुलाई सेवा प्रदान गरी ख्याती कमाएका सेवा प्रदायक तथा Vendor ले भाग लिनै नपाउने गरी Tender मा सेटिंग गरिएको देखिन्छ।
  • CRBT र CS को लागि एउटै निर्माता/Vendor हुनु पर्ने प्रावधानले गर्दा एकातिर प्रतिषपर्धालाई संकुचित तुल्याएको छ भने अर्कोतिर Nepal Telecom ले उत्कृष्ट Product हरु लिएर Integrate गर्न पाउने अवसर गुमाएको छ। कम्तीमा पनि CRBT र CS का छुट्टा छट्टै Product र Vendor लिएर Joint Venture मा Tender मा प्रतिष्पर्धा गर्न पाउने र मिल्ने व्यवस्था तुरुन्त गर्नु पर्ने देखिन्छ फलस्वरुप नेपाल टेलिकमले उत्कृष्ट CRBT र उत्कृष्ट CS पाउन सक्ने सम्भावना रहन्छ। अन्यथा नेपाल टेलिकमलाई र राज्यलाई नै घात हुने निश्चित देखिन्छ भने सेटिंगमा अर्वौं रकम भ्रष्टाचार गर्न खोजिएको समेत प्रमाणित हुनेछ।

२. यो टेण्डर प्रकृयाले पछिल्लो समयको उत्कृष्त र प्रमाणित भैसकेको प्रणालीलाई आत्मसाथ गर्न नसकेको टेलिकमकै उच्च तहका एक प्राविधिक बताउँछन् । हाल माग गरिएको टेण्डर IFB No. NDCL/CTO/ICB/10/080-81 for Supply, Delivery, Installation and Commissioning of Convergent Real Time Billing and Customer Support System in Virtualized Platform का कमी कमजोरी र सेटिंगमा कमजोर प्रणाली खरिद गर्न खोजिएको तथ्य उजागर भएको हो ।

(क) Open API Certification माग गरिएको छैन, जसको कारण भविष्यमा Integration को खर्च अत्यधिक बढेर जाने निश्चित छ ।

(ख) TMFORUM र ODA: Open Digital Architecture माग गरिएको छैन । Third Party Quadrant भन्दा TMFORUM/ODA बढी भरपर्दो र विश्वसनीय हुनुको साथै Cost Effective समेत रहेको छ ।

(ग) Non Functional Requirements, Business Requirements हरु समावेश गरिएको छैन ।

(घ) Low Code/No Code जस्ता Capability हरु जो अनिवार्य छन् त्यस्ता आवश्यकताहरु राखिएका छैनन् । TMFORUM ले समेत सिफारिस गरेको Low Code/ No Code जस्ता Capability हरु सहितको प्रणालीलाई आत्मसाथ गर्दा सञ्चालन खर्च अत्यन्त न्यून हुन जान्छ तर यस्तो प्रणालीलाई आत्मसाथ नगरेर नेपाल टेलिकमले दिर्घकालिन रुपमा स्वयम् आफ्नै संस्थाको दोहन गरी भ्रष्टाचार गर्ने र संस्थालाई धरासायी बनाउने प्रष्ट नियत देखाएको छ ।

(ङ) Product Configuration र business scenario हरु उल्लेख गरिएको छैन ।

(च) Smooth Elasticity र Scalability जस्ता आधारभुत विशेषताहरु जसले गर्दा भबिष्यमा प्रणाली विस्तार गर्न न्यून मात्रामा मात्र खर्च गरे पुग्छ, त्यस्तो प्रावधानहरु नराखेर अनन्तकालसम्म संस्थालाई अनावश्यक रुपमा दोहन गर्ने र लुट मच्चाउने प्रपञ्च गरिएको प्रष्ट देखिएको छ।

(छ) Cloud Native Compliance जस्ता Feature हरु अत्यावश्यक भएता पनि राखिएको छैन ।

३. Non BSS requirement हरु संग Bundling गरिएको छ।

(क) १५ थान laptop र १५ थान Desktop माग गरिएको छ। Laptop र Desktop हरु non-BSS Requirement रहेको हुँदा यो टेण्डरमा bundling गरेर राख्दा अनावश्यक रुपमा अस्वाभाविक बढी मूल्यमा खरिद गर्नुपर्ने बाध्यता हुन सक्छ।

(ख) डाटा सेन्टर र क्लाउडहरू विद्यमान रहेको अवस्थामा NDCL ले अझै पनि यस परियोजनामा ​​इन्फ्रा अनुरोध गरिरहेको छ जसले NDCL को लागि खरिद लागत बढाउनेछ । क्लाउड/ भर्चुअलाइज्ड इन्फ्रा छुट्टा छुट्टै रुपमा खरिद गर्दा राम्रा कम्पनीहरूका स्तरीय Product हरु सोझै खरिद गर्न सक्ने सुविधा रहने स्रोतको भनाइ छ ।

(ग) AAA(Authentication, Authorization and Accounting) Module, IOT Management module, Enterprise Management System, Voucher Management System लगायतका प्रणालीहरु पछि आचश्यकता अनुसार छुट्टै किनेको अवस्थामा भविष्यको आवश्यकता अनुसार स्तरीय र प्रभाबकारी प्रणालीहरु सस्तो मूल्यमा उपलब्ध हुन सक्ने अवस्था छ । साथै हाल विद्यमान प्रणाली तथा Module जस्तै USSD Module लाई पुनरयोग गर्ने सम्भावना रहेकोमा नेपाल टेलिकमले कुनै अध्ययन र चासो देखाएको छैन ।

प्रतिस्पर्धा सीमित गरेर पुरानो प्रविधिको प्रणाली खरिद गर्न भइरहेको सेटिङ तोड्न नियामक निकायले समयमा नै पहल नलिए खरिद भइसकेपछि संस्था र राज्यलाई हुने हानी-नोक्सानीले दीर्घकालसम्म असर पुग्नेतर्फ जानकारहरूले सचेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर