राष्ट्रियसभा अध्यक्ष र रूसी राजदूतको भेट : विद्युतमा लगानीदेखि छात्रवृत्तिको कोटा वृद्धिसम्मको छलफल – Nepal Press

राष्ट्रियसभा अध्यक्ष र रूसी राजदूतको भेट : विद्युतमा लगानीदेखि छात्रवृत्तिको कोटा वृद्धिसम्मको छलफल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छ न्। राजदूत नोभिकोभले सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान-प्रदान लगायतका विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष दाहालले नेपाल-रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नेपालको संघीय संसदमा नेपाल-रुस संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदान प्रदान गर्न सहज हुने बताए ।

नेपाली विद्यार्थीहरूलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौं-मस्को सिधा हवाई सेवा सुचारु गर्न पहल गर्नु आग्रह गरे ।

नेपालको कृषि, प्रविधि र ऊर्जाको क्षेत्रमा लगानी गर्न रुसी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धन गरि रुसी नागरिकहरुलाई नेपाल भ्रमणको वातावरण बताउन पनि अनुरोध गरे ।

रुस-युक्रेन युद्ध भएपछि नेपाली नागरिकहरू विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह स्मरण गराए ।
सो अवसरमा राजदूत नोभिकोभले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको भन्दै आपसी हित, सहयोग आदान प्रदान र सहकार्य बढाउँदै जानुपर्नेमा जोड दिए ।

नेपालमा पर्यटनको सम्भावना धेरै राम्रो भएको उल्लेख गर्दै उनले रुसले लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको संख्या वृद्धि हुने बताए ।
नेपालले जलविद्युत उत्पादनबाट राम्रो आम्दानी गर्न सक्ने भन्दै राजदूत नाभिकोभले रुसका लगानीकर्ताहरु नेपालमा विद्युत उत्पादनमा लगानी गर्न इच्छुक रहेको बताए ।

नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएको भन्दै राजदूत नोभिकोभले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा पढिरहेको बताए । केही समयमै छात्रवृत्तिको संख्या बढाएर दुई सयसम्म पुर्‍याउने योजना रहेको उल्लेख गर्दै उनले त्यसले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताए ।

नेपाल-मस्को सिधा हवाइ सेवा विस्तारका लागि आफूले पहल गरिरहेको भन्दै राजदूत नोभिकोभले नेपाल सरकारले थप पहल गरे सिधा हवाइ सेवा शुरु गर्न गाह्रो विषय नभएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर