ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन (भिडिओ) – Nepal Press

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन (भिडिओ)

‘एमालेको चाहना संविधान संशोधन होइन, खारेजी हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् ।

बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको विषय उठाए पनि एमालेको उद्देश्य त्यस्तो नरहेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अहिले बनेको सरकारको मूल उद्देश्य संविधान संशोधन होइन । बहाना हो । किनभने अघिल्लो सरकारले भ्रष्टाचारकोविरुद्धका सुशासनको पक्षमा केही पहल गर्न थालेपछि सत्तामा नआउने भएपछि अफ्ठेरोमा परिने भयो भन्ने कारणले नै बनेको हो यो सरकार ।’

अहिले संविधान संशोधनको बहस नागरिक समाज बुद्धिजीवीहरूले पनि उठाइरहेको उनले बताए । उनले एमाले नेतृत्वलाई यो संविधान घाँडो लाग्न थालेको जिकिर गरेका थिए ।

 

‘संविधान बनाउने बेलामै चाहिँदैन थियौँ भन्ने साथीहरु नै पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ, सरकारको पनि नेतृत्वमा हुनुहुन्छ । सुरु देखिनै मन परेको छैन । उहाँहरूले यो संविधान आफ्नो भन्दा बाहिर भएको ठान्नुहुन्छ ’ उनले भने, ‘ उहाँहरूको चाहना संविधान संशोधन हो भन्ने पनि मलाई लाग्दैन । उहाँहरूको चासो संविधान खारेजी हो । उहाँहरूको चाहना संविधान खारेजी हो ।’

एकै पटक खारेज भन्दा नमिल्ने भएर मात्रै संशोधन प्रयोग गर्न खोजिएको प्रचण्डको भनाइ थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक गरेको संसद् विघटनलाई पनि सदन विघटन मात्रै नभएर त्यसको मूल उद्देश्य संविधान विघटन रहेको बताए ।

‘उहाँहरूलाई समावेशिता त्यति मन परेको छैन । समानुपातिक त झन् मन परेको छैन । सङ्घीयता पनि मन परेको छैन ,अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन है । बयलगाडा सिद्धान्त त हामी सबैले सम्झेकै छौ नि त ’ प्रचण्डले भने , ‘ बयलगाडाको सिद्धान्त अपनाउने साथीहरूलाई गणतन्त्र आएको सिद्धान्त मन परेको छैन नि मनभित्र त ’

संविधानमा माओवादीको अनुहार देख्ने गरेको उनले टिप्पणी गरेका थिए ।

संविधान संशोधनको विषय उठाउने अधिकार माओवादी केन्द्रलाई रहेको बताए । संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्त्वपूर्ण विषय रहेको उनको भनाइ थियो । उनले प्रदेशलाई दिने भनेको अधिकार अहिलेसम्म नपाएको बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा अझै संकट नहटेको टिप्पणी गरे ।

‘पहिलो र दोस्रो पार्टीले जुन तरिकाले सरकार बनाउनु भयो संकट त्यही छ साँच्चै देश र जनताको समस्याप्रति गम्भीर र जिम्मेवार भए त लुकाउनु पर्ने ,छल्नु पर्ने ,ढाँट्नु पर्ने हुँदैन नि ’ उनले भने ‘संकट छ , संकट त्यही छ ।’


प्रतिक्रिया

One thought on “ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- बयलगाडाको सिद्धान्त अपनाउनेलाई गणतन्त्र मन परेको छैन (भिडिओ)

  1. दिल्लीलाई देश बेच्न नपाएर केही दलालहरूलाई अहिले छटपटी भएको छ । चीनसँग विद्युत व्यापारको सम्झौता ओलिले गर्ने भएपछि ती दलालहरूमाथि दिल्लीले दबाब बढाएको छ । दबाब बढाए पछि मालिकको आदेश मान्न खोज्दा बेला बेला दलालहरू बराउँछन् । अस्ति एउटा दाङको दलालले चुच्चे नक्सा भारतको हो भन्न भ्यायो र अर्को मुख्य दलालले उसलाई छ्य्याप्पै छोपिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर