एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण – Nepal Press

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण

काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढी पहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।

एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौँ,’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितहहरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौँ । अब हामीले पुनर्स्थापना काम गर्नुपर्ने छ ।’

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुँडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, ‘एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पुर्‍याउँदै आएको छ र भविष्यमा पनि आपत विपद्मा सहयोग पुर्‍याउन तत्पर छौँ । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ ।’

एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढी पहिरो पीडितहरूका लागि ठूलो सहयोग साबित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।

एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ ।

एनसेल फाउन्डेसनले परिस्थितिको मूल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुनर्स्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर