धर्मशाला खाली गराउन महानगर प्रहरी गौशालामा, मोहीयानी हकको दाबीसहित मारवाडी आन्दोलित – Nepal Press

धर्मशाला खाली गराउन महानगर प्रहरी गौशालामा, मोहीयानी हकको दाबीसहित मारवाडी आन्दोलित

काठमाडौं । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन काठमाडौं महानगर प्रहरीको टोली अहिले गौशाला पुगेको छ । काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो ।

तर, धर्मशालामा समिति बहालमा नभई मोही भएको दाबीसहित मारवाडीहरूले ठाउँ खाली गर्न मानेका छैनन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने, यहाँका सबै भौतिक संरचना आफूहरूले बनाएको, लामो समयदेखि मानव सेवामा समर्पित भएको भन्दै समितिका पदाधिकारीहरू धर्नामा बसेका छन् । अहिले वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडीबीच वार्तासमेत भइरहेको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको ९ बुँदे सम्झौता खारेज गरेपछि ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी समितिले मुद्दा हालेको थियो ।

पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

समितिको दाबी नपुग्ने अदालतको फैसलासँगै कोष र समितिबीचको ९ बुँदे सम्झौता खारेज भएको थियो ।

गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा क्षेत्रफल र सोही स्थानको कित्ता कित्ता नम्बर ८५ को ४ रोपनी १० आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९ आना जग्गा र त्यहाँ बनेको धर्मशाला समितिले प्रयोग गर्दै आएको थियो ।

वार्षिक ५१ हजारमा भाडामा दिइएको धर्मशालामा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर, सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।

समितिले जर्सी गाई पालेर दूध बेच्दै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटा सटर मासिक ३५ हजारसम्ममा भाडामा लगाएको कोषले जनाएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

3 thoughts on “धर्मशाला खाली गराउन महानगर प्रहरी गौशालामा, मोहीयानी हकको दाबीसहित मारवाडी आन्दोलित

  1. भोलि यिनले देशैमा मोहियानी हक छ भन्छन् । पैसा पाए देश बेच्नेहरू कथित जनयुद्व गरेका छदैछन् ।

  2. धर्म शाला बेक्तिगत छ भने खाली गराएर संस्था लाई भाडा या लिजमा दिन हुन्छ। संस्था गत भय मोही हुदैन। 051साल अगाडिकै भयपनि सर्कारी जग्गा मा मोही हुदैन। निऊनखोज मारवाडि सेवा सदन। यदि मारवाडी ले संस्था गत चलाएको भय लीज करार या भाडाको कागज गरी चलाउन दिनुपर्छ वालेन जी।

  3. सेवा बापत सस्तो भाडा या फ्रिमा सुत्नेठाउ अनधिकृत नगरौ। धार्मिक मान्यता र ऐननियम पनि हेरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *