दशैंको समयमा अत्यावश्यक काम पर्न सक्छन् फोन अफ नगर्नुहोला : खानेपानीमन्त्री यादव – Nepal Press

दशैंको समयमा अत्यावश्यक काम पर्न सक्छन् फोन अफ नगर्नुहोला : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दशैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा बुधवार आयोजना गरिएको वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा उनले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिए ।

मन्त्री यादवले निर्देशन दिँदै भने, ‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।’

कार्यक्रममा मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै उनले नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारी नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरे ।

मन्त्री यादवले भने, ‘विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । यो हामी सबैको ठूलो उपलब्धिको विषय हो । जसरी पानी ल्याउन सफल भयौँ, त्यसै गरी नागरिकलाई पानी खुवाउन सफल बनौँ ।’

काठमाडौं उपत्यकामा मङ्गलवारदेखि वितरण गरिएको मेलम्चीको पानी कुन कुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ सो विषयमा निरन्तर अनुगमन गरी पानी वितरण कार्य सुचारु गर्न समेत मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का कर्मचारीलाई निर्देशन दिए ।

विजया दशमी, शुभ दीपावली एवं छटपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजया दशमी सबैका लागि राम्रो र सुःखद रहोस् भन्दै मन्त्री यादवले शुभकामना दिएका छन् ।

शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्य, मन्त्रालयका सहसचिव, विभागका महानिर्देशक, केयुकेएलका प्रमुख लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर