हेवामा डाइभर्सन गरेर १४ दिनपछि खुलाइयाे मेची राजमार्ग – Nepal Press

हेवामा डाइभर्सन गरेर १४ दिनपछि खुलाइयाे मेची राजमार्ग

विराटनगर । बाढी र पहिरोले अवरुद्ध भएका मेची राजमार्ग अन्तर्गतको हेवा खोलाबाट यातायातका साधन वारपार हुन थालेका छन् । हेवा खोलामा डाइभर्सन बनेपछि अवरुद्ध भएको १४ दिनपछि यातायातका साधन हेवा खोला वारपार हुन थालेका हुन् ।

असोज १२ गतेको बाढीले बेलिब्रिज बगाएपछि यातायातका साधन सञ्चालन रोकिएकोमा ह्युमपाइप राखेर डाइभर्सन निर्माण भएपछि बुधबार बिहानबाट सवारी र ढुवानीका साधन वारपार गर्न थालेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले बताए ।

सडक डिभिजन इलामले १० दिन लगाएर डाइभर्सन बनाएसँगै बिहानदेखि मेची राजमार्गको फिदिमबाट हेवा खोला पारीका पाँचथरस्थित फालेलुङ, हिलिहाङ र याङवरकसँगै ताप्लेजुङ जाने र त्यसतर्फबाट पाँचथर, इलाम हुँदै झापातर्फ जाने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ जान थालेका हुन् ।

पैदल यात्री र मोटरसाइकलको सहजताका लागि भने नेपाली सेनाको अगुवाईमा असोज १८ गते बाँसको फड्के निर्माण गरेर आवतजावत सुचारु गरिएको थियो ।

डाइभर्सनको काम तीन दिन अघि नै सक्ने गरी काम गरे पनि इष्टिमेटभन्दा थोरै मात्रामा हृयुम पाइप आएकोले काममा ढिलाइ भएको थियो । पुनः इटहरीबाट थप ह्युमपाइप ल्याएर डाइभर्सन निर्माण गरेको सडक डिभिजन इलामले जनाएको छ ।

डाइभर्सन बन्नासाथ सयभन्दा धेरै साधन वारपार भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । हेवामा ड्राइभर्सन बनेसँगै मेची राजमार्गमा यातायत सुचारु भएको हो ।

मेची राजमार्ग अन्तरगतको राजदुवाली–गोलाखर्क खण्ड पनि सुचारु भएको छ । क्षतिग्रस्त स्थान तार जालीमा ढुङ्गा भरेर उठाइ मर्मत गरिएको छ । त्यसभन्दा अलि माथि पहिरो जान धाँजा फाटेको ठाउँलाई तर्काएर करिब ६० मिटर नयाँ ट्र्याकसमेत खोलिएको छ । अहिलेलाई साना९ठुला सवारी साधन, मोटरसाइकल यहाँबाट गुडिरहेका छन् ।

मेची राजमार्गको राजदुवालीबाट साना-ठूला सबैखाले सवारी साधन चलिरहेको स्थानीय जगत नेम्वाङले जानकारी दिए । मर्मत गरिएको राजमार्ग अब ठूला सवारी पनि चलाउन उपयुक्त भएको र ग्राभेल हालेर थप सहज बनाइँदै गरेको इन्जिनियर विपिन ढुंगानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *