मनोरञ्जन चाहनेको लागि ‘ज्वाईं साब’ मा इन्जोय गर्ने ठाउँ प्रशस्त छ: बुद्धि तामाङ – Nepal Press

मनोरञ्जन चाहनेको लागि ‘ज्वाईं साब’ मा इन्जोय गर्ने ठाउँ प्रशस्त छ: बुद्धि तामाङ

काठमाडौं । अधिकांश चलचित्रहरुमा प्रमुख पात्रको साथीका रुपमा देखिने पात्र हुन, कलाकार बुद्धि तामाङ।

साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा, बुद्धिको सक्रियता चलचित्रहरुमा बाक्लै देखिने गर्दछ । यहीँ असोज २४ गते फूलपातीको दिनबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा पनि बुद्धि ‘भगवान तामाङ’ नामको चरित्रमा देखिँदैछन् ।

बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई चलचित्रका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । बुद्धि भन्छन्,‘म चलचित्रमा जितु नेपाल दाईलाई बुस्ट गर्ने र सपोर्ट गर्ने क्यारेक्टरमा छु । उहाँलाई उकास्दै(उकास्दै माथि लैजाने चरित्र छ मेरो।ु

बुद्धिको बुझाईमा चलचित्र भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिने माध्यम हो । ‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मज्जा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भन्नेको लागि यस चलचित्रमा इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक मनछुने र हँसाउने कथा छ’, बुद्धि सुनाउछन् ।

चलचित्रको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् । ‘यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न के-के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’

बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला चलचित्रभन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ’, बुद्धि खुल्छन। निर्देशक वसन्त निरौलासँग बुद्धिको चलचित्र ‘होलिडे’ पछिको यो दोस्रो सहकार्य हो । जितुसँग भने उनले पहिला ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘कार्साङ’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरिसकेका छन् ।

वसन्त निरौला निर्देशित चलचित्र ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर