प्रधानमन्त्री राहत कोषमा एनआरएनएले गर्‍यो सहयोग – Nepal Press

प्रधानमन्त्री राहत कोषमा एनआरएनएले गर्‍यो सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ ।

बालुवाटारमा संघका अध्यक्ष डा. बद्री केसीसहितको टोलीले प्रधानमन्त्री ओलीलाई उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको बताए । ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको केसीले गुनासो गरे ।

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिए । एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे । संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन उनले सुझावसमेत दिए ।

यसैगरी आजै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले ६० लाख, विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट ६ लाख ४६ हजार ५ सय, नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट १० लाख कोषमा हस्तान्तरण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *