फेरिएको दशैँ र संस्कृतिविद्को विश्लेषण – Nepal Press

फेरिएको दशैँ र संस्कृतिविद्को विश्लेषण

रुपन्देही । नेपाली संस्कृतिमा सबै पर्वहरूको उत्तिकै महत्त्व छ । तर, धेरै समुदाय र जनसंख्यामा मनाइने बडादशैंलाई मुख्यपर्वका रूपमा मनाउने गरिन्छ । संस्कृतविद्हरूको विश्लेषणमा प्रकृति र अध्यात्मलाई जोडेर भावनात्मक सम्बन्धलाई बलियो बनाउने यो पर्व धेरै समुदाय र वर्गले अपनत्व लिएकाले मुख्य पर्व मानिएको हो ।

बडादशैंलाई यहाँको भूगोल र समुदायअनुसार मनाइने भए पनि यसको धार्मिक र सांस्कृतिक महत्वलाई एकै प्रकृतिले विश्लेषण गरिएको छ । चाडपर्वहरू त हिजो पनि तिनै थिए र आज पनि उनै छन् तर मनाउने तरिकाहरूमा फरक पर्दै गएको संस्कृतविद्हरूको विश्लेषण छ ।

संस्कृतिविद् घनश्याम कोइरालाका अनुसार यो पर्व प्रकृति र अध्यात्मलाई जोड्ने गरी मनाउन थालिएको हो ।

‘हाम्रो संस्कृति प्रकृतिसम्मत छ । प्रत्येक चाडपर्व ऋतु अनुसार छन् । कतिपय पर्वहरू प्रकृतिलाई नै मानव ठानेर बनाइए जस्ता पनि छन्, जसलाई प्रकृतिको मानवीकरण पनि भन्न सकिन्छ’ उनले भने–‘धर्म, अध्यात्म र संस्कृतिलाई एउटै रूपमा बुझ्ने गर्दा गोलमाल भएको छ, यी तीनवटै विषयलाई कमजोर बनाएको छ ।’

उनका अनुसार कतिपयले धर्मलाई साध्यजस्तो ठानिरहेका छन्, जब कि यो साधन हो । हुन त धर्म बहुआयामिक विषय हो । जस्तै: आगो, पानी, वायु, आकाशको आआफ्ना प्राकृतिक नियम वा स्वभाव । नैतिक बन्धन । निष्ठाप्रतिको प्रतिबद्धता । शरीरका अङ्गप्रत्यङ्गका कार्यहरू पनि शरीरको धर्म नै भयो । मानव भएको हुनाले मानवीय धर्म – दया, करुणा, दायित्व आदि ।

‘संस्कृति त विकासको समरूप हो, बिस्तारै परिष्कृत–परिमार्जित हुँदै अघि बढ्दछ । यो समाजको सत्कर्मको परिणति हो, जसलाई समाजले स्वीकार गरेको हुन्छ’ कोइराला भन्छन्–‘संस्कृतिका दुई भेद छन्, मूर्त र अमूर्त । हामीले मूर्तमा जे देखिरहेका, गरिरहेका छौँ, त्यसमा नदेखिने पक्ष हुन्छ । जस्तै : शिवालय देखिने पक्ष हो, आजापूजा देखिने पक्ष हो । जे कारणले हामी शिवालय बनाउँछौँ, पूजा गर्छौँ, त्यसको अन्तर्वस्तु शिवमा अन्तर्निहित गुण–विशेषताप्रतिको उच्च सम्मान र तिनीहरूप्रतिको स्वीकारोक्ति हो ।’

उनको विश्लेषण अनुसार अध्यात्म त चिन्तन हो । यो कसरी भयो, यो किन भयो, अब के होला, के हुनुपर्ला, कसले के गर्नुपर्ला आदि चिन्तन । यो विचार निर्माणको कच्चा पदार्थ जस्तै हो । तर यसरी छुट्टाछुट्टै बुझाएर त्यस कारणले त्यो गर्ने, यस कारणले यो गर्ने भनेर बुझ्न बुझाउन सक्दा संस्कृति वास्तवमै संस्कृति बन्दछ । मनाउँदा कम्तीमा सम्बन्धित विषयमा बताउन बुझाउन सकियो भने पर्वहरू सांस्कृतिक बन्न सक्छन् । अहिले त संस्कृतिप्रतिको बुझाइ छ्यासमिसे छ । त्यसैले यसले असान्दर्भिक विषय पनि बोकेर हिँडेको छ । कोइरालाले यी विषयमा राजनीतिक दलले, मठमन्दिरका सञ्चालक, पुजेरीहरूले, कर्मकाण्ड गराउने पुरेतहरूले जान्ने र गर्ने हो भने सुध्रिन समय नलाग्ने बेरै लाग्दैन ।

संस्कृतिविद् राजेन्द्रकुमार आचार्यका अनुसार चाडपर्वहरू त हिजो पनि तिनै थिए र आज पनि उनै छन् तर मनाउने तरिकाहरूमा फरक पर्दै गएको छ । बडा दशैंको कुरा गर्दा पहिले शाकाहारीहरुले दही र अक्षता अथवा सेता अक्षताको टीका लगाउने गर्थे र मांसाहारी अथवा बलि चढाउनेले बलि दिएको पाठाको रगत मुछेको टीका लगाउने गर्थे । कोट या शक्ति पीठहरूमा पाठो, भेडो या अन्य पशुको बलि दिइसकेपछि त्यसैको रगतमा चामल मुछेर देवी र उनका गणलाई चढाइसकेपछि पुजारी वर्गले आफूले लगाउने र घर घरमा तथा उपासुजनलाई पनि पुर्‍याउने गर्थे ।

कतिपय जनजातिहरूमा सिक्किम, दार्जिलिङतिरका राई, लिम्बु, लेप्चा, भुटिया आदि जातिमा र नेपालकै पनि मगर, गुरुङ, तामाङ, राई, लिम्बु, लेप्चा आदि जातिहरूमा उनीहरू मुख्य रूपमा मांसाहारी भएर पनि प्रायः दही अछेताकै टीका लगाउँछन् ।

आचार्य भन्छन्–‘यसरी जनजातिहरूमा भन्दा बाहुन, क्षेत्री, विश्वकर्मा, नेपाली, परियार आदिमा रातो टीकाको चलन सर्वव्यापक बनेर स्थापित भएको छ । हिजो सराय खेल्दा फलामकै सक्कली हतियारहरू प्रयोग गरिन्थ्यो ।, अहिले काठका नक्कली हतियार बनाएर खेल्न थालिएको छ ।, हिजोको अवस्थामा पहाडिया कोटहरूमा मात्रै सराएँ खेलिन्थ्यो, अहिले तराईका सहरहरू बुटवल, लमही, घोराही, काठमाडौँ, जितपुर, गोरुसिंगे आदिमा पनि सराएँ खेल विस्तार भएको छ । सरायँमा हिजो पुरुषहरू मात्र भाग लिन्थे । अहिले नारीहरू पनि सक्रिय रूपमा सहभागी हुन्छन् ।’

पहिले गरिँदै आएका दशैंका विशेषता कम हुँदै गएको उनको भनाइ छ ।

‘हिजो घर लिप्ने कमेरो र रातमाटो हुन्थ्यो, अहिले महँगा रङहरू प्रयोग गरिन्छन् । यसरी दशैं अलि खर्चिलो र भड्किलो पनि भएको छ । देवीका मन्दिर, शक्ति पीठ वा कोटहरूमा सराएँ खेल्नेलाई दही केरा बाँडिन्थ्यो, अहिले फलफूल, जुस, बोतलको पानी आदि बाँडिन्छ । गुल्मी अर्घाखाँचीतिर मूलतः जौकै जमरा उमारेर लगाउने गरिन्थ्यो अहिले अन्यत्रको जस्तै मकै र गहुँका समेत जमरा उमारेर लगाउन थालिएको छ । हिजो दशैंलाई भनेर घर नभए पनि अन्यत्रबाट काँचा केरा किनेर ल्याएर पकाइन्थ्यो । रोटी पकाइन्थ्यो र टिका थाप्न आउनेलाई रोटी र केरा बाँडिन्थ्यो’ उनले भने ‘अहिले त्यस्तो रोटी पकाउने चलन घट्दै गएर मिठाई र फलफूल मात्र बाँड्ने प्रचलन बढेको छ । हिजो टपरी वा बोहोतामा खानेकुरा दिइन्थ्यो । अहिले कागजको टपरी वा प्लेटहरूमा दिने गरिन्छ । कोट, मन्दिर वा शक्ति पीठहरू हिजो पुरानो ढाँचाका थिए । अहिले कतिपयलाई मर्मत गरेर नयाँ ढाँचाका बनाइएको छ । त्यस्ता थुम वा कोट नजिक इनारहरू पनि हुन्थे । तर अहिले ती खतरनाक भए भनेर पुरिएको छ र पानीका धारा पुर्‍याइएको छ ।’

आचार्यका अनुसार दशैंको टीकापछि पनि त्यस्ता शक्तिपीठमा बानादार, सराएँ खेल्नेहरू वा दर्शकहरूको बीचमा लडाइँ पनि हुन्थ्यो र मानिस घाइतेसमेत हुन्थे । अहिले प्रहरी परिचालन गरेर त्यसो हुन दिइँदैन । हिजो कतिपय शक्ति पीठहरूमा राति सराएँ धूमधामसँग खेलिन्थ्यो । द्वन्द्वकालपछि त्यो अवस्था बन्द भएको छ र दिनमा मात्रै खेलाइने गरिएको छ ।

नेपाल मगर संघले बनाएको प्राज्ञिक परिषद्का सदस्य सचिव डा. विष्णु सिंजालीका अनुसार मगर समुदायले परम्परागत रूपमा सांस्कृतिक र प्राकृतिक संरक्षणको खुसीयालीको पर्वका रूपमा दशैंलाई मनाउने गरेको इतिहास छ । खास गरी वर्षायामको सबै बाली स्याहार गरी धानसमेत स्याहार गरी दही र चामलको सेतो टीका आफ्नो समुदायले खुसीयालीका रूपमा मनाउन थालेको उनको विश्लेषण छ ।

‘आफ्नो समुदायमा कहिलेबाट यसरी मनाउन थालियो भन्ने त केही खुलेको छैन तर हाम्रो पुर्खाहरूबाटै यसको थालनी भएको हुनुपर्छ भन्ने हाम्रो ठम्याई हो, यसलाई संस्थागत रूपमा हामीले मनाउने गरेका छौँ, मगर समुदायमा हरेक शुभ कार्यमा सेतो टीका नै प्रयोग गरिन्छ, स्वास्थ्यको हिसाबले पनि हामीलाई पुर्खाहरूले उचित निर्णय गरेको भन्ने लाग्छ’ उनले भने ।

थारु संस्कृतिबारे अध्ययन गरिरहेका कृष्ण सर्वाहारीका अनुसार थारु समुदायमा नौरथा पूजा नभए पनि सप्तमीदेखि सरसफाइ सुरु हुने र नवमीमा कुखुराको बलि दिने गरिएको छ । तर देशको पूर्व र पश्चिममा बसोबास गर्ने तारुहरूबीच पनि दशैँ मनाउने चलन फरक रहेको उनी बताउँछन् । थारु समुदायमा दशैँ मनाउन बाबरी र दौना फूलको पूजामा प्रयोग हुने गरेको छ ।

उनका अनुसार थारु समुदायमा पारिवारिक टीका बाहेक गाउँका संरक्षक मानिने बडाघर र गुरुबा अनि गाउँका अगुवाकोमा पनि टीका थाप्ने चलन छ । गुरुबालाई दक्षिणा पनि दिने चलन छ । दशमीकै दिन गुरुबाहरू भेला भएर आगोमा नाचिने अखडिया नाच गरेर नयाँ गुरुबा बन्ने चलन पनि छ ।

थारुहरूले सेतो टीका लगाउने चलन रहे पनि कतिपयले अहिले रातो टीका पनि लगाउन सुरु गरेका छन् । थारुले आफूलाई शान्तिको प्रतीक मान्ने भएकाले पनि सेतो टीका लगाउने र शुभ साइतमा सेतो टीका कै प्रयोग हुने उनले बताए ।

थारु समुदायमा दशैँ अघिबाटै सुरु हुने सखिया नाच दशैँसँगै समापन गर्ने परम्परा छ । थारुबाहेक मगर, तामाङ र अन्य केही जनजातिहरूले पनि दशैँमा सेतो टीका लगाउने गरेका छन् । विश्लेषक अर्जुन ज्ञवालीका अनुसार उहिलेका दशैँ र अहिलेका दशैंमा ठूलो अन्तर आएको छ ।

आर्थिक र सांस्कृतिक दुवै अर्थमा हिजोको दशैँ आत्मनिर्भर थियो । आज परनिर्भर भएको छ । ‘दशैंमा रोटी पकाउन तेल युक्रेनबाट ल्याउनुपर्छ । युक्रेन युद्धले गर्दा त्यसको पनि अभाव थेग्न परिरहेको छ । खेतबारी बाझै भएपछि गहुँ चामल सबै बाहिरैबाट हो । हाम्रा गीत संगीत, वाद्यवादन, पहिरन सब निरीह भइसके’ उनले भने‘ भेटिगन सिटीको प्रभावले हाम्रा गोरखनाथ, पशुपतिनाथ, मुक्तिनाथ निरीह भइसकेका छन् । जन्मोत्सवमा केक रेट्ने र बत्ती फूक्ने संस्कृतिको आक्रमणले हामी अब उज्यालोतिर हैन अंध्यारोतिर लागेका छौँ ।’

ज्ञवालीले यसैको प्रभावमा दुर्गा दाहिने होउन्, मनले चिताएको पुगोस् भन्ने हाम्रा मान्यजनको आशीर्वादले आफ्नो अर्थ बोक्न छोडे जस्तो लागेको चिन्ता गरेका छन् । ‘हिजो साँच्चिकै अर्थमा शुभ लाभको आशीर्वाद दिने दशैंका आशीर्वादहरू आज फुक्ला भएका छन् । अब त दशैं डिजिटल मनोरञ्जनको दशैं बनेको छ । त्यस अर्थमा भव्य छ । तर, दशैंको तात्त्विक अर्थमा दशैंको शुभकामना आज फुक्लो शुभकामना हो’ उनले भने ।

अर्का विश्लेषक दलबहादुर गुरुङका अनुसार पहिले र अहिलेको दशैं धेरै फेरिएको छ ।

‘गाउँमा यति बेला दसैँ टुप्लुकिएको छ । सहर र विदेशबाट गाउँघर आइपुग्नेहरूका सङ्ख्या अगणितीय छ । धारा पुगेको छ, बाटो पुगेको छ । बिजुली, नेटको सुविधा यति बेला गाउँमै छ’ उनले भने ‘स्वास्थ्य चौकी र होटेल, रिसोर्टहरु पनि गाउँमै खुलेका छन् । गाउँमा खुसी हुन दसैँ कुर्न पर्ने दिन गएजस्तै लाग्छ । तैपनि उति बेलाको अभाव दसैँ सम्झन लायक छ । दसैँ नआई नयाँ लुगाले आङ भेट्थेन । मुखमा मासुले राज्य जमाउन पाउँथेन । भात खान दसैँ कुर्ने कुरा यति बेला ठट्यौली बन्छ सायद ।’

गुरुङका अनुसार पुराना दसैँका यादहरू सुनाई रहँदा निधारभरि टीका थापेको, बाबा-आमालाई ढोग गरेको, आफन्तकहाँ टीका थाप्न लस्कर लागेर हिँडेको र हल्का बिजुली पानी खाएर घर आउँदा बाटो बिराएको ताजै छ मनमा । दैला मारा खेलेको, बाजि जितेको अनि नाचेको कुराले यति बेला मनमा काउकुती लगाउँछन् । तर यति बेलाको दसैँ ! बयान कसरी गर्ने सबैलाई थाहा भएकै कुरा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *