निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन नेता-कार्यकर्तालाई एमालेको आव्हान (भिडिओ) – Nepal Press

निराशा र विद्वेष फैलाउने प्रवृत्तिविरुद्ध एकजुट हुन नेता-कार्यकर्तालाई एमालेको आव्हान (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले समाजमा वैरभाव र निराशा फैल्याउने प्रवृत्ति बढिरहेको निष्कर्षसहित त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले देश बन्छ भन्ने आत्मविश्वासका साथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आव्हान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकको निर्णय सुनाउँदै ज्ञवालीले पत्रकारमाझ भने, ‘समाजमा निराशा, हतास मनस्थिति, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति छिटफुट देखापरेका छन् । त्यो गलत छन् । देश बनिरहेको छ भन्ने सकारात्मक सन्देश, देश बन्छ भन्ने आत्मविश्वास साथै लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आव्हान गरेका छौं ।’

प्रकोप र त्यसबाट उत्पन्न परिस्थितिको सामना सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको उनको भनाइ छ । विपत्तिको भोल्यूम र सरकारको सामर्थ्यको बीचमा जहिल्ये पनि ग्याप हुने भन्दै उपमहासचिव ज्ञवालीले भने, ‘यतिबेलै अमेरिकाको फ्लोरिडा हरिक्यानबाट आक्रान्त छ । अमेरिका साधन स्रोतसम्पन्न देश हो त्यहाँ पनि कमीकमजोरी रहेको सुनिन्छ । हामीले वस्तुनिष्ठ ढंगले हेर्ने हो सरकारले इमान्दारपूर्वक काम गर्‍यो गरेन, सरकारका निकाय परिचालित भए/भएनन् भन्ने मुख्य कुरा हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, जनप्रतिनिधि, कर्मचारी, दलका कार्यकर्ता आफ्नो सामर्थ्यले खटेकै देखिनुहुन्छ ।’

सचिवालय बैठकले बाढीपहिरोबाट प्रभावितको पुन:स्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसंगठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान पनि गरेको छ ।

मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आव्हान गरिएको छ । रिक्त ठाउँमा एमालेको विजय सुनिश्चित गराउन तयारीका लागि पनि सचिवालय बैठकले आव्हान गरेका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *