दुई सातापछि खुल्यो बीपी राजमार्ग – Nepal Press

दुई सातापछि खुल्यो बीपी राजमार्ग

काठमाडौं । बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्ग २ सातापछि खुलेको छ ।

पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्गमा असोज ११-१२ को प्रकोपले धेरै क्षति भएको थियो । भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग र स्थानीय तहहरूको निरन्तरको प्रयासबाट आज बिहानदेखि बीपी राजमार्गमा गाडी सुचारू भएको हो ।

रोशी क्षेत्रको मंगलाटार बोक्सीकुनामा डाइभर्सन बनाइएको छ । बाढीपहिरोले भत्केबिग्रिएको अन्य ठाउँमा पनि कल्भर्ट बनाएर, ठाउँठाउँमा खोला डाइभर्सन गरेर तत्काललाई सवारीसाधन निर्वाध चल्ने गरी मर्मत गरिएको सचिव केशव शर्माले बताए ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने यो राजमार्गबाट दैनिक हजारौं सवारी गुड्छन् । सडक खुलेसँगै दशैँमा आउजाउ गर्ने यात्रुलाई सहज भएको छ । त्यस्तै अन्य वैकल्पिक सडकको सवारी चाप र जोखिमसमेत कम भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।

रोशी र सुनकोशीको बाढीले काभ्रेको चौकीडाँडादेखि तल नेपालथोकसम्म विभिन्न ठाउँमा सडक क्षतविक्षत् भएको थियो ।

नेपालथोक-खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो ।

रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

अहिले यी सबै ठाउँको अवरोध हटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *