पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन
नेपाल प्रेस
२०८१ असोज २५ गते २०:५१
काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडीतथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा आजदेखि सञ्चालन गर्न सफल भएको हो । कार्यालयले आज बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए । बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ । धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ । रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । यसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय, कटुञ्जे घुमाउनेमा पाँच सय, लास्कोट बेँसीमा दुई सय, चार सय बेँसीमा पाँच सय, गिम्दीबेँसीमा तीन सय, खार्पाचोकबेँसीमा तीन सय र नार्केमा आठ सय मिटर सडक क्षतिग्रस्त भएको थियो ।
प्रतिक्रिया
2 thoughts on “पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन”
Leave a Reply
सम्बन्धित खवर
त्यत्रा क्षति भएका सडकहरू पनि यति छोटो समयमा गाडी गुडन लायक बनेका ? ओलि सरकारको महान कार्य । यसरी नै देश बन्दै जाओस् र बन्छ भन्ने कुरामा हामी ढुक्क छौं । अब चीनसँग विद्युत व्यापार सम्झौता र प्रसारण लाईनहरू छिटो बनाउने काम होस् । विजुली बेच्न नसके पनि यो काम रणनीतिक हिसावले महत्वपूर्ण हुन्छ । तर ख्याल गरेर गरौं किनकी राखी बाँधिदिने पनि त्यतैतिर छन् ।
अनि श्याम घिमिरेले धमलालाई अन्तर्वार्ता दिंदा सरकार, कर्मचारी र सेनालाई गाली गरेका थिए । परिणाम हेर घिमिरेजि । ओलिको सरकार हो यो । तिम्रो देउवाको होईन ।